मूल्य घटे पनि उद्योगीले घटाउँदैनन्

बढी मूल्य लिएको पुष्टि भएपछि अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई ३–३ लाख जरिवाना
राजु चौधरी

काठमाडौँ — खाने तेल बिक्रीवितरण गरिरहेका उद्योगीले कच्चा तेलको मूल्य घट्दा पनि बढी मूल्य लिएर बेचेको पाइएको छ । खाने तेलको मूल्य अस्वाभाविक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सम्बद्ध उद्योगीहरूसँग प्रज्ञापनपत्र मगाएर मूल्य विश्लेषण गरिरहेको छ ।

मूल्य घटे पनि उद्योगीले घटाउँदैनन्

मूल्य विश्लेषणका क्रममा केहीले उद्योगीले कच्चा पदार्थको मूल्य बढ्दा एमआरपी मूल्य बढाउने तर कच्चा पदार्थको मूल्य घट्दा मूल्य यथावत् राखेको पाइएको हो । ‘कच्चा पदार्थको लागत मूल्य तलमाथि भइरहन्छ । प्रज्ञापनपत्रमा पनि त्यही देखिएको छ,’ विभागका एक अधिकृतले भने, ‘मूल्य बढ्दा बढाउने तर घटाउँदा घटाएको देखिएन, जुन गलत हो ।’ लिटरमा १–२ रुपैयाँ फरक पर्नु स्वाभाविक भए पनि ८/१० रुपैयाँ नै बढाउनु गलत भएको उनको भनाइ छ ।

बजारमा मूल्य बढेपछि विभागले करिब डेढ महिनायताको प्रज्ञापनपत्र मागएर विश्लेषण गरिरहेको छ । थप पुष्टि गर्न भन्सार विभागसँग पनि प्रज्ञापनपत्रलगायत कागजातसमेत मगाएको बताएको छ । उद्योगीहरूले उपलब्ध गराएको प्रज्ञापनपत्र विश्लेषण गर्दा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको देखिएको छ । केही प्रज्ञापनपत्रमा घटे पनि यहाँ मूल्य घटाइएको छैन । अन्तर्राष्ट्रिय बजारमा बढेअनुसार एमआरपी मूल्य राख्नुपर्नेमा मनलागी मूल्य तोकिएको विभागले जनाएको छ ।

मूल्यमा फरक देखिएपछि विभागले दुई तेल उद्योगलाई जरिवानासमेत गरेको छ । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेको कसुरमा बारास्थित अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । ‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत खाने तेल बिक्रीवितरण गरेको पाइएकाले बारास्थित अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उक्त ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाखका दरले जरिवाना गरेका छौं,’ उनले भने, ‘अस्वाभाविक रूपमा बढाइएको मूल्यवृद्धि सच्याउन निर्देशन दिएका छौं । निर्देशनको पालना नभए कानुनअनुसार कारबाही हुन्छ ।’

अन्नपूर्णले अमृत ब्रान्ड र महालक्ष्मीले महालक्ष्मी ब्रान्डकै तेल बेच्दै आएको सेढाईंले जानकारी दिए । ती उद्योगलाई निरीक्षण अधिकृतको अधिकार प्रयोग गरी अधिकतम ३ लाख रुपैयाँ जरिवाना गरिएको हो । विभागले अन्नपूर्ण र महालक्ष्मीले लागत मूल्यभन्दा बढी मूल्य लिएको बताए पनि कति बढी लिए भन्ने खुलेको छैन ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कुनै पनि माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएर बिक्री गर्न पाइँदैन । २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा अथवा अभावको मौका छोपी वस्तुको समुचित नाफा लिई बिक्री गरे पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्ने ऐनमा उल्लेख छ ।

बजारमा कुनै वस्तुको कृत्रिम अभाव हुने गरी वस्तुको मूल्यवृद्धि गराएर अनुचित नाफा लिई बजारमा बिक्री गर्ने नियतले बिक्री नगरी जम्माखोरी गर्नेलाई पनि पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । फ्रत्येक थोक वा खुद्रा वित्रेताले नेपाल सरकारले तोकिदिएको माल वस्तुको मूल्यसूची सबैले देख्ने गरी बिक्रीस्थलमा टाँस्नुपर्छ । यसो नगर्नेलाई एक वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्छ । तर विभागले उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही प्रक्रिया बढाएको छ ।

विभागका निरीक्षण अधिकृत रामहरि पोखरेलका अनुसार अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीले उपलब्ध गराएको प्रज्ञापनपत्रमै लागत मूल्य र एमआरपी फरक देखिएको छ । ‘उदाहरणका लागि प्रज्ञापनपत्रमा २० रुपैयाँ बढेको भए एमआरपी ३० रुपैयाँसम्म बढ्यो । लागत मूल्य र एमआरपीबीचमै धेरै फरक र मूल्य बढी राख्नु गलत हो । उद्योगमा बढ्नेबित्तिकै खुद्राले पनि मूल्य बढाउँछन्,’ उनले भने, ‘कच्चा पदार्थको मूल्य बढे बढाउन पाइन्छ । तर ऐनअनुसार हुनुपर्‍यो ।’ अन्य तेल उद्योगका विषयमा भने अध्ययन भइरहेको उनले बताए । विभागले १६ वटा तेल उद्योगको प्रज्ञापनपत्र अध्ययन गरिरहेको छ । खाने तेलजस्तै निर्माण सामग्रीको मूल्य पनि अस्वाभाविक बढेको छ । पछिल्लो समय चामलको मूल्य पनि बढ्न थालेको व्यवसायी बताउँछन् ।

प्रकाशित : माघ ८, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?