कृषिमा विदेशी लगानीविरुद्ध किसान र उद्योगीको संयुक्त संघर्ष

रमेशकुमार पौडेल

चितवन — कृषिमा वैदेशिक लगानीको विरोध गर्दै आएका किसान र कृषिसँग सम्बन्धित उद्योगी व्यवसायीहरूले संयुक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कृषिमा विदेशी लगानीविरुद्ध किसान र उद्योगीको संयुक्त संघर्ष

यसका लागि चितवनको रत्ननगरमा शनिबार आयोजित किसान, कृषि व्यवसायी तथा उद्योगीका विभिन्न १६ वटा संघसंस्थाका प्रतिनिधिको भेलाले संघर्ष समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी छन् ।

‘हामी सबै जुटेर संयुक्त समिति बनाएका छौं । अब आन्दोलनको खाका बनाउँछौं । हामीले राजधानी केन्द्रित आन्दोलन नै चलाउनेछौं । प्रधानमन्त्री कार्यालयदेखि उद्योग मन्त्रालय, कृषि मन्त्रलायसम्म दबाब दिने योजना छ,’ केसीले भने । १७ सदस्यीय समितिको महासचिवमा नेपाल डेरी उद्योग एसोसिएसनका प्रह्लाद दाहाल छन् ।

आत्मनिर्भर भएको क्षेत्रमा समेत सरकारले वैदेशिक लगानी खुला गर्न थालेको हुँदा यसले दीर्घकालीन प्रभाव पार्ने संयोजक केसीले बताए । ठूलादेखि २–३ लाख रुपैयाँ सानो लगानी गरेर परिवार पाल्दै आएका किसानलाई वैदेशिक लगानीले मारमा पार्ने उनको भनाइ छ । ‘यो सानो कुरा हैन । हाम्रो संघर्ष पनि सामान्य हुन्न । निर्णय नसच्याए त्यस्ता दललाई मत नै नदिन हामी आम किसानलाई अपिल गर्नेछौं,’ उनले भने । डेरी उद्योगी र संघर्ष समितिको सदस्यसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले किसान, कृषि उद्योगी र व्यवसायीको संयुक्त भेला भएर वैदेशिक लगानीविरुद्ध अभियान चलाउनुपर्ने आवश्यकता समयको माग भएको बताए । ‘कृषिमा आउने वैदेशिक लगानीले किसान, स्वदेशी कृषि उद्योगी व्यवसायी सबैलाई असर गर्छ । त्यसैले संयुक्त आन्दोलन चलाउनुपरेको हो,’ उनले भने ।

संघर्ष समितिको सहसंयोजकमा राष्ट्रिय कृषक समूह महासंघका रीता बस्ताकोटी, कोषाध्यक्षमा केन्द्रीय पशुपन्छीपालन सहकारी संघका बाबुराम अधिकारी छन् । सदस्यहरूमा डेरी उद्योग संघका राजकुमार दाहाल, कृषि बीउ तथा तरकारी समूह नेपालका पूर्णदत्त भुसाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका रत्नमणि न्यौपाने र किशोर बगाले छन् ।

बाख्रा व्यवसायी महासंघका रुद्रनाथ उपाध्याय, जिल्ला आईपीएम कृषक संघ नेपालका प्रेम नेपाल, नेपाल डेरी एसोसिएसनका सुमित केडिया, डेरी उद्योग संघका निरञ्जन श्रेष्ठ, मौरीपालक महासंघका शिवप्रसाद शर्मा पौडेल, नेपाल मत्स्य व्यवसायी महासंघका अम्बिकाप्रसाद अधिकारी र नेपाल कुखुरापालक किसान संघका झनकप्रसाद पौडेलसमेत सदस्य छन् । चितवन केरा उत्पादक संघका धननाथ महतो र राष्ट्रिय कृषक समूह महासंघका नवराज बस्नेत पनि संघर्ष समितिको सदस्य छन् ।

प्रकाशित : माघ ११, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?