२०२० मा मनास्लुमा ३७४ मात्र विदेशी

हरिराम उप्रेती

गोरखा — सन् २०२० मा मनास्लु क्षेत्रमा ३ सय ७४ जना मात्र विदेशी पर्यटक पुगेका छन् । निषेधित क्षेत्र मनास्लुलाई सरकारले सन् १९९५ देखि भ्रमणका लागि खुला गरेको थियो । सन् २०२० मा सुरुवाती वर्ष सन् १९९६ मा भन्दा पनि कम पर्यटक आएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।

२०२० मा मनास्लुमा ३७४ मात्र विदेशी

भ्रमण सुरुवात भएको सन् १९९५ मा ३ सय ४४ र सन् १९९६ मा ३ सय ७८ ले मनास्लु भ्रमण गरेका थिए । त्यसयताको वर्ष यहाँ घुम्न आउनेको संख्या बर्सेनि बढ्दै आएको थियो ।

सन् २०१९ को एक वर्षको अवधिमा ७ हजार ५ सय ५५ विदेशी मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२० मा आठ हजार विदेशी मनास्लु आउने एमक्यापको अनुमान थियो । कोरोना महामारीका कारण अघिल्लो सन् २०१९ को तुलनामा २०२० मा मनास्लु आउनेको संख्या ९५.०५ प्रतिशत घटेको एमक्याप प्रमुख नरेन्द्र लामाले बताए । ‘भ्रमण वर्ष पनि घोषणा भएकाले पर्यटक बढ्छन् भन्ने अनुमान थियो,’ उनले भने, ‘तर भ्रमण खुला भएको सुरुवाती वर्षको संख्या र अहिलेको संख्या उस्तै छ ।’

द्वन्द्वको समयमा २००५ र २००६ मा पनि यहाँ आउने पर्यटकको संख्यामा कमी आएको थियो । २००५ मा ४ सय ९५ र २००६ मा ४ सय २५ विदेशी मनास्लु आएको एमक्यापको तथ्यांकमा छ । त्यसयताको सन् २०१८ मा सबैभन्दा बढी ७ हजार ६ सय ४० पर्यटक मनास्लु आएका थिए ।

सन् २०२० मा भने निकै न्यून संख्यामा पर्यटक आएको लामाले बताए । सन् २०२० को अप्रिलदेखि अगस्टसम्म एक जना पनि विदेशी मनास्लु पुगेनन् । सन् २०२० को जनवरीमा ४१, फेब्रुअरीमा ६९, मार्चमा २ सय ४०, सेप्टेम्बरमा १९, अक्टोबरमा दुई र नोभेम्बरमा तीन विदेशी मात्र मनास्लु आए । मार्च, अप्रिल र मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

कोरोना महामारीपछि पाँच महिनासम्म मनास्लु क्षेत्र जान रोक लगाइएको थियो । गत असोजबाट खुले पनि यहाँ आउने पर्यटकको संख्यामा सुधार नआएको लामाको भनाइ छ । भ्रमणको सिजन मानिने अक्टोबर र नोभेम्बरमा नगन्य मात्रामा पर्यटक आएका छन् । सार्क राष्ट्रका विदेशीले १ हजार र अन्य राष्ट्रका विदेशीलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

‘सोचेजसरी पर्यटक आएको भए २ करोडसम्म राजस्व उठ्थ्यो,’ उनले भने, ‘२०२० मा करिब ११ लाख मात्र राजस्व उठ्यो ।’ पर्यटक नआउँदा सबैभन्दा बढी होटल व्यवसायी समस्यामा परेको उनले बताए । मनास्लु क्षेत्रमा एक सय होटल पर्यटककै भरमा चलेका थिए । कोरोना महामारीका कारण व्यवसाय चौपट बनेको स्थानीय बताउँछन् ।

प्रकाशित : माघ २, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?