विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण सुरु

१ सय २६ बिघा जमिनका लागि करिब ४ अर्ब रूपैयाँ मुआब्जा

विराटनगर — विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय २६ बिघा जमिन अधिग्रहण सुरु गरेको छ । जग्गाको मुआब्जा तिर्न र आवश्यक भौतिक संरचना निर्माणका लागि करिब १७ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ ।

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण सुरु

विमानस्थलको स्तरोन्नतिपछि भारतको कोलकाता, पटना, भुटान, बंगलादेश र म्यानमारसँग विराटनगरको हवाई सम्बन्ध जोड्ने तयारी रहेको प्राधिकरणले जनाएको छ । साविकको विमानस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण क्षेत्रको १ सय २६ बिघा जमिन अधिग्रहणका लागि प्रारम्भिक सर्भेको काम सकिएको र चाँडै मुआब्जा निर्धारण गरेर वितरण गर्ने तयारी गरिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले बताए ।

हाल धावनमार्ग १ हजार ५ सय मिटर लामो छ । अब थप १ हजार मिटर निर्माण हुने उनको भनाइ छ । तीन हजार मिटर लामो धावनमार्ग निर्माणका लागि जमिन अधिग्रहण गरिए पनि तत्काललाई २ हजार ५ सय मिटर लामो मात्र बनाउने योजना छ । विमानस्थलको दक्षिण र उत्तर सीमाबाट ६७–६७ मिटर र पश्चिमतर्फ केसलिया खोला पश्चिम सुनसरीतर्फ सात समय मिटर जमिन अधिग्रहणमा परेको छ ।

अधिग्रहणका लागि तयार १ सय २६ बिघा जमिनका लागि करिब ४ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने योजना रहेको खरेलले बताए । विमानस्थलले दुई वर्षअघि पूर्वतर्फको ४ बिघा ८ कट्ठा जमिन ६९ करोड रुपैयाँ मुआब्जा तिरेर अधिग्रहण गरेको थियो ।

प्रकाशित : माघ ७, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?