२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

सुन्तलाले पाएन बजार

कोरोना महामारीका कारण जिल्ला बाहिरका खरिदकर्ता आएनन्
विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका–९ कोटमौलाका भरतनाथ योगीले गत वर्ष ३४ लाख रुपैयाँको सुन्तला बिक्री गरे । पोहोरको यही समयमा उनको बारीमा उत्पादित आधाभन्दा बढी सुन्तला बिकिसकेका थिए । यो वर्ष भने उनले १ रुपैयाँको पनि सुन्तला बेचेका छैनन् । उनका छिमेकी अंगेश्वर डाँगीले पनि बोटबाट सुन्तला टिप्ने आँट गरेका छैनन् ।

सुन्तलाको पकेट क्षेत्र मानिने बाग्चौर नगरपालिका–८ र ९ कोटमौलामा उत्पादित सुन्तलाले यो वर्ष बजार पाएको छैन । कोरोना महामारीका कारण जिल्ला बाहिरका खरिदकर्ता नआएपछि किसानले सुन्तला नटिपेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार कोटमौलामा वर्षेनि झन्डै ५ करोड रुपैयाँको सुन्तला उत्पादन हुन्छ । यहाँका करिब पाँच सय किसान परिवार व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् ।

सुन्तला खरिद गर्न गत वर्षसम्म काठमाडौं, नेपालगन्ज, धनगढी, बुटबल, नारायणगढ, दाङलगायत जिल्लाका व्यापारी बारीमै पुग्ने गरेका थिए । ‘व्यापारी नै आएनन्,’ चार दशकदेखि व्यावसायिक सुन्तलाखेती गरिरहेका योगीले भने, ‘बजार अभावमा पाकेका सुन्तला बोटबाट झर्न थालेका छन् ।’ बजार र भाउ निश्चित नहुँदा सुन्तला टिप्ने आँट नगरेको उनको भनाइ छ । कोल्डस्टोरको अभावमा सुन्तला टिपेर भण्डारण गर्न समस्या भएको उनले गुनासो गरे । उनले ४७ रोपनी जग्गामा ९ सय ४२ सुन्तलाका बोट लगाएका छन् ।

डाँगीले पनि २८ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गरिरहेका छन् । एक साताभित्रै सुन्तला बिक्री नभए जीविकोपार्जनमा समस्या हुने उनले बताए । ‘गाउँमा सुन्तलाखेती नगर्ने घरै छैन,’ उनले भने, ‘गत वर्ष यही समयमा सबै सुन्तला बिक्री गरिसकेका थियौं, यो वर्ष टिप्नै समस्या भएको छ ।’ उनका अनुसार कोटमौलाका किसानले सुन्तला बिक्रीबाट ५ देखि १० लाख रुपैयाँ कमाउने गरेका छन् । यो वर्ष दुई जना मात्र खरिदकर्ता गाउँमा आए पनि भाउ नमिल्दा बिक्री गर्न नसकेको उनको भनाइ छ ।

किसानले स्थानीय बजारमा पनि सुन्तला बिक्री गर्न सकेका छैनन् । यो वर्ष प्रतिकिलो ५० रुपैयाँभन्दा माथि भाउ जान नसकेपछि सुन्तला टिप्न समस्या भएको अर्का किसान रेशम डाँगीले गुनासो गरे । उनले ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट सुन्तला लगाएका छन् । गत वर्ष मात्र उनले ९ लाख रुपैयाँ कमाएका थिए ।

सल्यानमा १ हजार ५ सय २० हेक्टरमा सुन्तला खेती गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । त्यसमध्ये ९ सय ८० हेक्टरमा सुन्तला फलिरहेको कार्यालयका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । उनका अनुसार जिल्लामा वार्षिक १० करोड रुपैयाँको सुन्तला उत्पादन हुन्छ ।

प्रकाशित : माघ २, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?