२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेपाल आउने पर्यटकमा भारत, म्यानमार र थाइल्यान्डका धेरै

पूर्वी एसियाबाट ३५ प्रतिशत पर्यटक आए
सुरज कुँवर

काठमाडौँ — सन् २०२० मा नेपालमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र अमेरिका गरी पाँच मुलुकका पर्यटक धेरै आएका छन् । भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७ र अमेरिकाबाट १७ हजार ७ सय ६७ जना विदेशी नेपाल प्रवेश गरेका हुन् ।

नेपाल आउने पर्यटकमा भारत, म्यानमार र थाइल्यान्डका धेरै

पर्यटन बोर्डको अनुसन्धान, योजना तथा अनुगमन विभागका अधिकृत कविन्द्र भट्टका अनुसार यो कोभिड संक्रमणअघि आएका पर्यटकहरूको संख्या हो । गत वर्ष नेपाल आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ रह्यो । बोर्डका अनुसार क्षेत्रअन्तर्गत सबैभन्दा बढी पूर्वी एसियाबाट ३५ प्रतिशत पर्यटक आएका छन् । यो क्षेत्रअन्तर्गत चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार, ताइवान र थाइल्यान्डलगायत मुलुक पर्छन् । त्यसैगरी दोस्रो स्थानमा सार्क क्षेत्र रहेको छ, जसअन्तर्गत २६ प्रतिशत पर्यटक आएको देखिन्छ ।

यसैगरी युरोपबाट १६ प्रतिशत, अमेरिका तथा क्यानडाबाट ९ प्रतिशत तथा अस्ट्रेलिया तथा न्युजिल्यान्डबाट ३ प्रतिशत पर्यटक आगमन भएको देखिन्छ । बाँकी अन्य मुलुकहरूबाट ९ प्रतिशत हाराहारी पर्यटक नेपाल आएका थिए । बोर्डका अनुसार सातवटा स्थल नाकाबाट २० प्रतिशत अर्थात् ४६ हजार ९ सय ५५ पर्यटक छिरेका थिए भने बाँकी ८० प्रतिशत अर्थात् १ लाख ८३ हजार १ सय ३० जना हवाईमार्गबाट आएका थिए । उक्त वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन ३४ वर्षयताकै न्यून भएको छ । गत वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको थियो । सन् २०१९ मा हवाई तथा भूमार्गबाट ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए ।

पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीका अनुसार लकडाउनपछिका ९ महिनामा ९ हजार ४ सय १७ जना विदेशी आएको रेकर्ड छ । सबैभन्दा कम अप्रिलमा १४ जना मात्रै गैरपर्यटक विदेशी नेपाल छिरेको अध्यागमन विभागको तथ्यांक छ । सीईओ रेग्मीले कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रले मासिक ७ अर्ब नोक्सानी व्यहोर्दै आएको बताए । ‘करिब डेढ खर्ब लगानी भएका ८ हजार २ सय ८५ वटा (वायुसेवा, होटल, रेस्टुरेन्ट, रिसोर्ट, टुर, ट्राभल, साहसिक खेल पर्यटनलगायत) क्षेत्र जोखिममा छन्,’ रेग्मीले भने ।

प्रकाशित : माघ २, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?