नाका बन्द हुँदा थन्किए तान

हिल्सा नाका बन्दले चीनबाट ऊन नआउँदा राडीपाखी व्यवसायमा असर
छपाल लामा

हुम्ला — कोरोना महामारी र हिमपातका कारण नेपाल–चीन सीमाको हिल्सा नाका बन्द हुँदा राडीपाखी व्यवसाय संकटमा परेको छ । नाका बन्दले चीनबाट ऊन ल्याउन नसकेपछि व्यवसायमा असर पुगेको हो । स्थानीय उत्पादनले नपुग्ने भएपछि हुम्लावासीले ताक्लाकोटबाट ऊन ल्याई राडीपाखी उत्पादन गर्दै आएका छन् ।

नाका बन्द हुँदा थन्किए तान

‘मंसिर लागेसँगै अधिकांश घरमा राडीपाखी र ऊनका कपडा बनाउने सिजन सुरु हुन्थ्यो,’ सिमकोट गाउपालिका–३ की पेमा लामाले भनिन्, ‘यसपालि ऊन नआउँदा धेरैका तान घरमै थन्किएका छन् ।’ राडीपाखी बुन्न नपाउँदा यो वर्ष जीविकोपार्जनमा समस्या हुने उनको गुनासो छ ।

स्थानीय बजारमा एउटा कम्बल ३० देखि ४० हजार रुपैयाँमा बिक्री हुन्छ । अधिकांश लामा समुदायका महिला यसैबाट आत्मनिर्भर भएको सिमकोटकी छिरिङ लामाले बताइन् । ‘राडीपाखी बुनेको पैसाले घरखर्च चल्थ्यो,’ उनले भनिन्, ‘अहिलेसम्म एउटा पनि राडी बुन्न सकिएको छैन ।’ उनले गत वर्ष १५ वटा राडीपाखी बुनेकी थिइन् । उनका अनुसार स्थानीय बजारमा बक्खुको माग पनि उच्च छ । एउटा बख्खु ५० देखि ६० हजार रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिइन् ।

हुम्लामा लामा समुदायका महिलाले ऊनबाट राडीपाखी, बख्खु, पटुका, कोटलगायत सामग्री उत्पादन गर्दै आएका छन् । उक्त समुदायका विभिन्न पर्व, उत्सव, पूजा र मेलामा ऊनकै कपडा प्रयोग हुने भएकाले माग उच्च छ । नाम्खा र सिमकोटका अधिकांश घरमा राडीपाखी उत्पादन हुने स्थानीय डोचन लामाले बताइन् । ‘स्थानीयस्तरमा थोरै ऊन उत्पादन हुन्छ,’ उनले भनिन्, ‘कोरोना र हिमपातले अधिकांश महिला बेरोजगार बन्नुपर्‍यो ।’ उनका अनुसार हुम्लाबाहिर पनि राडीपाखीको माग बढ्दै गएको छ । गत वर्ष १० वटा राडीपाखी र पाँच वटा बख्खु बुनेकी उनले २ लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । गत वर्ष उनले सबै राडीपाखी र बख्खु नेपालगन्ज र काठमाडौं पठाएकी थिइन् ।

प्रकाशित : माघ १४, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?