हिउँ खेल्न रारा

काठमाडौं, बुटवल, विराटनगर, भक्तपुर, पोखरा, भैरहवालगायत सहरबाट समूह बनाएर युवायुवती आइरहेका छन्
राजबहादुर शाही

मुगु — भारी हिमपात भएपछि हिउँ खेल्न विभिन्न ठाउँका पर्यटक रारामा आउन थालेका छन् । काठमाडौं, बुटवल, विराटनगर, भक्तपुर, पोखरा भैरहवालगायत सहरबाट हिउँ खेल्न रारा आउने पर्यटक बढेका हुन् ।

हिउँ खेल्न रारा

एक साताअघि रारामा भारी हिमपात भएको थियो । हिमपातका कारण रारा क्षेत्रमा झन्डै एक फिट हिउँ जमेको छ । रारा आएर पहिलोपल्ट हिउँमा रमाएको काठमाडौंकी गिता बोगटीले बताइन् । ‘हिउँकै कारण राराताल मनमोहक बनेको छ,’ उनले भनिन्, ‘सेता हिमाल र नीलो ताल हेर्दा दिन बितेको पत्तै हुँदैन ।’ बुटवलका युवराज पाण्डे पनि रारामा हिउँ खेलेर फर्किएका छन् ।

सहरी क्षेत्रबाट ८ देखि १२ जनाको समूह बनाएर युवायुवती रारामा हिउँ खेल्न आइरहेका छन् । हिउँ परेपछि पर्यटकीय चलहपहल फेरि बढ्न थालेको हुटुस्थित डाँफे गेस्ट हाउसका प्रबन्धक बलीराज शाहीको भनाइ छ । ‘आगन्तुक चरा, जताततै हिउँ र स्वच्छ नीलो तालका कारण रारा क्षेत्र सुन्दर र मनमोहक बनेको छ,’ उनले भने, ‘हिउँ बाक्लो परेकाले अझै कम्तीमा एक महिनासम्म पर्यटक हिउँ खेलेर रमाउन सक्छन् ।’

घुम्न आएका पर्यटकलाई चिसो हुन नदिन साँझको समयमा ‘क्याम्प फायर’ को व्यवस्था गरिएको उनले बताए । रारामा अहिले दैनिक ५० देखि १ सय जनासम्म पर्यटक आइरहेका छन् । अहिले सडकमार्गबाट भन्दा हवाई मार्गबाट पर्यटक बढी भित्रिरहेको शाहीले जानकारी दिए । ‘हिमपातका कारण सडकमा जोखिम बढेपछि पर्यटकले हवाइमार्ग रोजेका छन्,’ उनले भने, ‘हिउँ खेल्न आएका पर्यटक तीन दिनसम्म बसेर फर्किने गरेका छन् ।’

विभिन्न कम्पनीले प्याकेज कार्यक्रम ल्याएपछि आन्तरिक पर्यटक बढेको पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । उनका अनुसार रारा आउन नेपालगन्ज विमानस्थलबाट ५ हजार ५ सय र काठमाडौंबाट १२ हजार रुपैयाँ हवाई भाडा तोकिएको छ ।

भरिए चरा

चिसो छल्न युरोप, चीन, साइबेरिया, भारतलगायत देशबाट आएका चराले अहिले रारा क्षेत्र भरिएको छ । चराहरू वर्षेनि चिसो छल्न रारा आउने गरेका हुन् । कमकुट, बाटरफल्व, लिटिलक्रिट, टपटेक, ग्रिट, म्यासेन्जर, खोया हाँस, कर्‍याङकुरुङलगायत २० प्रजातिका चरा यो वर्ष रारा भित्रिएको रारा राष्ट्रिय निकुञ्जका रेन्जर सरोज खड्काले जानकारी दिए । उनका अनुसार रारा तालको पानी हिमपातका बेला पनि तातो हुने भएकाले वर्षेनि आगन्तुक चरा यहाँ आउने गरेका हुन् । ‘विदेशी र रैथाने चराले गर्दा रारा चरामय बनेको छ,’ उनले भने, ‘तालदेखि वनजंगल र आसपासका गाउँहरू चराले भरिएका छन् ।’

उनका अनुसार मिलिचौर, ठाकुरज्युला मन्दिर, ओखरबोट, निजारलगायत क्षेत्रसम्म रारा आएका चराहरू जाने गरेका छन् । रारामा अन्य फिरन्ते चराहरूभन्दा खोया हाँस बढी देखिएको उनले जानकारी दिए । रारामा चिसो छल्न हिमाली भेगका वन्यजन्तु पनि आउने गरेका छन् । ऋणीमोक्ष, छायानाथ, रोवा, सोभालगायत लेकबाट घोरल, मृग, कस्तुरीलगायत वन्यजन्तु रारा आसपासको वनमा आएको निकुञ्जले जनाएको छ ।

प्रकाशित : माघ २, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?