कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेटवर्किङको प्रलोभनमा भारततिर

लहडमा ठूलो रकम खर्चेर असुरक्षित रुपमा भारत पस्ने सीमामा भेटिँदै
शंकर आचार्य

पर्सा — सिन्धुपाल्चोकको पाँचपोखरी थङ्पाल गाउँपालिका–३ की २६ वर्षीया युवतीलाई शुक्रबार वीरगन्जस्थित नेपाल–भारत सीमा पार गर्नुअघि माइती नेपालका सीमा पहरेदारले केहीबेर सोधपुछ गरे । भारतको पटनामा नेटवर्क कम्पनीमा काम गर्न जान लागेको बताएकी उनका साथमा दुई पुरुष पनि थिए । एक जना मामा र अर्का काकाको छोरा रहेको उनले जानकारी दिइन् ।

नेटवर्किङको प्रलोभनमा भारततिर

उनीहरू भारतको विनर कम्पनीमा रोजगारीका लागि जान लागेका रहेछन् । तीमध्ये एक पुरुषले पटनामा नेटवर्किङ कम्पनीमा सेल्सम्यानको जागिरका लागि १ लाख ८५ हजार रुपैयाँ बैंकमा दाखिला गर्न जान लागेको बताए । त्यहाँ तालिम लिएपछि मासिक तलब ३५ हजार रुपैयाँ पाउने आश्वासन पाएको उनको भनाइ छ । ‘भारतमा राम्रो जागिर पाउने आशामा गाउँमा सयकडा ३ का दरले ब्याजमा ऋण काढी बाटो खर्च लिएर आएँ,’ युवतीले भनिन्, ‘पारिवारिक अवस्था कमजोर छ । श्रीमान् दीर्घरोगका बिरामी छन् । राम्रै आम्दानी हुने सुनेर भारत हिँडेकी हुँ ।’

अविश्वसनीय व्यक्तिको भर परेर भारत जाँदा जोखिममा पर्ने देखेर माइती नेपालले तीनै जनालाई प्रहरीमार्फत घर फर्काउने प्रक्रिया अघि बढाएको छ । माइती नेपाल आवधिक गृहकी प्रमुख संगीता पुरी भारतीय नेटवर्किङ कम्पनीले आकर्षक कमाइको प्रलोभन देखाई तीन वर्षयता नेपाली युवालाई भारत बोलाएर मोटो रकम ठग्ने गरेको बताउँछिन् । ‘यो समस्या बढेको बढ्यै छ, नेटवर्किङ व्यवसाय के हो भन्ने कुराको सामान्य जानकारी नभएका पनि लहडमा ठूलो रकम खर्चेर असुरक्षित रूपमा भारत गइरहेका छन्,’ उनले भनिन्, ‘यो समस्या ठूलै रूपमा देखापरिरहेको छ ।’

माइती नेपाल वीरगन्ज आवधिक गृहले मात्रै सन् २०१९ मा वीरगन्ज नाका हुँदै नेटवर्किङ व्यवसायमा संलग्न हुन भारत जाँदै गरेका २६ जनाको उद्धार गरेको थियो । २०७६ माघयता १४ युवायुवतीको उद्धार गरेको छ । तीमध्ये ६ महिला र अन्य पुरुष छन् । उनीहरू सिन्धुपाल्चोक, नुवाकोट, खोटाङ, उदयपुर, मोरङ र सुनसरी जिल्लाका हुन् ।

पुरीका अनुसार टाठाबाठा र यो व्यवसायमा संलग्न भइसकेकाले सोझासाझा युवायुवतीलाई ‘पैसाले पैसा तान्छ’ भन्दै नेटवर्किङमा लाग्न उत्प्रेरित गर्छन् । नेपालमा अवैध मानिएको व्यवसायको मूल उद्देश्य र कार्यशैली नबुझेका युवा यो जालोमा फस्दै छन् । उनीहरूबाट ५० देखि ६० हजार भारुसम्म लिने गरेको पाइएको छ । नेटवर्किङ व्यवसायमा जोडिएपछि लगानीको १० गुणा बढीसम्म आम्दानी हुने प्रलोभन दिने गरेको पाइएको पुरी बताउँछिन् ।

पूर्वी नेपालका विराटनगर, झापा, धनकुटा, संखुवासभा, धरान, इटहरी क्षेत्रका महिला बनारसको आइकोन र गोरखपुरको बीडी नेटवर्किङ कम्पनीसँग जोडिन वीरगन्ज नाकाबाट भारत जाने गरेका छन् । यसबाहेक अरेन्ज, नेटवर्क, विनरलगायत कम्पनीसँग पनि उनीहरू संलग्न हुन्छन् । त्यस्ता व्यक्तिमा अधिकांश दलित, जनजाति र अशिक्षितहरू रहने गरेको पुरीले बताइन् ।

प्रकाशित : माघ २५, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?