१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स !

विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड नै परिवर्तन गर्ने तयारी गरेको हो
विमल खतिवडा

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । कतिपय अवस्थामा बिचौलियामार्फत लाइसेन्स लिँदा नक्कलीसमेत पर्ने गरेको भेटिने गरेको छ ।

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स !

यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

‘हामीले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न खोजेका हौं,’ उनले भने, ‘सहजीकरण नगर्दा सर्वसाधारणले धेरै दु:ख पाए, जसले गर्दा सिस्टममा सधैं दबाब परिरह्यो ।’ उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका विकृति देखापरेको भन्दै फागुनमा लागू गर्ने गरी काम भइरहेको छ । ‘केही गरी फागुनमा रोकिए पनि चैतभित्र लागू भइछाड्छ,’ उनले भने, ‘विकृतिलाई हटाउन र नागरिकलाई सहज ढंगले लाइसेन्स पाउने व्यवस्था गर्न लिखित र ट्रायललाई सहज बनाउन खोजेका हौं ।’

उनका अनुसार लिखितमा एक हजार वटा प्रश्नोत्तर समेटिएको पुस्तक तयार गरिनेछ । जुन अनलाइन माध्यम र पुस्तक पसलमा पाइनेछ । ‘लिखित परीक्षामा सोही पुस्तकबाट मात्र प्रश्न सोधिनेछ,’ उनले भने, ‘यसो गर्दा सबै जना पास हुने भए, सबै प्रश्न र उत्तर पढिसकेपछि परीक्षार्थीले ट्राफिक नियमबारे पनि राम्रोसँग थाहा पाउँछ ।’

ट्रायलमा पनि विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कुनै एउटामा छुस्स छुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन समस्या हुने छैन । ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्बर आयो भने ऊ पास हुनेछ,’ उनले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ । मापदण्डले लाइसेन्समा मौलाएको बिचौलिया प्रवृत्ति कम गर्ने विभागको दाबी छ । ‘मापदण्डअनुसार जोकोही एकपटक पास नभए पनि अर्को परीक्षा दिँदा पास हुन्छ,’ उनले भने, ‘नागरिकले सहज रूपमा सेवा पाउँछन्, त्यसैले हामीले मापदण्ड बनाएका हौं ।’ मापदण्डबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भइसकेको छ ।

यसमा सम्बद्ध केही कार्यालयलाई पहिले प्रशिक्षण गरिने हमालले जानकारी दिए । केही समय कसरी जाँच लिने भन्नेबारे कर्मचारीलाई प्रशिक्षण दिइने उनको भनाइ छ । सबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ । ‘यत्रो मिहिनेत गर्दा पनि लाइसेन्स बनेन, लिखित पास भए पनि ट्रायलमा फेल भइयो भन्ने गुनासा धेरै आउँछन्,’ उनले भने, ‘यसको फाइदा बिचौलियाले उठाइरहेका छन्, मापदण्ड लागू भएपछि सबै समस्या हट्छ ।’ यातायातसँग सम्बन्धित विज्ञको सुझाव समेटेर मापदण्ड बनाइएको उनले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?