१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२१ दिनपछि खुलाइयो तातोपानी नाका

अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — भोटेकोसी गाउँपालिका–२ स्थित उत्तरी नाका तातोपानी २१ दिनपछि पुन: सञ्चालनमा ल्याइएको छ । भोटेकोसी नदीले क्षतिग्रस्त मितेरी पुल मर्मतसम्भार गर्न बन्द गरिएको नाकाबाट मंगलबार एकतर्फी रूपमा सामान भित्र्याइएको हो । 

२१ दिनपछि खुलाइयो तातोपानी नाका

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले मंगलबार तीन चिनियाँ कन्टेनर फलफूलसहित अन्य रेडिमेड सामग्री भित्र्याउँदै नाका खुलाइएको जानकारी दिए ।

‘मितेरी पुलको मर्मतसम्भार सकेपछि चिनियाँ पक्षको ‘अफिसियल टाइम’अनुरूप २१ दिनपछि नाका खुलेको छ, टेलर कन्टेनरबाट सामग्री धमाधम भित्रिन थालेका छन्,’ उनले भने ।

बर्खे बाढी र तिब्बतको न्यालमक्षेत्रका तालको पानी मिसिएर आएको भोटेकोसीले मितेरी पुलको जग र अन्य संरचनामा केही क्षति पुर्‍याएको थियो । चीनको खासास्थित ‘तिब्बती डिपार्टमेन्ट अफ कर्मस फरेन ट्रेड’ले अनुसार बाढीले क्षतिग्रस्त मितेरी पुल २० दिनमा मजबुत बनाइएको जनाएको छ । त्यसैअनुसार जाङमु पोर्ट म्यानेजमेन्ट कमिटीले नेपाल र चीनका व्यापारिक संघसंस्था र कम्पनीलाई सूचित गराइसकेको खत्रीले बताए ।

तिब्बती समुदायको ल्होसार पर्व आउने भएकाले नाका २० दिनभन्दा बढी बन्द हुन सक्ने अनुमान गरिए पनि चीनले समयमै खुलाइदिएको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । ‘नाका आंशिक रूपमा चलेको छ, पूर्ण रूपमा नखुलेकै कारण स्थानीय व्यवसायी, कन्टेनर मजदुर मारमा छन्,’ उनले भने ।

भूकम्प र भोटेकोसी बाढीले ध्वस्त बनाएको मितेरी पुललाई चिनियाँ कम्पनी ताइन सुन रोड एन्ड ब्रिज कम्पनीले वर्षदिन लगाएर ठड्याएको थियो । मितेरी पुलबाहेक बर्खाले क्षतविक्षत कोदारी राजमार्ग (२६ किलोमिटर) मा ४० फिटका चिनियाँ कन्टेनरमा मापदण्डभन्दा बढी तौल राखेरसामग्री आयात गरिएको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।


प्रकाशित : माघ २७, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?