सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्यो

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले  बढेको छ ।

सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित : पुस २८, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

सेवासुविधा दिने निर्णयपछि पीसीआर ल्याबका कर्मचारी काममा फर्के

माधव अर्याल

पाल्पा — पाल्पा अस्पताल विकास समितिको बैठकले पाल्पा अस्पताल अन्तर्गत सञ्चालित पीसीआर प्रयोगशाला (ल्याब) का कर्मचारीलाई तोकिए बमोजिम सेवा सुविधा दिने भएको छ । तोकिए बमोजिम सेवा सुविधा नपाएपछि कोभिड १९ परीक्षण प्रयोगशालाका सबै कर्मचारीले आइतबारबाट काम रोकेका थिए ।

पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरका अनुसार तोकिएको सेवा सुविधा दिने सहमति भएको छ । समितिको बैठकले तोकिए अनुसारको सेवासुविधा दिने निर्णय भएकाले कर्मचारी काममा फर्केको उनले बताए । प्रयोगशालाका सबै कर्मचारीले आइतबार पाल्पा अस्पतालका प्रमुखलाई ध्यानाकर्षण गराएर प्रयोगशालाका सम्पूर्ण सेवा बन्द गरेका थिए ।

उनीहरुले जिल्ला प्रशासन र तानसेन नगरपालिकालाई बोधार्थ दिएका थिए । प्रयोगशाला सुरु भएदेखिकै जोखिम भत्ता नपाएको बताएका छन् । प्रयोगशाला इन्चार्ज खिमध्वज कार्कीले पाल्पा अस्पताल विकाससमितिको बैठकले अतिरिक्त समयमा काम गरेको र जोखिम भत्ता दुवै मंगलबार खातामा राखिदिने मौखिक जानकारी आएको बताए । ‘खातामा पैसा आयो भने काम गर्नेछौं,’ उनले भने, ‘यदि आएन भने हामी काम गर्न असमर्थ हुने छौं ।’

करारमा लेखेको र दिने भन्ने सहमति अनुसार आफूहरुले सेवासुविधा नपाएको कार्कीले गुनासो गरे । पुस १६ गते आफ्ना मागबारे जानकारी गराएका थिए । त्यसको १० दिनसम्म पनि मागहरुको कुनै सुनुवाई नभएकाले आइतबारदेखि काम रोकेका हुन् । प्रयोगशाला गत असोज २१ गतेबाट सुरु भएको हो । स्थापना भएपछिकै अहिलेसम्म जोखिम भत्ता पाल्पा अस्पतालले दिएको छैन । शतप्रतिशत जोखिम भत्ता दिने गरी कर्मचारी भर्ना गरेको थियो । अतिरिक्त समय काम गरेको र जोखिम भत्ता कुनै पनि पाएका थिएनन् । प्रयोगशाला दुई नगरपालिका र आठ गाउँपालिकाले सहयोग दिएर सञ्चालन गर्ने गरी सुरु भएको हो । अहिलेसम्म ३ हजार ५ सय बढीको पिसिआर परीक्षण भइसकेको छ । २ हजार शुल्क तिरेरसमेत यहाँ परीक्षणको व्यवस्था छ ।

प्रकाशित : पुस २८, २०७७ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×