३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वर्षौं भयो, राजधानीकै सडक बनेनन्

पटकपटक ठेक्का समय थपिएर पनि काम अघि नबढेका सडकका कारण उपत्यकाबासीले सहज यात्रा गर्न पाएनन्
विमल खतिवडा

काठमाडौँ — त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक निर्माण थालेको पाँच वर्ष भयो । तर अझै निर्माण सकिएको छैन । त्रिपुरेश्वर खण्डको निर्माण सकिए पनि कलंकी–नागढुंगा खण्ड पूरा हुन सकेको छैन । यो सडकको म्याद तीन पटक थपिइसक्यो ।

वर्षौं भयो, राजधानीकै सडक बनेनन्

सडक निर्माण गरेर हस्तान्तरण नगर्दै विभिन्न खण्डका कालोपत्रमा क्य्राक (पिच बिग्रिनु) देखिएको छ । नौ किमि सडकखण्डमा करिब १० प्रतिशत क्य्राक देखिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

‘केही ठाउँमा क्य्राक देखिएको छ, त्यसमा ओभरले गर्नुपर्छ,’ आयोजनाका प्रवक्ता अशोक यादवले भने, ‘कालोपत्रमा क्य्राक देखिएका ठाउँमा निर्माण व्यवसायीलाई आफ्नै पैसाले ओभरले गर्न भनेका छौं ।’ त्यसपछि मात्र सडक फाइनल हुनेछ । एक वर्षअघि यो खण्डको भौतिक प्रगति ९० प्रतिशत थियो । अहिले पनि त्यति नै छ । कलंकी–नागढुंगा खण्ड निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको छ । शैलुङ नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । नौ किमि सडक पाँच वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन । उक्त खण्डको तीनतीन किलोमिटर गरेर ठेक्का गरिएको छ । दुई खण्डको ठेक्का शर्मा–शैलुङ–कान्छाराम जेभी र एक खण्डको लुम्बिनी–शैलुङ–साप जेभीले लिएका हुन् ।

‘तीन खण्डकै शैलुङले लिड गरेर काम गरिरहेको छ, अब त ठेक्का पनि पुरानो भइसकेको छ,’ उनले भने, ‘त्यति बेलै सम्पन्न गर्नुपर्ने हो, सडकपेटी बनाउनेलगायत काम नगरेर धेरै समय राखिदिँदा अहिले सडकमा समस्या देखिन थालेको हो ।’ सामान्यतया पाँच वर्षमा सडकको ओभरले गर्ने गरिन्छ । ‘सडक समयमै बनाएर हस्तान्तरण नगर्दा कालोपत्रमा समस्या देखियो,’ यादवले भने, ‘यो सडकको सबै काम जेठसम्म सक्नैपर्छ ।’ यो सडकखण्ड धेरै सवारी गुड्नेमध्ये पर्छ । दैनिक करिब १० हजार सवारी यो खण्डबाट ओहोरदोहोर गर्छन् । चार खण्ड (त्रिपुरेश्वर–कलंकी खण्डसहित) कै ठेक्का रकम १ अर्ब ५२ करोड ३२ लाख ५१ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

जोरपाटी–सुन्दरीजल सडकमा दुई वटा ठेक्कामार्फत काम भइरहेको छ । २०७३ असारमा सात किमि सडकको ठेक्का भएको हो । ‘अहिले प्रगति राम्रो छ, समग्रमा भौतिक प्रगति ५० प्रतिशत छ,’ यादवले भने, ‘स्थानीय तहबाट राम्रो सहयोग भएकाले काम अघि बढेको छ ।’ स्थानीयले समयमै सडकमा पर्ने घरटहरा नभत्काइदिँदा विस्तारको काम अघि बढ्न सकेको थिएन । यो पुरानो ठेक्का हो । ‘पुरानै ठेक्का सकिएका छैनन्, त्यसमा पनि नयाँ ठेक्का त भएकै छैन,’ उनले भने, ‘अहिले जेजस्तो उपलब्ध चौडाइ छ, त्यहीअनुसार सबै खण्डमा काम भइरहेको छ ।’

जेठ अन्तिमसम्म कालोपत्र गरेर सडक हन्तान्तरण गर्ने गरी काम भइरहेको यादवको दाबी छ । कहीँकतै बाधाअवरोध भए तत्काल त्यहाँ काम गरिने छैन । ‘१० मिटर चौडाइमा कालोपत्र गर्ने भनिए पनि अवरोध भए जति छ वा पाँच मिटर भए पनि गरिनेछ,’ उनले भने, ‘अब लामो समय ठेक्का राखेर क्रोनिक हुन दिन्नौं ।’ अर्को समस्याग्रस्त सडक हो– चाबहिल–जोरपाटी–वाग्मती–साँखु । यो सडक ठेक्का भएको लामो समय बित्यो । तर अझै निर्माण सम्पन्न भएको छैन । यो क्षेत्रमा स्थानीयले लामो समय हिलो र धूलोको सास्ती खेप्नुपर्‍यो । सास्ती अझै सकिएको छैन ।

यो सडकलार्ई चार खण्ड गरेर ठेक्का गरिएको प्रवक्ता यादवले जानकारी दिए । दुई खण्डको ७० र ८०, अर्को दुई खण्डको ६५ र ६८ प्रतिशत भौतिक प्रगति छ । ‘आगामी जेठसम्म यो सडकको काम सक्नैपर्छ,’ उनले भने, ‘कोरोनाको प्रभाव र ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण समयमै काम सक्न समस्या भएको हो ।’ अब पनि काम नसके पेनाल्टी लगाएर म्याद थप गरी काम लगाइने यादवको भनाइ छ ।

यो सडकखण्डको पनि पटकपटक म्याद थपिइसकेको छ । तर निर्माण व्यवसायीको अटेरीले गर्दा समयमै निर्माणको काम सम्पन्न हुन नसकेको उनले बताए । २०७३ जेठमा ठेक्का भएको लगनखेल–सातदोबाटो सडकको भौतिक प्रगति ९५ प्रतिशत छ । इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभू–लामाटार सडक निर्माण भने अन्तिम चरणमा छ ।

ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडकको तीन खण्डमा ठेक्का भएको छ । ‘सबैको औसतमा भौतिक प्रगति ५० प्रतिशत छ,’ यादवले भने, ‘लामो समय स्थानीयको अवरोधले गर्दा काम रोकिएको थियो, अहिले भइरहेको छ ।’

यता सडक डिभिजन काठमाडौंका प्रमुख कुवेर नेपाली भने पुराना ठेक्का अझै सम्पन्न नभएको बताउँछन् । ‘तर अहिले कामको गति बढेको छ,’ उनले भने, ‘बीचमा लकडाउन भयो, निर्माण सामग्रीको अभाव पनि यही बेला भयो ।’ उनका अनुसार अहिले पहिला जस्तो काम रोकिएर बसेका कुनै पनि सडक छैनन् । ‘धेरै उत्साहजनक त छैन, तर बिस्तारै काम भइरहेको छ,’ उनले भने, ‘काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई वार्निङ दिइरहेका छौं, पहिलाभन्दा केही प्रगति छ । तर उत्साह गर्ने अवस्था छैन ।’ अब पनि समयमै काम नसके नियमअनुसार कारबाही हुने उनको भनाइ छ ।

काठमाडौंको कपन क्षेत्रमा भने ठेक्का भएको लामो समय बित्दा पनि निर्माणको काम सकिएको छैन । यो खण्डमा प्रायः ठेक्का शैलुङ कन्स्ट्रक्सनले लिएको छ । कतै सडक बनाइसकेर नाली खन्न थालिएको छ । जसले गर्दा बनिसकेका सडक बिग्रिने र यात्रुलाई आवजावतमा समस्या हुने गरेको छ । कतै भने ठेक्का भए पनि अहिलेसम्म सडक निर्माणको काम नै सुरु भएको छैन ।

प्रकाशित : माघ २, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?