धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — धितोपत्र व्यवसायीले वार्षिक खुद नाफाको न्यूनतम १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सोमबार उक्त निर्देशन दिएको हो ।

उक्त रकम लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने काममा उपयोग गर्न पनि बोर्डले भनेको छ । यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले जस्तै धितोपत्र व्यवसायीले पनि खुद रकमको १ प्रतिशत सीएसआरमा छुट्याउनुपर्नेछ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

‘खुद नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआर कोषमा छुट्टयाउने र प्रमुख रूपमा उक्त कोषमार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कामका लागि खर्च गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रकमबाट बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भएकाले लगानीकर्तालाई सुसूचित निर्णय लिन सहयोग पुग्छ ।’ जसबाट लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको दाबी छ ।

प्रकाशित : पुस २८, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्

पुनर्कर्जाका लागि फेरि आवेदन आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्थालाई एकमुस्ट रूपमा दिने पुनर्कर्जाका लागि राष्ट्र बैंकले दोस्रो चरणको आवेदन आह्वान गरेको छ । पहिलो चरणमा प्राप्त आवेदन स्वीकृत गरिसकेपछि दोस्रो चरणका लागि आवेदन आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसअनुसार बैंक तथा वित्तीय संस्थाले आउँदो माघ १६ भित्र आवेदन संकलन गरी राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । दोस्रो चरणमा थप ९८ अर्ब ५० करोड रुपैयाँका लागि आवेदन मागिएको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘लघुवित्त वित्तीय संस्थालाई एकमुस्ट रूपमा दिने भनिएको १० प्रतिशत रकमका लागि पनि आवेदन आह्वान भएको छ,’ उनले भने, ‘लघुवित्तलाई करिब २१ अर्ब २५ करोड रुपैयाँ प्रदान गरिनेछ ।’

हालसम्म ४० हजार ९ सय ८३ जना ऋणीलाई ५० अर्ब ७ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई एकमुस्ट रूपमा रकम दिइसकेको छ । यस्तै राष्ट्र बैंकले सिधै प्रवाह गर्ने २० प्रतिशत पुनर्कर्जामध्ये हालसम्म २ सय २१ ऋणीलाई ३२ अर्ब ६४ करोड २० करोड रुपैयाँ प्रदान गरिएको छ ।

दोस्रो चरणमा बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थालाई पुनर्कर्जा प्रवाह गरेपछि यो वर्षको सीमा पूरा हुने ढकालले बताए । हाल पुनर्कर्जा कोषमा रहेको रकमको ५ गुणासम्म पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था कार्यविधिमा छ । सो व्यवस्थाअनुसार राष्ट्र बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ बराबरको पुनर्कर्जा प्रवाह गर्न पाउँछ । हाल कोषमा करिब ४२ अर्ब रुपैयाँ छ ।

प्रकाशित : पुस २८, २०७७ ०६:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×