विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित

एक वर्षभन्दा बढी समयदेखि आयोजनास्थलमा उपकरण जडानको काम अवरुद्ध
माधव ढुंगाना

भैरहवा — निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा उपकरण जडानका लागि विदेशी विशेषज्ञसहितको प्राविधिक टोली आउने अझै निश्चित भएको छैन । आयोजनाले भने चीन, अमेरिका, बेलायतलगायत मुलुकबाट विशेषज्ञ ल्याउने पहल भइरहेको जनाएको छ ।

विदेशी प्राविधिक नआउँदा गौतमबुद्ध विमानस्थल अनिश्चित

उपकरण जडानका लागि विदेशी केही विशेषज्ञलाई आयोजनास्थलमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको र साता/दस दिनमा नतिजा देखिने आयोजनामा संलग्न अधिकारीको दाबी छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण विदेशी प्राविधिक टोली नआएकाले एक वर्षभन्दा बढी समयदेखि आयोजनास्थलमा उपकरण जडानको काम हुन सकेको छैन । जसका कारण ९३ प्रतिशत भौतिक संरचना पूरा भइसकेको यो आयोजना सम्पन्न हुन र सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको छ । विदेशी प्राविधिक टोली नआएकै कारण पाँचौंपटक थपिएको आयोजनाको म्याद सकिएर छैटौं पटकका लागि म्याद थप्न पनि अन्योल भइरहेको छ ।

उपकरण जडानका लागि अमेरिका र बेलायतबाट दुई जना विशेषज्ञ आउने तयारी भइरहेको र उनीहरू आउनासाथ उपकरण जडानको सुरु हुने राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताए । ‘ती विशेषज्ञको भिसा लाग्ने प्रक्रियामा छ,’ उनले भने, ‘उनीहरू आउनासाथ आयोजनाको आईसीबी–२ तर्फको काम सुरु गरिनेछ ।’ विशेषज्ञले सिकाएअनुरूपको काम अन्य कामदारले गर्ने भएकाले आईसीबी–२ तर्फको उपकरण जडानको काम प्राविधिकको कमीले रोकिन नपर्ने उनको भनाइ छ । आयोजनाको आईसीबी–१ तर्फका उपकरण जडानका लागि चिनियाँ प्राविधिक टोली पनि आउने क्रममा छन् । उनीहरूले कोभिडविरुद्धको तेस्रो चरणको खोप लगाइसकेको बताइएको छ । ८/९ जनाको चिनियाँ प्राविधिक टोलीको भिसाका लागि अध्यागमनले स्वीकृति दिइसकेको छ । उनीहरू दुई साताभित्र आयोजनास्थलमा आउने दाबी गरिएको छ ।

आयोजनाको भौतिक संरचना निर्माणअन्तर्गत आईसीबी–१ का लागि चीन र आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत काम हुने आईसीबी–२ का लागि थाइल्यान्ड, अमेरिका, अस्ट्रियालगायत मुलुकबाट प्राविधिक आउनुपर्छ । आईसीबी–१ का लागि चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड र आईसीबी–२ का लागि थाइल्यान्डको एरो थाई कम्पनीले करिब ५० करोड रुपैयाँमा ठेक्का लिएका हुन् ।

आईसीबी–२ तर्फका सबै संरचना उपकरण जडानका लागि तयारी अवस्थामा छन् । सबै उपकरण आयोजनास्थलमा आइसकेको आयोजनाको आईसीबी–२ अन्तर्गतका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनर्देशक प्रवीण न्यौपानेले जानकारी दिए । ‘उपकरण जडान गर्न पहिलो लटमा अमेरिकी विशेषज्ञ आउने तयारी छ,’ उनले भने, ‘उनीहरू आइसकेपछि विमान अवतरण गराउन प्रयोग हुने उपकरण जोडिनेछ ।’ अमेरिकी विशेषज्ञ आएपछि युरोपियन प्राविधिक पनि आउने तयारी गर्ने र उनीहरूले उपकरण जडानको काम सुरु गरेपछि आउँदो अप्रिलसम्ममा सम्पन्न हुने सम्भावना छ ।

सन् २०१४ मा शिलान्यास गरिएको आयोजनाको पाँचौंपटक थपिएको म्याद पनि डिसेम्बर ३१ देखि सकिएको छ । विदेशी प्राविधिक आउनेबारे यकिन नभएकाले आयोजनाको म्याद कहिलेसम्म थप्ने भन्ने अन्योल छ । आईसीबी–१ र २ दुवै ठेक्काको एउटै म्याद थियो । म्याद थपका लागि ठेकेदार कम्पनीले आयोजनासमक्ष माग गरेका छन् ।

आयोजनास्थलमा विदेशी प्राविधिक ल्याउन सरकारका तर्फबाट सक्दो पहल जारी रहेको र केही प्राविधिक आउने अन्तिम तयारी भए पनि नआइपुग्दासम्म यकिनका साथ केही भन्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘कोभिडका कारण प्राविधिक आउन ढिलाइ भएको हो । स्वास्थ्यको विषय भएकाले कसैलाई पनि दबाब दिन मिल्दैन,’ उनले भने, ‘प्राविधिक आउने निश्चित भएपछि मात्रै त्यहीअनुरूप आयोजनाको म्याद थपिनेछ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने ठेकेदार कम्पनीले म्याद थपका लागि दिएको निवेदनमा परामर्शदाता कम्पनी र आयोजनाले अध्ययन गरिरहेको जनाए ।

प्रकाशित : माघ २०, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?