‘कोरोना प्रभावितलाई छुट्याइएको १ अर्ब खै ?’- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कोरोना प्रभावितलाई छुट्याइएको १ अर्ब खै ?’

कान्तिपुर संवाददाता

कास्की — गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा कोरोना भाइरसका कारण उथलपुथल बनेको पर्यटन, उद्योग क्षेत्र उकास्ने र रोजगारी गुमाएकालाई पुनःस्थापित गर्ने भनेर १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । गत असार १ मा आएको बजेट अहिलेसम्म कार्यान्वयन नभएको भन्दै सांसदले प्रदेश सभामा प्रश्न उठाएका छन् । 

आफैं प्रस्तावक रहने गरी दर्ता भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा सोमबार जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले भनिन्, ‘सरकारले समृद्ध प्रदेश बनाउने सपना देखायो । बेरोजगारीलाई रोजगारी दिने, कोरोनाबाट प्रभावित क्षेत्रलाई सम्बोधन गर्ने भन्यो । तर कार्यान्वयनमा जोड दिन सकेन ।’

जनताका अपेक्षा धेरै रहे पनि सरकारले जनताको भावना सम्बोधन नगरेको उनको आरोप छ । गुमेको रोजगारी पुनःस्थापना हुने गरी स्वरोजगारका कार्यक्रम ल्याउन उनले सरकारलाई अनुरोध गरिन् ।

यसैगरी समाजवादीकै हरिशरण आचार्यले सरकारले गण्डकीमा रहेका उद्योग, कलकारखाना मात्रै सञ्चालन गर्ने हो भने पनि कैयौं जनताको रोजीरोटी नखोसिने बताए । ‘सरकारले छुट्याएको १ अर्ब खै ? त्यही रकमबाट पनि व्यवस्थापन गर्न सकिन्छ,’ उनले प्रश्न गरे । रोजगारीको ग्यारेन्टीमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

अब पनि रोजगारी नपाउने र भोकमरी लाग्ने हो भने जनता सरकारविरुद्ध सडकमा आउनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।सरकारले बिनाधितो ऋण उपलब्ध गराउने आश्वासन बाँडे पनि कोरोना प्रभावितले त्यो सुविधा नपाएको कांग्रेसका प्रकाशचन्द्र दवाडीले बताए ।

प्रकाशित : पुस २९, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्

लन्डनमा कामबाट फर्किंदै गर्दा नेपाली सेफको हत्या

नवीन पोखरेल

लन्डन — लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति करिब साढे १० बजे लन्डन इस्टकोट रेल स्टेसन अगाडि झगडा हुँदा अन्दाजी ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

सामान्य भनाभनमा २१ वर्षीय एक युवाले कुटपिट गरेपछि उनको घटनास्थलमै निधन भएको तिमल्सेनाले बताए । प्रहरीले ती युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

लन्डनस्थित सोसल ढाबा नामक रेस्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण खुल्न सकेको छैन ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेसनतिर निस्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसँग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’ स्टेसनबाट केसीको घर करिब दुई मिनेट दूरीमा छ ।

एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् । ‘उनी ज्यादै मिजासिला, अरुको आदर गर्ने र मिहेनती थिए’, तिमल्सेनाले सम्झिए, ‘आफैले रेखदेख गरेको छिमेकी भाइको दु:खद घट्नाले मर्माहत बनाएको छ ।’

स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । इण्डो चाइनिज खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किडलगायत लन्डनका कैयौं रेस्टुरेन्टमा काम गरेका थिए ।

काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बस्थे ।

प्रकाशित : पुस २९, २०७७ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×