तीन जनालाई मात्र व्यावसायिक निरन्तरता कर्जा

दुई महिनामा एक जनालाई २८ लाख र बाँकी दुई व्यवसायीलाई १ करोड १९ लाख रूपैयाँ
यज्ञ बञ्जाडे

काठमाडौँ — कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसाय निरन्तरताका लागि ल्याइएको ५ प्रतिशत ब्याजदरको कर्जा तीन जनाले मात्र पाएका छन् ।

तीन जनालाई मात्र व्यावसायिक निरन्तरता कर्जा

कार्यविधि जारी भएको दुई महिनामा तीन जना व्यवसायीले करिब साढे १ करोड रुपैयाँ कर्जा सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । यसअनुसार एक व्यवसायीलाई २८ लाख र बाँकी दुई व्यवसायीलाई १ करोड १९ लाख रुपैयाँ गरी करिब डेढ करोड कर्जा प्रवाह भएको छ ।

कर्जा कार्यविधि ढिलो मात्र लागू भएकाले हालसम्म धेरै व्यवसायीले सुविधा नपाएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । ‘बैंक तथा वित्तीय संस्थाले भर्खर कर्जा दिन सुरु गरेका छन्,’ उनले भने, ‘अब बिस्तारै जाला ।’ कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले सरकारले कार्यविधि जारी गरेको हो । यसअनुसार सरकारले ५० अर्ब रुपैयाँको कोष स्थापना गर्नेछ । सोही कोषमार्फत कोभिड प्रभावित व्यवसायीले सुपथ ब्याजदरमा कर्जा पाउनेछन् ।

चालु आर्थिक वर्षको बजेटमार्फत कोभिड–१९ बाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि ५० अर्बको कोषको व्यवस्था गर्ने घोषणा सरकारले गरेको थियो । बजेट कार्यान्वयनमा आएको करिब पाँच महिनापछि गत मंसिर ५ मा मात्र कार्यविधि जारी भएको हो । उद्योगी व्यवसायीबाट माग नै कम आएकाले कर्जा सुविधा लिने ऋण कम देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘वित्तीय प्रणालीमा पर्याप्त तरलताले गर्दा ब्याजदर न्यून छ । योसँगै धेरै उद्योगी व्यवसायीले पुनर्कर्जा सुविधा पनि लिएका छन्,’ उनले भने, ‘यसकारण व्यवसायीबाट धेरै कम मात्र व्यावसायिक निरन्तरता कर्जाको माग आएको देखिन्छ ।’ कर्जा वितरण कम भएपछि गत पुसमा अर्थ मन्त्रालयले उक्त कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । निर्देशनपछि पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । त्यति बेला अर्थ मन्त्रालयले कोषमा ३० अर्ब रुपैयाँ संकलन भइसकेको जनाएको छ ।

उता उद्योगी व्यवसायीले पनि सहुलियतपूर्ण ब्याजमा समस्यै समस्या रहेको गुनासो गभर्नर महाप्रसाद अधिकारीसमक्ष गरेका थिए । ‘व्यावसायिक निरन्तरता कर्जाको समयअवधि छोटो छ । अधिक तरलताका कारण सोभन्दा कम ब्याजदरमै बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाइन्छ,’ उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘यसकारण व्यवसायीले अन्य कर्जाबाट स्रोत व्यवस्थापन गरेको देखिन्छ ।’ राष्ट्र बैंकले बजारमा बढिरहेको अधिक तरलता प्रशोचन गरेर सो रकम पुनर्कर्जामार्फत बजारमा पठाउनुपर्ने उनको सुझाव छ ।

कार्यविधिअनुसार व्यावसायिक निरन्तरताका लागि उद्योगी व्यवसायीले ५ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन् । कोभिड–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जा अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेकाहरूले घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायी कोषमार्फत सहुलियत ब्याजदरमा कर्जा पाउँछन् । कोभिड–१९ बाट प्रभावित क्षेत्रलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । ती हरेक क्षेत्रका लागि कर्जा प्रवाह गर्ने सीमा तोकिएको छ । जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गरिने व्यवस्था छ ।

मध्यम प्रभावित क्षेत्रका व्यवसायीले श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम ७ करोड रुपैयाँसम्म कर्जा पाउँछन् । न्यून प्रभावित क्षेत्रका व्यवसायीले भने श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा पाउँछन् । सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीले यो कर्जा सुविधा पाउँदैनन् ।

प्रकाशित : माघ १२, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?