एनआरएनएको विशेष महाधिवेशन सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

एनआरएनएको विशेष महाधिवेशन सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन शनिबारबाट सुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजित महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी रहेको संघले जनाएको छ । 

संघको विशेष साधारणसभा उद्घाटनका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोनाको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए । संकटका बेला संघ आफ्नो औचित्य र भूमिका स्थापित गर्न सफल भएको उनको भनाइ छ ।

प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र संकटको परीक्षामा एनआरएनए खरो रूपमा उत्रिएको उनले बताए । संकटकै बीचमा विदेशमा रहेका नेपाली विज्ञलाई नेपालमा जोड्ने प्रयत्न गरेकोप्रति पनि ज्ञवालीले खुसी व्यक्त गरे । नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रूपमा स्विकार्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई स्वदेशको विकासमा जोड्ने नीति तय गरेको जानकारी दिए ।

कार्यक्रममा संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशनमा महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यबारे छलफल गर्न सुझाए । यसैगरी संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वाभाविक रहेको प्रतिक्रिया दिए । कोरोना संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेका बेला यसलाई सबै मिलेर सामना गर्नुको विल्कप नभएको उनको भनाइ छ । हरेक संकटसँगै अवसर पनि आउने उनले बताए । महाधिवेशन आइतबारसम्म चल्नेछ ।


प्रकाशित : माघ ११, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

वैद्यखानाको उत्पादन सुस्त

ठेकेदारले कच्चा पदार्थ नल्याइदिँदा कम्पनीले लक्ष्यअनुसार उत्पादन गर्न सकेन
प्रशान्त माली

काठमाडौँ — ललितपुरको सानेपाका ७८ वर्षीय नानीकाजी विष्ट सुगरका बिरामी हुन् । उनले सिंहदरबार वैद्यखानाबाट उत्पादित सुगर फ्री च्यवनप्राश तीन वर्षदेखि सेवन गर्दै आएका छन् । च्यवनप्राश किन्न भनेर सोमबार उनी कुमारीपाटी, लगनखेल, मंगलबजारका सबैजसो आयुर्वेद पसल चहारे । कतै नपाएपछि वैद्यखानाको सिंहदरबारस्थित काउन्टरमै पुग्नुपरेको उनले बताए ।

बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटारका ६० वर्षीय सागर बस्नेतले पनि १५ वर्षदेखि वैद्यखानाबाट उत्पादित सिलाजित सेवन गर्दै आएका छन् । सिलाजितले पिसाब नलीमा हुने खराबी हटाउने गरेको उनको अनुभव छ । उनले पनि सिलाजित किन्न पुतलीसडक र अनामनगरका आयुर्वेदिक पसल धाए । कतै नपाएपछि वैद्यखानाकै काउन्टर पुग्नुपरेको उनको पनि गुनासो छ ।

च्यवनप्राश र सिलाजित वैद्यखानको सबभन्दा पुराना उत्पादनमध्ये हुन् । वैद्यखानाबाट उत्पादन हुने च्यवनप्राशमा यार्चागुम्बु, पाँचऔंले, केसरजस्ता दुर्लभ बहुमूल्य जडीबुटीको मिश्रण हुने बताइन्छ । यसले पनि वैद्यखानाको च्यवनप्राशको माग बजारमा उच्च छ । कोभिड–१९ महामारीका कारण यसको माग झन् चुलिएको छ । यद्यपि वैद्यखानाले पर्याप्त मात्रामा उत्पादन गर्न सकेको छैन । सर्वसाधारण मात्र नभई वैद्यखानाका डिलरले पनि यहाँका उत्पादन पर्याप्त नपाएको गुनासो गरेका छन् ।

तारा आयुर्वेद सप्लायर्स थसिखेलले १० केस च्यवनप्राश मागेको साता दिन बित्यो । अहिलेसम्म प्राप्त गर्न सकेको छैन । ताराले मात्र नभई अन्य कम्पनी पनि दैनिक आउने ग्राहकलाई रित्तै फर्काउनुपरेको बताएका छन् । ‘वैद्यखानाको उत्पादन अन्य कम्पनीको भन्दा झन्डै दोब्बर महँगो पर्छ । अन्य कम्पनीको एक किलोको ५ सय ४० पर्छ,’ आयुर्वेद सप्लायर्स थसिखेलका सञ्चालक विश्वराज घिमिरेले भने, ‘वैद्यखानाको भने आधा किलोकै ४ सय ५० पर्छ । सुगर फ्री च्यवनप्राश त झन् आधा किलोकै ६ सय ५० रुपैयाँ पर्छ ।’

वैद्यखानाले आफ्ना उत्पादनको गुणस्तरमा खेलबाड नगर्ने र बहुमूल्य जडीबुटी मिसाउने भएकाले यसको माग उच्च भएको घिमिरेले बताए । ‘अहिले जति उत्पादन गरे पनि बिक्री हुन्छ,’ उनले भने ।

सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने यस वर्ष कमै मात्रामा उत्पादन गर्ने लक्ष्य रहेको दाबी गरे । ‘पटकपटक ताकेता गर्दा बल्ल ठेकेदार सम्पर्कमा आएको छ । तैपनि सम्झौताअनुसार च्यवनप्राश बनाउन उपलब्ध गराउनुपर्ने अमलाजस्ता कच्चा पदार्थ पूरा पठाएको छैन,’ उनले भने, ‘ठेकेदारले समयमा कच्चा पदार्थ नझारेपछि बाहिरबाट अमला खरिद गरेर उत्पादन थालेका छौं ।’

अहिले दैनिक च्यवनप्राश उत्पादन भइरहेको र बजारमा पनि पठाइरहेको उनको दाबी छ । अमलाबाहेक च्यवनप्राश बनाउन मह, दालचिनी, सुकुमेल, त्रिकुटजस्ता कच्चा पदार्थ आवश्यक पर्छन् । कृष्णा ट्रेडर्सले गत वर्ष माघमा यी कच्चा पदार्थ यस वर्षको माघभित्र ल्याउने गरी २० लाख रुपैयाँमा ठेक्का पाएको थियो । न्यु लक्ष्मी ट्रेडर्सले गत चैतमा १ करोड रुपैयाँमा एक वर्षभित्र च्यवनप्राशबाहेक अन्य कब्जियत, पिसाब पोल्ने, पाइल्स, दम, खोकी, पत्थरी, ग्यास्ट्रिक, अल्सरजस्ता रोगका औषधि उत्पादन गर्न आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने सम्झौता गरेको थियो । न्युलक्ष्मीले सामान पठाइरहेको खरेलले बताए ।

कृष्णा ट्रेडर्डका सञ्चालक जयकृष्ण मिश्रले ५/६ सय केजी अमला उपलब्ध गराउन बाँकी रहेको स्विकारे । ‘सम्झौताअनुसार आठ हजार किलो जडीबुटी पुर्‍याउनुपर्ने थियो,’ उनले भने । यस वर्ष च्यवनप्राश, सिलाजितलगायत औषधि ९ करोड बराबरको बिक्री गर्ने वैद्यखानाको लक्ष्य थियो । तर हालसम्म च्यवनप्राश साढे २ करोडको पनि बेच्न सकेको छैन ।

प्रकाशित : माघ ११, २०७७ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×