अलैंचीबाट पौने ५ करोड

डम्बरसिं राई

खोटाङ — अलैंचीबाट जिल्लामा करिब ५ करोड रुपैयाँ भित्रिएको छ । यो वर्ष उत्पादित अलैंची निकासी हुँदा ४ करोड ६९ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो । यो वर्ष जिल्लामा ७ सय ८७ दशमलव ३६ टन अलैंची उत्पादन भएको थियो ।

गत वर्षको तुलानामा यो वर्ष अलैंची उत्पादन बढेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी देवराज गुप्ताले जानकारी दिए । उनका अनुसार गत वर्ष ५ सय ४२ टन मात्र अलैंची उत्पादन भएको थियो ।

जिल्लामा १ हजार ६४ हेक्टरमा अलैंची उत्पादन हुने गरेको छ । केपिलासगढी गाउँपालिकाको फेदी, खार्तम्छा, सुङ्देलमा अलैंची राम्रो उत्पादन भएको सुङ्देलका ललितचन्द्र राईले बताए । सुङ्देलमा मात्र करिब एक हजार मन अलैंची उत्पादन भएको उनको भनाइ छ । प्रतिमन १६ हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुँदा करिब १ करोड ५० लाख रुपैयाँ आएको उनले बताए ।

ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोल, ऐंसेलुखर्क, जलेश्वरी र महेश्वरीमा पनि अलैंची उत्पादन राम्रो छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाथेका, खार्मी, जालपा, निर्मलीडाँडा, सोल्मामा पनि उत्पादन बढेको छ । साकेला गाउँपालिकाको बाझेच्यानडाँडा, खिदिमा, रतन्छा, मात्तिमलगायत ठाउँमा पनि अलैंची उत्पादन भएको बाझेच्यानडाँडाका किसान संग्राम राईको भनाइ छ । उनी आफैंले २५ मन अलैंचीबाट ६ लाख २५ हजार रुपैयाँ लिएको बताए । अन्य गाउँकाले पनि त्यत्तिकै अनुपातमा अलैंची बिक्री गरेको राईले सुनाए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको टेम्मा, याम्खा, डाँडागाउँ, सप्तेश्वरछितापोखरी, छितापोखरीलगायत ठाउँमा पनि प्रशस्त अलैंची उत्पादन भएको छ । खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, सावाकटहरेमा पनि अलैंची उत्पादन भएको छ । जन्तेढुंगाको चिसापानीलगायत अन्य विभिन्न ठाउँमा पनि अलैंचीबाट राम्रो आम्दानी हुने गरेको किसानको भनाइ छ ।


प्रकाशित : माघ ६, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?