पारदर्शिता राख्न एनआरएनएको समिति
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन सम्पन्न भएको छ ।
भर्चुअल माध्यमबाट सम्पन्न विशेष महाधिवेशनले संघमा आर्थिक व्यवस्थापन र पारदर्शिता कायम राख्न गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिन गोवा कटुवालको संयोजकत्वमा समिति गठन गरेको छ । समिति सदस्यमा रञ्जित महतो र डिला खरेल छन् ।
महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ । महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रूपमा प्रस्तुत गरेका थिए । विधानमा रहेका संशोधित प्रावधानअनुरूप काम कारबाही अगाडि बढाउने प्रतिबद्धता महाधिवेशनमा जाहेर गरिएको छ । महाधिवेशन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।
प्रकाशित : माघ १४, २०७७ ०७:००