साढे ३ प्रतिशत घट्यो बैंकको नाफा

गत पुसमा २७ वाणिज्य बैंकको नाफा ३१ अर्ब रुपैयाँ
यज्ञ बञ्जाडे

काठमाडौँ — कोभिड–१९ को असर कम भएसँगै बैंकहरूको नाफामा सुधार आउन थालेको छ । गत असार र असोजको तुलनामा पुसमा बैंकको खुद नाफा घट्ने दरमा कमी आएको छ । आर्थिक गतिविधि बढेकाले बैंकहरूको कर्जा प्रवाह बढेको, ब्याज उठ्न थालेको र कर्जा असुली पनि भएकाले नाफा सुध्रिँदै गएको बैंकरहरू बताउँछन् ।

साढे ३ प्रतिशत घट्यो बैंकको नाफा

बैंकहरूले प्रकाशन गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत पुसमा २७ वाणिज्य बैंकले ३१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत पुसमा बैंकहरूको नाफा करिब साढे ३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पुसमा बैंकहरूको कुल नाफा ६ प्रतिशत बढेर ३२ अर्ब २० करोड रुपैयाँ थियो । राष्ट्रिय वाणिज्य बैंकले शुक्रबार वित्तीय विवरण प्रकाशन गर्दै छ ।

पछिल्ला महिनामा वित्तीय क्षेत्र पुरानो लयमा फर्किन थालेको बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पनि स्विकार्छन् । ‘बैंकहरूले कुल कर्जा प्रवाहको करिब १० प्रतिशत पुनःसंरचना पुनर्तालिकीकरण भएको छ,’ उनले भने, ‘त्यसमध्ये आउँदो असारसम्म अपवादबाहेक धेरै कर्जा असुली हुने देखिन्छ । त्यसपछि बैंकिङ व्यवसाय सामान्य अवस्थामा फर्किनेछ ।’ कोभिडको असर कम हुँदै गए उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन हुने भएकाले बैंकहरूको व्यावसायिक विस्तार पनि राम्रो हुने उनको अनुमान छ ।

विगतका वर्षहरूमा अप्ठ्यारो परिस्थितिमा पनि उच्च दरले नाफा आर्जन गरेका बैंकहरूको नाफा कोभिडले प्रत्यक्ष प्रभावित बनेको थियो । जसअनुसार गत आर्थिक वर्षको चौथो त्रैमास (गत असारमा) बैंकहरूको खुद नाफा १२ प्रतिशत घटेको थियो । पहिलो त्रैमास (गत असोज) सम्म आइपुग्दा नाफाको घट्ने दरमा कमी आएर साढे ६ प्रतिशतमा सीमित थियो । दोस्रो त्रैमासमा अझ कमी आएर साढे ३ प्रतिशतले नाफा घटेको हो ।


गएको एक वर्षमा धेरै बैंक मर्जर तथा एक्विजिसनमा सामेल भएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ती बैंकको नाफा (वासलातको आकार) बढेकाले अहिले नाफाको घट्ने दर कम देखिएको एक बैंकरले बताए । ‘ती बैंकहरूको मर्जर नभएको मात्र भए पनि नाफा धेरैले घटेको देखिन्थ्यो,’ ती अधिकारीले भने । दोस्रो त्रैमासमा तीन वटा वाणिज्य बैंकले २ अर्ब रुपैयाँभन्दा धेरै नाफा आर्जन गरेका छन् । १३ वटा बैंकले १ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । बाँकी बैंकको खुद नाफा १ अर्ब रुपैयाँभन्दा कम छ ।

दोस्रो त्रैमासमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएर ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । एनआईसी एसिया र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् । यसअनुसार एनआईसी एसियाले २ अर्ब ६ करोड र नबिलले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्ला त्रैमासहरूमा सबैभन्दा धेरै नाफा आर्जन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंक दोस्रो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेर पाँचौं नम्बरमा परेको छ । २७ वटा बैंकमध्ये सिभिल बैंकको नाफा सबैभन्दा कम छ । गत आथिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १७ बैंकको नाफा घटेको छ भने १० वटाको बढेको छ । धेरै बैंकका सेयरधनीको प्रतिफल (आरओई) घटेको छ ।

प्रकाशित : माघ १६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?