कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माग बढे पनि मह उत्पादन बर्सेनि घट्दै

वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादनमा कमी आएको हो

जाजरकोट/सल्यान — नलगाड नगरपालिका–४ कालाचिउराका केशवबहादुर रावलले गत वर्ष आठ क्विन्टल मह बिक्री गरे तर यस वर्ष उनले ४० किलो मह पनि बेच्न पाएनन् । अघिल्लो साल ३ लाख रुपैयाँको मह बिक्री गरेका नलगाड–२ कल्पतका सेते बुढाले यो वर्ष ५० हजार रुपैयाँ पनि कमाउन सकेनन् ।

माग बढे पनि मह उत्पादन बर्सेनि घट्दै

यो वर्ष मह उत्पादन झन्डै आधा घटेपछि जाजरकोट र सल्यानका किसानलाई जीविकोपार्जनको चिन्ताले सताएको छ । दुवै जिल्लामा अर्गानिक महको माग बढे पनि उत्पादन कम हुँदा किसानलाई परिवार पाल्न मुस्किल परेको हो । रावलले ६५ घार मौरी पालेका छन् । ‘यो वर्ष झन्डै चार गुणा उत्पादन घट्यो,’ उनले भने, ‘अब परिवार कसरी पाल्ने ?’ जिल्ला कृषि विकास कार्यालयका अनुसार जाजरकोटमा उनीजस्ता झन्डै पाँच सय मौरीपालक किसान छन् ।

जाजरकोटमा गत वर्ष करिब डेढ करोड रुपैयाँको मह उत्पादन भएको कार्यालयले जनाएको छ । अर्गानिक महको माग काठमाडौं, नेपालगन्ज, सुर्खेतलगायत सहरमा बढी छ । विभिन्न कारणले मौरी जोगाउनै समस्या भएको कल्पतका किसान सेते बुढाले बताए । गत वर्ष प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री भएको मह स्थानीयस्तरमै प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । जाजरकोटको अर्गानिक मह किन्न डोल्पा, जुम्ला, रुकुम, सुर्खेतलगायतका व्यापारी किसानको घरघर पुग्ने गरेका छन् ।

वन विनाश, अतिक्रमण, जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, समयमा चिउरी नफुल्नुलगायत कारण मह उत्पादन बर्सेनि घटिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख पीताम्बर बस्नेतले बताए । ‘उत्पादन घटे पनि माग र भाउ भने बढिरहेको छ,’ उनले भने, ‘उत्पादन घट्न थालेपछि किसान पलायन हुन थालेका छन् ।’ परियोजनाका अनुसार जिल्लाभरि करिब ६ हजार मौरीघार छन् । गत वर्ष २० टन मह उत्पादन भएकामा यस वर्ष पाँच टन मात्र उत्पादन भएको परियोजनाले जनाएको छ ।

झुसिलकिराले सतायो

एक दशकदेखि मौरीपालन व्यवसाय गरिरहेका सल्यानको कालीमाटी गाउँपालिका–३ झिगानेका लोकेन्द्रबहादुर ओलीले गत वर्ष १४ क्विन्टल मह उत्पादन गरे । ७ सय रुपैयाँ प्रतिकिलो बिक्री गर्दा उनको कमाइ ९ लाख ८० हजार रुपैयाँ भयो तर यो वर्ष दुई क्विन्टल मात्र मह उत्पादन भएको छ । गत वर्ष महबाटै ४ लाख रुपैयाँ कमाएका उनका छिमेकी वेदबहादुर ओलीले यो वर्ष एक क्विन्टल मात्र मह उत्पादन गरे । कालीमाटी गाउँपालिकाका सामुदायिक र राष्ट्रिय वनमा झुसिलकिराको प्रकोप बढेपछि आसपासका क्षेत्रमा मह उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । चिउरीका फूल फुल्न नपाउँदै किराले नष्ट गरेको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार मौरीपालनको पकेट क्षेत्र मानिएको कालीमाटीमा मह उत्पादन झन्डै आधा घटेको छ । गाउँपालिकामा मात्रै १ सय ५० किसानले व्यावसायिक मौरीपालन गरिरहेको उनले जानकारी दिए ।

मौरीका लागि चिउरीको फूल उत्तम आहारा मानिन्छ । मौरीलाई चरन क्षेत्रको अभाव भएपछि उत्पादनमा गिरावट आएको किसान लोकेन्द्रबहादुर ओलीले बताए । ‘यहाँका मौरीका लागि चिउरीको फूलको विकल्प छैन,’ उनले भने, ‘तर चिउरी नफुल्दै झुसिलकिराले नष्ट पारेपछि चरन क्षेत्रको अभाव भयो ।’ त्यसैले यस वर्ष उत्पादन घटेको उनको भनाइ छ । गत वर्ष चार क्विन्टल मह उत्पादन गरेका उनले यो वर्ष मुस्किलले एक क्विन्टल मात्र मह उत्पादन भएको गुनासो गरे ।

सल्यानमा गत वर्ष १२ टन मह उत्पादन भएको कृषि कार्यालयका सूचना अधिकारी बस्नेतले बताए । जिल्लाभरि झन्डै चार हजार किसान मौरीपालन व्यवसायमा आश्रित छन् । वनमा फैलिएको झुसिलकिराले मौरीपालन व्यवसाय नै संकटमा परेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीको भनाइ छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?