कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ
यज्ञ बञ्जाडे

काठमाडौँ — गत साता एक वाणिज्य बैंकमा महिना दिनको बच्चाको नाममा ‘डिम्याट’ खाता खोल्न आएका एक अभिभावक भेटिए । प्राथमिक बजारमा सेयरमा आवेदन दिनकै लागि उनले नाबालक छोराका नाममा खाता खोल्दै थिए । मापदण्ड पुगेका सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर वितरण गर्नुपर्ने व्यवस्था छ । त्यसैले बच्चाका नाममा डिम्याट खाता खोल्न आएको ती अभिभावकको भनाइ छ ।

सेयर बजारमा सवा ३ लाख नाबालक लगानीकर्ता

यो त उदाहरण मात्र हो । बच्चा जम्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने जानकारहरू बताउँछन् । सेयर पर्ने निश्चित भएकाले धेरै सेयर प्राप्त गर्ने उद्देश्यले बच्चा जन्मिनासाथ खाता खोल्न आउने क्रम बढेको उनीहरूको तर्क छ । नाबालकको नामामा खाता खोल्न पाइने कानुनी व्यवस्था नै छ । बच्चा १८ वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्वमा बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ । खातावाला बालक १८ वर्ष पुगेपछि उसैले खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ । कागजी अवस्थामा रहेको भौतिक धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख राखिने खातालाई डिम्याट भनिन्छ । हाल दोस्रो बजारमा भौतिक सेयरको कारोबार हुँदैन । सोहीकारण सेयरमा आवेदन दिन तथा दोस्रो बजारमा कारोबार गर्न डिम्याट खाता र बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान छ ।

न्यूनतम १० कित्ता सेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालक (माइनर) का नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढेको सीडीएसीले बताएको छ । हालसम्म ३ लाख १० हजार ७० वटा नाबालक खाता खुलेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । हालसम्म कुल २५ लाख ५४ हजार २ सय डिम्याट खाता खुलेका छन् । तीमध्ये १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा खुलेका छन् । तीमध्ये नाबालक खाता संख्या ३ लाख १० हजार ७० वटा रहेको उनले बताए । चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । जसअनुसार गत असारमा १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए ।

नाबालकका नाममा डिम्याट खाता खोल्नुको अर्थ उनीहरू पनि सेयर लगानीकर्ता हुन् भन्ने हो । यसका आधारमा पनि सेयर बजारमा करिब सवा तीन लाख नाबालक सेयर लगानीकर्ता रहेको रूपमा विश्लेषण गर्न सकिन्छ । डिम्याट खाता खोल्दैमा सबैले सेयरका लागि आवेदन दिन्छन् र उनीहरूलाई सेयर पर्छ नै भन्ने पनि हुँदैन । तर पनि अहिले सेयर बजार तातेको अवस्थामा डिम्याट खोले पनि आवेदन दिन्छन् भन्ने अनुमानका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

पछिल्ला महिना नाबालकको नाममा खाता खोल्ने क्रम बढेको तथ्यांक छ । गत पुसमा मात्र ३९ हजार ६ सय ९४ वटा डिम्याट खाता नाबालकका नाममा खुलेका छन् । २०७६ पुसमा ५ सय ७७ वटा मात्र यस्ता खाता खुलेका थिए । गत वर्षको पुसको तुलनामा गत पुसमा २ लाख २६ हजार ९ सय २१ वटा बढी डिम्याट खाता खुलेका छन् । गत वर्षको तुलनामा यो वर्ष धेरै कम्पनीले प्राथमिक निष्कासन (आईपीओ) जारी गरेको, सेयर बजार लगातार बढिरहेकोलगायत कारण डिम्याट खाता संख्या पनि बढेको जानकारहरू बताउँछन् । गत पुसमा मात्र २ लाख ३५ हजार ६ सय ३९ वटा डिम्याट खाता खुलेका छन् । गत वर्षको पुसमा ८ हजार ७ सय १८ वटा मात्र डिम्याट खाता खुलेका थिए ।

खासगरी लकडाउन खुलेपछि सेयर बजार बढिरहेको छ । सोही क्रममा आइतबार नेप्से २ हजार ३ सय १५ अंक पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब साढे २८ अंकले बढेको हो । यो पनि हालसम्मकै उच्च हो । नेप्से परिसूचकसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि बढेर ३१ खर्ब १८ अर्ब रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय चन्द्रागिरि हिल्सको प्राथमिक निष्कासनमा हालसम्मकै धेरै आवेदन परेको थियो । गत शुक्रबारदेखि इन्फ्रास्ट्रक्चर बैंकको आईपीओका लागि आवेदन आह्वान भएको छ । यो कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ । यो हालसम्मकै ठूलो आईपीओ हो । यो कम्पनीको आईपीओमा आइतबारसम्म करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परिसकेको छ । ८ लाख २ हजार ७ सय ८ वटा आवेदनमार्फत सो रकम बराबरको सेयर माग भएको हो । आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ता सेयरका लागि ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको छ ।

प्रकाशित : माघ ६, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?