२७ वर्षपछि स्टक डिलर

धितोपत्र बोर्डले शुक्रबार ‘नागरिक स्टक डिलर’ लाई सञ्चालन अनुमतिपत्र दियो

काठमाडौँ — पुँजीबजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आउने भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ लाई शुक्रबार धितोपत्र बोर्डले सञ्चालन अनुमतिपत्र दिएपछि पुँजी बजारले पहिलो स्टक डिलर पाउने भएको हो । फागुन १ देखि लागू हुने गरी बोर्डले अनुमति दिएको हो ।

२७ वर्षपछि स्टक डिलर

कम्पनी सञ्चालनका लागि कानुनी तथा भौतिक सबै तयारी पूरा भइसकेकाले अनुमतिपत्र पाएलगत्तै काम सुरु हुने नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बताए । कम्पनीले ठूलो परिमाणमा सेयर कारोबार गर्ने भएकाले बजारमा देखिने अस्वाभाविक ठूला उतारचढाव नियन्त्रण हुने उनको दाबी छ । ‘कम्पनीले बिस्तारै मार्केट मेकरकै रूपमा काम गर्दै जाने हो,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट फन्ड व्यवस्थापन गर्दै त्यसलाई पुँजी बजारमा परिचालन गर्दै जान्छौं ।’

पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोषजस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थालाई अनुमतिपत्र प्रदान गरिएको बोर्डले बताएको छ । पुँजी बजारमा हाल ससाना लगानीकर्ताको बाहुल्य रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति छ । नागरिक स्टक डिलरको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजी बजारमा गतिशीलता आई बजारको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बोर्डको दाबी छ ।

स्टक डिलर कम्पनीले २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका साना कम्पनीको सेयर कारोबार गर्न नपाउने प्रावधान धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन कार्यविधि, २०७७ मा छ । धितोपत्र व्यापारिले २० करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई नियमित कारोबारमा समावेश गर्न पाइने छैन । साना कम्पनीको सेयर किनबेच गर्न अनुमति दिँदा ती कम्पनीको सेयर एकीकृत (कर्नरिङ) गरी मूल्यमा उचारचढाव ल्याउन सक्ने सम्भावना रहन्छ । यसकारण कार्यविधिमै साना कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था गरिएको नेप्सेले जनाएको छ ।

स्टक डिलरले एक हजारभन्दा कम कित्ता सेयर पनि खरिद–बिक्रीमा पनि बन्देज गरिएको छ । यो व्यवस्थाअनुसार स्टक डिलरले कारोबार गर्दा एक हजारभन्दा कम संख्यामा सेयर किनबेच गर्न पाउँदैन । ‘धितोपत्र व्यापारीले जतिसुकै चुक्ता पुँजी भएको कम्पनीमा एक हजार कित्ताभन्दा कम परिमाणको सेयर खरिद–बिक्री गर्न पाइने छैन,’ कार्यविधिमा भनिएको छ, ‘एक दिनभन्दा बढी बहाल रहने गरी प्रणालीमा खरिद–बिक्री आदेश दिन पाइने छैन ।’ यो संस्थाले चुक्ता पुँजीका आधारमा एक पटकमा १० हजारदेखि अधिकतम ५० हजार कित्तासम्म सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा छ ।

कार्यविधिका अनुसार ८ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीको ५० हजार कित्तासम्म, ५ अर्बदेखि ८ अर्ब रुपैयााँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ४० हजार, २ देखि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको ३० हजार, १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीको २५ हजार, ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको २० हजार कित्ता सेयर किनबेच गर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । सोही सूचीबाट स्टक डिलरले आफूले कारोबार गर्न चाहेको कम्पनीको नामावली नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

के हो स्टक डिलर ?

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने काम मार्केट मेकर र स्टक डिलरको हो ।

कम्पनीले हरेक दिन बजार खोल्नुअघि आफूले खरिद–बिक्री गर्ने कम्पनीको सूची सार्वजनिक गर्नुपर्छ । यसमध्ये मार्केट मेकरले आफूले खरिद–बिक्री गर्ने कम्पनीको नाम र मूल्य पनि सार्वजनिक गर्नुपर्छ । तर स्टक डिलरले कम्पनीको नाम मात्र सार्वजनिक गरे पुग्छ । खरिद–बिक्री गर्ने कम्पनीको मूल्य सार्वजनिक गरिरहनु पर्दैन ।

पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय बजारमा मार्केट मेकरको अवधारणा हराइसकेको छ । हाल धेरै राष्ट्रमा स्टक डिलर मात्र सञ्चालनमा छन् । यस्ता कम्पनीले आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् ।

यी कम्पनीलाई सेयर कारोबारका लागि ब्रोकरसमक्ष जानु पर्दैन । नियामक निकाय (फन्ट लाइन रेगुलेटर) ले छुट्टै ‘लगइन’ दिएको हुन्छ । त्यसैमार्फत आफैं सेयर खरिद–बिक्री गर्न सक्छन् । ती कम्पनीले अरूको लगानीकर्ताको सेयर भने खरिद–बिक्री गर्न पाउँदैनन् । अरूको सेयर पनि खरिद–बिक्री गर्न कम्पनीले नियामक निकायबाट सेयर ब्रोकरको पनि अनुमति ल्याउनुपर्छ ।

प्रकाशित : माघ १०, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?