भन्सारमै रोकियो कच्चा जुट

विनोद भण्डारीे

विराटनगर — भारत र बंगलादेशबाट आयात गरिएको कच्चा जुट चार दिनदेखि विराटनगर भन्सारमै थन्किएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालयले क्वारेन्टाइन परीक्षण नगरी भन्सार पास नगर्न पत्राचार गरेपछि आठ गाडी जुट भन्सारमै थन्किएको हो ।

भन्सारमै रोकियो कच्चा जुट

जुट भन्सारमै रोकिएपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका जुट उद्योग प्रभावित भएका छन् । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार वर्षौंदेखि प्लान्ट क्वारेन्टाइन जाँचबिनै कच्चा जुट आयात भइरहेको थियो । अहिले नयाँ प्रावधान राखेर उद्योगीलाई दुःख दिने र उद्योगलाई प्रभावित गर्ने काम भएको उनले बताए । ‘स्वदेशमा प्लान्ट क्वारेन्टाइन र भारतमा चार वर्षदेखि लाग्दै आएको एन्टिडम्पिङ शुल्कको मार उद्योगले खेप्नुपर्दा निकासीमा समस्या हुँदै आएको छ,’ उनले भने ।

प्लान्ट क्वारेन्टाइन विराटनगरले बाली संरक्षण ऐन, २०६४ र नियमावली २०६६ अनुसार माटो, काठ र बीउबीजनलगायत प्लान्ट क्वारेन्टाइन जाँच गरेर मात्र भित्र्याउनुपर्ने प्रावधानका आधारमा पत्र पठाएको जनाएको छ । सुनसरी मोरङ औद्योगिक क्षेत्रका अधिकांश जुट उद्योग आयातित कच्चा जुटमा निर्भर छन् । यहाँका ६ वटा जुट उद्योगलाई वार्षिक ८० हजार टन कच्चा जुट आवश्यक पर्छ । स्थानीय उत्पादन २० हजार टन मात्र छ । बाँकी भारत र बंगलादेशबाट आयात गरिने अध्यक्ष गोल्छाले बताए । यहाँ उत्पादित ९० प्रतिशत जुटका तयारी वस्तु भारत निकासी हुन्छ । उद्योगहरूले चालु वर्षको ६ महिनामा ३ अर्ब ५० करोड मूल्य बराबरको उत्पादन भारत निकासी गरेका छन् । गोल्छाका अनुसार यस वर्ष ७ अर्बको निकासी गर्ने संघको लक्ष्य छ ।

सरकारले निकासीमा ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान दिँदै आएको छ । तर चार वर्षदेखि भारतले लगाएको एन्टिडम्पिङ शुल्कका कारण निकासीमा समस्या हुँदै आएको गोल्छाले बताए । भारतले नेपालबाट निकासी हुने सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा ० देखि २ प्रतिशत एन्टिडम्पिङ शुल्क लगाएको छ । ६ जुट उद्योगमा १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।


प्रकाशित : माघ २२, २०७७ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?