धेरै पुनर्कर्जा होटलमा

लघु घरेलु तथा साना उद्यममा २३ अर्ब ६२ करोड, विशेषमा ८ अर्ब ६ करोड र साधारण पुनर्कर्जामा १८ अर्ब ३७ करोड प्रवाह
यज्ञ बञ्जाडे

काठमाडौँ — सहुलियत ब्याजदरको पुनर्कर्जा सबैभन्दा धेरै प्राप्त गर्नेमा कोभिड–१९ बाट बढी प्रभावित होटल र पर्यटन क्षेत्र अघि देखिएका छन् । ग्राहक ऋणीअन्तर्गत राष्ट्र बैंकमार्फत प्रवाह हुने उक्त कर्जामा ती क्षेत्रले सबैभन्दा धेरै कर्जा प्राप्त गरेको देखिएको हो ।

धेरै पुनर्कर्जा होटलमा

हालको व्यवस्थाअनुसार कुल पुनर्कर्जा कोषको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाले एकमुष्ट, २० प्रतिशत राष्ट्र बैंक आफैंले र १० प्रतिशत लघुवित्त वित्तीय संस्थालेमार्फत प्रवाह हुने प्रावधान छ । सोही व्यवस्थाअनुसार राष्ट्र बैंकले प्रवाह गर्ने ग्राहक ऋणी पुनर्कर्जाअन्तर्गत सबैभन्दा धेरै कर्जा सुविधा होटलले पाएका छन् । गत सातासम्म यो पुनर्कर्जाअन्तर्गत ३३ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको पुनर्कर्जा होटलले प्राप्त गरेका छन् । यो राष्ट्र बैंकले प्रवाह गरेको कुल ग्राहक ऋणी पुनर्कर्जाको करिब ३८ प्रतिशत हो । पर्यटन शीर्षकमा १ अर्ब ५२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ । होटल र पर्यटन दुवै जोड्दा करिब साढे ४२ प्रतिशत कर्जा यी क्षेत्रले प्राप्त गरेको देखिन्छ । बाँकी ५७.५ प्रतिशत रकम विभिन्न १९ वटा क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा प्राप्त गर्ने पुनर्कर्जाअन्तर्गत पनि धेरै कर्जा होटल र पर्यटन क्षेत्रमा गएको छ । तर त्यसको क्षेत्रगत तथ्यांक संकलन गरिएको छैन । यो क्षेत्र कोभिडबाट बढी प्रभावित भएकाले कर्जा प्रवाहको प्राथमिकतामा परेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । ‘ होटल र पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित हो । त्यसैले यो क्षेत्रले अझै गति समात्न सकेको छैन,’ उनले भने, ‘यसकारण पनि धेरै पुनर्कर्जा यो क्षेत्रमा गएको हो ।’ पुनर्कर्जा सुविधाका लागि कार्यविधिमा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ ।

मापदण्ड पूरा गर्न कोभिडबाट अति र मध्यम स्तरको पीडित हुनैपर्छ । होटल र पर्यटन क्षेत्र बढी भएकै कारण ती क्षेत्रका ऋणीले धेरै कर्जा सुविधा पाएको हुन सक्ने ढकालको भनाइ छ । ‘राष्ट्र बैंकबाट एकमुष्ट रूपमा रकम लगेर बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको पुनर्कर्जाको क्षेत्रगत तथ्यांक संकलन हुँदै छ,’ उनले भने, ‘उनीहरूले पनि कोभिडबाट धेरै प्रभावित क्षेत्रमा बढी ऋण प्रवाह गरेको हुनुपर्छ ।’ होटलपछि धेरै पुनर्कर्जा सुविधा पाउनेमा क्रमशः म्यानुफ्याक्चरिङ (उत्पादनमूलक), शिक्षा, निर्माण, औषधि, जलविद्युत्, सिमेन्ट, अस्पताललगायत छन् ।

राष्ट्र बैंकले हालसम्म करिब ८५ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गरिसकेको छ । यसमध्ये राष्ट्र बैंकले सिधै प्रवाह गर्ने ग्राहक ऋणी पुनर्कर्जामध्ये करिब ३५ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा ५० अर्ब ६ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले प्रवाह गर्ने ग्राहक पुनर्कर्जाअन्तर्गत हालसम्म २ सय २५ जना ऋणीले कर्जा सुविधा पाएका छन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा प्रवाह गरेको पुनर्कर्जा करिब ४१ हजार जना ऋणीले प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सिधै प्रवाह गरेको रकममध्ये प्रदेशअनुसार पुनर्कर्जाको वितरण हेर्दा सबैभन्दा बढी वाग्मती प्रदेशमा १७ अर्ब ३१ करोड रुपैयाँ गएको देखिन्छ । दोस्रोमा लुम्बिनी प्रदेशमा ६ अर्ब ३९ करोड र तेस्रोमा गण्डकी प्रदेशमा ३ अर्ब ४७ करोड पुनर्कर्जा प्रवाह भएको छ । प्रदेश १ मा ३ अर्ब ४३ करोड, प्रदेश २ मा १ अर्ब ८३ करोड, सुदूरपश्चिममा ५२ करोड र सबैभन्दा कम कर्णाली प्रदेशमा ७ करोड ७० लाख रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ ।

कार्यविधिअनुसार ग्राहकले लघु घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन् । यसअघि नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो । ती कर्जामा ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याज भुक्तानी गरे पुग्छ । बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा ५ करोड रुपैयाँ मात्र पुनर्कर्जा प्रवाह गर्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट एकमुष्ट रूपमा प्राप्त गरेको पुनर्कर्जामध्ये गत सातासम्म लघु घरेलु तथा साना उद्यममा २३ अर्ब ६२ करोड, विशेष पुनर्कर्जामा ८ अर्ब ६ करोड र साधारण पुनर्कर्जामा १८ अर्ब ३७ करोड गरी ५० अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको छ ।

हाल कायम रहेको पुनर्कर्जा कोषको बढीमा ५ गुणासम्म पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ छ । जसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन्  । २० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् र आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्छन् ।

कार्यविधिअनुसार वार्षिक औसत २० प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिफल (आरओई) आर्जन गर्ने उद्योगले पुनर्कर्जा सुविधा नपाउने व्यवस्था छ । उद्योग सञ्चालन अवस्था राम्रो रहेको, पछिल्लो तीन वर्षको मुनाफा हेर्दा औसत प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशतभन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा सुविधा नपाउने व्यवस्था छ । यस्तै चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी र गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जामा पनि पुनर्कर्जा सुविधा छैन ।

कुनै उद्यमका लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाले पुनर्कर्जा सुविधा पाउँदैनन् । ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जालगायतका अन्य अनुदान प्राप्त कर्जा पाएका ऋणीले पनि यो सुविधा नपाउने प्रावधान छ ।

प्रकाशित : माघ १८, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?