सेबोनको हस्तक्षेपले नेप्सेले तथ्यांक बेच्न पाएन

तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले कार्यविधि लागू गर्न सकेन
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हस्तक्षेप गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथ्यांक उपयोग (बिक्री) सम्बन्धी कार्यविधि लागू गर्नबाट पछि हटेको छ । तथ्यांक प्रयोगकर्ताबाट मनपरी शुल्क उठाउन लागेको भन्दै सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले कार्यविधि लागू गर्न नसकेको हो ।

सेबोनको हस्तक्षेपले नेप्सेले तथ्यांक बेच्न पाएन

योसँगै तत्कालका लागि सेवाग्राहीले नेप्सेको तथ्यांक उपयोगबापतको शुल्क तिर्नु नपर्ने भएको छ ।नेप्सेले यही पुस १० मा सूचना जारी गरी ‘नेप्सेको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि २०७७’ लागू भएको जानकारी गराएको थियो । कार्यविधिमा नेप्सेको तथ्यांक उपयोग/प्रयोग गर्न निश्चित मापदण्डसहित आवेदन दिनुपर्ने र तथ्यांक उपयोग गरेबापत शुल्क तिर्नुपर्ने प्रवाधान छ ।

तथ्यांक उपयोगका आधारमा इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले नेप्सेको तथ्यांक प्रयोग गर्न पाउनेछन् । त्यसका लागि नेप्सेलाई मासिक रूपमा शुल्क तिर्नुपर्नेछ । संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजनअनुसार नेप्सेले बेग्लाबेग्लै शुल्क निर्धारण गरेको छ । फरकफरक प्रयोजनका लागि प्रयोगकर्ताले मासिक १ सयदेखि १ लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।

नेप्सेले सेवाग्राहीबाट मनपरी तथ्यांक असुल्न लागेपछि स्पष्टीकरण सोधिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताए । ‘नियामक निकायको अनुमति नलिई नेप्सेले शुल्क तोक्न पाउँदैन,’ उनले भने, ‘के कारणले शुल्क तोकिएको हो, त्यस विषयमा स्पष्टीकरण सोधिएको हो ।’ स्पष्टीकरणमा शुल्क नतोक्नु भनेर हस्तक्षेप गरेको नभई किन त्यति धेरै शुल्क तोकिएको र नियामक निकायलाई जानकारी दिइएन भन्ने विषयको जवाफ मागिएको उनले बताए । ‘नेप्सेले धितोपत्र बोर्डको सिफारिसमा मात्रै कुनै विषयमा शुल्क तोक्न पाउँछ,’ उनले भने, ‘मनपरी शुल्क तोक्ने अधिकार उसलाई छैन ।’

सेबोनले स्पष्टीकरण सोधेपछि नेप्सेले अझै कार्यविधि लागू गर्न सकेको छैन । सूचनामा पुस १ देखि कार्यविधि लागू भएको जानकारी गराइएको थियो । तथ्यांक उपयोग गर्न चाहने सेवाग्राहीले कार्यविधिमा उल्लिखित व्यवस्थाअनुसार आवेदन दिन सूचनामा आग्रह गरिएको थियो । सोही आधारमा आवेदन दिन केही सेवाग्राही नेप्सेमा आएका पनि थिए । तर नेप्सेले आफ्नै सञ्चालक समितिको निर्णयविपरीत कार्यविधि लागू गर्न सकेको छैन । यसअघि वेबसाइटमा राखिएको सूचना र कार्यविधि पनि अहिले हटाइएको छ ।

कार्यविधि लागू गर्ने सम्बन्धमा के भइरहेको छ भन्ने जिज्ञासामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रप्रकाश साउदले भने, ‘सुझावका लागि कार्यविधि धितोपत्र बोर्ड पठाएका छौं । सेयर लगानीकर्ता र ब्रोकरसँग सम्बद्धबाहेक विषयमा निर्णय गर्दा बोर्डको राय लिनुपर्ने व्यवस्था त छैन । तर पनि पठाएका छौं ।’

स्रोतका अनुसार यो विषय सेबोन र नेप्सेबीचको जुँगाको लडाइँ हो । समयसमयमा सेबोनले नेप्सेका क्रियाकलापमाथि ‘माइक्रो म्यानेजमेन्ट’ गरेको आरोप लाग्दै आएको छ । यो पनि त्यसकै परिणाम भएको स्रोतको दाबी छ । ‘नेप्सेले पनि मनपरी महँगो शुल्क तोक्नु हुँदैनथ्यो, औचित्यका आधारमा शुल्क तोकिनुपर्थ्यो,’ स्रोतले भन्यो, ‘नेप्सेले मनपरी गर्न थाल्यो अनि सेबोनले मौका पाइहाल्यो ।’

यही मौकामा नेप्सेले तयार पारेको सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीसम्बन्धी कार्यविधि पनि सेबोनले झिकाएको छ । सो कार्यविधि पनि सेबोनलाई पठाउनुपर्ने बाध्यात्मक व्यवस्था छैन । कार्यविधिमा सबै ब्रोकरले एउटै कम्पनीबाट खरिद गर्न नपाउनेलगायत व्यवस्था गरिएको छ । ती व्यवस्थामा सेबोनलाई सुरुदेखि नै चित्त बुझेको थिएन । सोही कारण कार्यविधि लागू गर्नुपूर्व हस्तक्षेप गरेको स्रोतको दाबी छ ।

हाल इन्भेस्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यम, व्यापारिक, शैक्षिक तथा अनुसन्धानात्मक संस्थालगायतले निःशुल्क रूपमा नेप्सेको तथ्यांक प्रयोग गर्दै आएका छन् । एकै पटक धेरै ठाउँबाट ‘सर्च’ गर्दा नेप्सेको वेबसाइटमा पनि पटकपटक समस्या आउने गरेको छ । ती समस्या नियन्त्रणका लागि पनि तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि जारी गरिएको नेप्सेको दाबी छ ।

प्रकाशित : पुस २७, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?