कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाइप बनाउन नसकेपछि तामाकोसीको डिजाइन संशोधन

ठेकेदार कम्पनीले समयमै पाइपमा राख्नुपर्ने एक्सपान्सर उत्पादन गर्न नसकेपछि यसको साटो कंक्रिट राख्ने गरी डिजाइन परिवर्तन गर्न लागिएको हो
विजय तिमल्सिना

काठमाडौँ — ठेकेदार कम्पनीले डिजाइनअनुसारको पाइप निर्माण गर्न नसकेपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको डिजाइनमा संशोधन हुने भएको छ । मुख्य सुरुङबाट टर्बाइनमा आउने पाइपमा राख्नुपर्ने एक्सपान्सर ज्वाइन्ट ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि यसको साटोमा कंक्रिट राख्ने गरी डिजाइन संशोधन गर्न लागिएको हो ।

पाइप बनाउन नसकेपछि तामाकोसीको डिजाइन संशोधन

आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले एक्सपान्सर ज्वाइन्ट निर्माण गर्ने जिम्मा लिए पनि हालसम्म उत्पादन गर्न सकेको छैन । टेक्सम्याको कम्पनीले भनेअनुसारको डिजाइनमा पाइप उत्पादन गर्न नसकेपछि आयोजनाको एक्सपान्सर ज्वाइन्ट पाइपको साटो कंक्रिट राख्न लागिएको आयोजनाले जनाएको छ ।

ठेकेदार कम्पनीलाई एक्सपान्सर ज्वाइन्ट निर्माण गर्न समय लाग्ने भएकाले आयोजनालाई चाँडै सम्पन्न गर्न डिजाइन संशोधन गर्न लागिएको आयोजनाका प्रबन्धक विज्ञान श्रेष्ठले जानकारी दिए । ‘ठेकेदारलाई कुर्दा आयोजना थप ६ महिना ढिला हुने भयो,’ उनले भने, ‘परामर्शदाता कम्पनीसँगको सल्लाहमा डिजाइन संशोधन गर्न लागिएको हो ।’ संशोधन गर्न लागिएको डिजाइन प्राविधिक हिसाबले सामान्य भएको र आयोजनाको सबै काम फागुन मसान्तसम्मा सकिने उनको दाबी छ ।

‘यो आधारभूत रूपमै डिजाइन परिवर्तन गरिएको होइन, यो पाइपको ज्वाइन्टको डिजाइन मात्रै संशोधन भएको हो,’ उनले भने, ‘ठेकेदारलाई कुर्दा ढिला हुने भएकाले वैकल्पिक उपायको खोजी गरिएको हो ।’ आयोजनाको प्राविधिक परामर्शदाता कम्पनीले पनि यसलाई स्वीकृत गरेकाले चाँडै काम सुरु हुने उनले बताए ।

टेक्सम्याकोले एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसकेपछि कम्पनीको भर नपरौं भनेर डिजाइन संशोधन गर्न लागिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अध्यक्ष तथा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । डिजाइन संशोधनका विषयमा आयोजना व्यवस्थापनले सञ्चालक समितिलाई जानकारी गराइसकेको उनले जनाए । डिजाइन संशोधन हुँदा लाग्ने खर्चका विषयमा पनि सञ्चालक समितिमा आयोजना व्यवस्थापनले पछि जानकारी दिने उनले बताए ।

एक्सपान्सन ज्वाइन्ट पाइप निर्माणका लागि पर्खिंदा आयोजना निर्माण अवधि लम्बिने भएकाले विकल्प खोजिएको शाक्यको भनाइ छ । डिजाइन संशोधन गरेर चैत मसान्तसम्ममा एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए । सुरुङबाट आएको पानीको बहावलाई टर्बाइनमा पठाउनुअघि बहाव नियन्त्रणका लागि एक्सपान्सन ज्वाइन्ट पाइप राख्न लागिएको थियो ।

४५६ मेगावाट उत्पादन क्षमता भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीको उत्पादन मिति पटकपटक संशोधन हुँदै आएको छ । २०७२ सालमा सक्ने लक्ष्य राखिए पनि निर्माणमा भएको ढिलाइले आयोजना तोकिएभन्दा पाँच वर्षपछि धकेलिएको हो । आयोजना व्यवस्थापन स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले आयोजना चाँडै सक्न दबाब दिएकाले डिजाइन संशोधन गरिएको हो । ‘सरकारले आफ्नो कार्याकालमा आयोजना सकाउन व्यवस्थापनलाई दबाब दिइरहेको छ,’ आयोजना व्यवस्थापन स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यालयमा आयोजनाको अनुगमनका लागि व्यक्ति नै तोकेर ताकेता भइरहेको छ ।’

आयोजनामा ढिलाइ हुँदा लागत पनि महँगिँदै गएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।

पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । ढिलाइकै करण निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधित अनुमान छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ । महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परिवर्तन, आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको हो ।

आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखाबासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।

प्रकाशित : पुस २९, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?