१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भरतपुरमा सिटी हल बन्दै

चितवन — भरतपुरमा महानगर सिटी हल निर्माणको काम सुरु भएको छ । महानगरपालिकाले उपलब्ध गराएको जमिनमा संघीय सरकारको बजेटबाट सिटी हल निर्माण थालिएको हो ।

भरतपुरमा सिटी हल बन्दै

जिल्ला समन्वय समितिका नाममा रहेको जग्गा सिटी हल निर्माणका लागि महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको भवनपछाडि भरतपुरको बाइपास रोड आडमा सिटी हल बन्दै छ ।

गत मंसिर १८ मा निर्माण सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवन कार्यालयका आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए । ८७ करोड ८८ लाख रुपैयाँ लागतमा २७ महिनामा निर्माण सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सिटी हलमा दुई हजार जना अट्न सक्ने अर्यालले बताए । ‘मुख्य हलमा दुई हजार जना अट्न सक्छन् । यसबाहेक तीन सय क्षमताको अर्को हल बन्नेछ,’ उनले भने । हल बनिसकेपछि बाहिरी जिल्लाबाट पनि कार्यक्रम गर्न आउने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

आफूले सिटी हल निर्माणलाई प्रथामिकतामा राखेको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले बताइन् । ‘चार–पाँच बिघा जग्गाको खोजीमा जुट्दै जाँदा अन्तिममा यहाँ भयो । जग्गाको क्षेत्रफल चार बिघा चार कट्ठा छ । जग्गापछि बजेटको पनि व्यवस्था भयो । निर्माण सम्झौता भएर काम पनि सुरु हुँदा खुसी लागेको छ,’ उनले भनिन् । निर्माणलाई गुणस्तरीय बनाउन नियमित अनुगमन हुने उनको भनाइ छ ।

इन्डो सगुन रौताहा जेभीले सिटी हल निर्माणको जिम्मा पाएको छ । बजेट समयमै प्राप्त भए र स्थानीय समस्या केही नआए तोकिएको समयअघि नै काम सक्ने निर्माण कम्पनीका प्रतिनिधि सहदेव खड्काले बताए । १ सय २० जना कामदार र प्राविधिक खटाएर धमाधम काम थालिएको उनको भनाइ छ ।

प्रकाशित : माघ १०, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?