सवा दुई अर्ब रेमिट्यान्स नल्याएपछि प्रभु मनी ट्रान्सफरलाई कारबाही

आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी
कारबाहीबाट जोगिन भट्टचन बैंकको अध्यक्षबाट बाहिरिएको राष्ट्र बैंकको निष्कर्ष

काठमाडौँ — विदेशमा संकलित रेमिट्यान्स नेपाल नल्याएर उतै राखेको भन्दै राष्ट्र बैंकले प्रभु मनी ट्रान्सफरलाई कारबाही गरेको छ । आफैं सहायक कम्पनीलाई कर्जा दिएको विषयमा प्रभु बैंकमाथि अनुसन्धान जारी राखेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंक सञ्चालक समिति बैठकले बुधबार प्रभु मनी ट्रान्सफरलाई कारबाही गर्ने निर्णय गरेको हो ।

सवा दुई अर्ब रेमिट्यान्स नल्याएपछि प्रभु मनी ट्रान्सफरलाई कारबाही

आर्थिक वर्ष २०७४/७५ देखि रेमिट्यान्सबापत संकलित करिब सवा २ अर्ब रुपैयाँ विदेशमै राखेको प्रमाणित भएको र त्यसका आधारमा तीन कारबाही गरिएको राष्ट्र बैंक स्रोतले बताएको छ । ‘प्रभु मनी ट्रान्सफरले यता ल्याउनुपर्ने रेमिट्यान्स विदेशमै राखेको खुलेको छ,’ स्रोतले भन्यो, ‘छानबिन, स्पष्टीकरण र त्यसका आधारमा कारबाही गर्ने निर्णय भएको हो ।’

सचेत गराउने, जरिवाना तिराउने र उता राखिएको रकमको ब्याजसमेत लगाउने गरी कारबाहीको निर्णय भएको स्रोतको भनाइ छ । ‘मनी चेन्जरलाई सचेत गराउने, मनी चेन्जर इजाजत तथा निरीक्षण विनियमावलीअन्तर्गत ५० हजार रुपैयाँ जरिवाना र विदेशमा राखेको रकमको १० प्रतिशतका दरले ब्याज तिराउने गरी तीन वटा कारबाही गर्ने निर्णय भएको हो,’ स्रोतले भन्यो, ‘यो एक प्रकारणको हुन्डी हो । रेमिट्यान्स भन्दै उता पैसा लिने, यता भुक्तानी यहीँको पैसा मात्रै दिने, विदेशी मुद्रा नभित्र्याउने काम भयो । करिब सवा २ अर्ब रुपैयाँ बराबर रकम नेपाल नल्याएर विदेशमै राखेको देखिएको छ ।’

प्रभु ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी र बैंकले गरेका गल्तीहरूबारे राष्ट्र बैंकले चासो लिएपछि प्रभु मनी ट्रान्सफरले उक्त रकम फिर्ता ल्याइसकेको छ । विदेशमा राखेको रकम फिर्ता गरिसकेको, अध्यक्ष देवीप्रकाश भट्टचनले बैंकको अध्यक्ष पद छाडेकोलगायत कारण ठूलो कारबाही नगरिएको स्रोतले बताएको छ । २०७५ सालअघिसम्म विदेशमा रेमिट्यान्स कम्पनीले पैसा प्राप्त नगरीकनै लाभग्राहीलाई रेमिट्यान्सको रकम यता भुक्तानी गर्न पाउने व्यवस्था थियो । हाल त्यसो गर्न पाइँदैन । विदेशमा रेमिट्यान्स पठाउने मानिसबाट रेमिट्यान्सबापतको रकम प्राप्त गरेपछि मात्र यहाँका लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था विदेशी विनिमय विभागले गरेको छ । तर यो निर्देशिका पालना नगरेको राष्ट्र बैंकको प्रारम्भिक छानबिनबाट खुलेको र लगत्तै यो रकम विदेशी मुद्राका रूपमा नेपाल भित्र्याई सुधार पनि गरिसकेको स्रोतको दाबी छ ।

राष्ट्र बैंकले प्रभु बैंकमाथिको अनुसन्धान भने जारी रहेको जनाएको छ । आफैं सहायक कम्पनी प्रभु मनी ट्रान्सफरलाई कर्जा दिएका विषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको हो । सोही क्रममा गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले ‘तपार्इंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रभु बैंकका पूर्वअध्यक्ष भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि स्पष्टीकरणको पत्र पठाइसकेको स्रोतले बताएको छ ।सञ्चालक रहेको बैंकबाट आफू संलग्न अर्को कम्पनीलाई कर्जा दिन नपाउने व्यवस्था छ । सो व्यवस्थाविपरीत प्रभु मनी ट्रान्सफरले प्रभु बैंकबाट ऋण लिएको भटिएको स्रोतले बताएको छ । राष्ट्र बैंकले छानबिन गर्न थालेपछि भट्टचन प्रभु बैंकको अध्यक्षबाट बाहिरिए । गत पुस अन्तिम साता (२७ गते) सम्पन्न बैंकको वार्षिक साधारणसभाबाट उनी अध्यक्षबाट बाहिरिएका हुन् । साधारणसभामा सञ्चालक समितिमा उनले उम्मेदवारी नै दिएका थिएनन् ।

‘प्रभु ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी र बैंकले गरेका गल्तीहरूबारे हामीले चासो लिएपछि भट्टचनले बैंकको अध्यक्ष छाडे,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘पदमा भइएन भने कारबाही पनि कम हुन्छ भन्ने लागेर उनले बैंकको अध्यक्ष छाडेका हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । पदमा हुँदा र नहुँदा हुने कारबाही फरकफरक छ ।’

सन् २००५ मा स्थापना भएको प्रभु फाइनान्स विभिन्न बैंक तथा वित्तीय संस्था गाभेर हालको प्रभु बैंक बनेको हो । फाइनान्स कम्पनी स्थापना भएको दुई वर्षपछि भट्टचन अध्यक्ष भएका थिए । उनकै नेतृत्वमा प्रभु बैंकमा दुई वटा वाणिज्य बैंक (किस्ट बैंक र ग्रान्ड बैंक) र अन्य थुप्रै वित्तीय संस्था गाभिएका थिए । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु पे, प्रभु हेलिकप्टर, प्रभु मनी ट्रान्सफर, प्रभु टेलिभिजनलगायत कम्पनी सञ्चालनमा छन् ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट नियमित रूपमा निरीक्षण भएको थियो । त्यसमा सानातिना केही समस्या देखिएको र ती सबै समाधान भइसकेको भट्टचनले बताए । ‘त्यही कारण समयमै साधारणसभा गरेका हौं,’ उनले भने, ‘समस्या भएको भए त राष्ट्र बैंकले साधारणसभा नै गर्न दिँदैनथ्यो ।’ यो सामान्य कैफियतमा स्पष्टीकरण सोध्ने, सचेत गराउने राष्ट्र बैंकको नियमित प्रक्रिया भएको उनको भनाइ छ । ‘अरू बैंकमा पनि यस्तो हुन्छ,’ उनले भने । यद्यपि स्पष्टीकरणको पत्र नआएको उनले बताए । बैंकको अध्यक्ष पनि छाड्नुभएछ नि भन्ने जिज्ञासामा उनले भने, ‘म २००२/०३ सालदेखि नै बैंकिङमा लागेको हुँ । अब धेरै पनि भयो । राष्ट्र बैंकबाट पनि त्यस्तै व्यवस्था पनि आयो । अरू साथीहरूको इच्छा पनि आयो । अहिले छाडेपछि फेरि आउन पाइहालिन्छ । बैंक पनि राम्रो छ । ठूलो जोखिम मोलेर समस्यामा रहेका धेरै संस्थासँगको मर्जर मेरै पालामा गरिएको हो ।’

राष्ट्र बैंकले भने जस्तो विदेशमा पैसा नराखेको रेमिट्यान्स कम्पनीका अर्का एक अधिकारीको दाबी छ । ‘विदेशबाट पैसा नल्याएको होइन, विदेशबाट पैसा ल्याउने एउटा चक्र हुन्छ, जसअनुसार कहिलेकाहीँ ४/५ दिन पनि पैसा थुप्रिन्छ,’ उनले भने, ‘यो व्यावहारिक समस्या हो । यो विषयको नीतिगत अप्ठ्यारो परिवर्तन गरिदिन राष्ट्र बैंक पनि सहमत छ । सोहीअनुसारको नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको छ ।’

प्रकाशित : माघ २९, २०७७ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?