२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

क्लिन फिड लागू भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन्

काठमाडौँ — नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो ।

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न चेतावनी

यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन पाउँदैनन् । ऐनमा विदेशी टेलिभिजन च्यानललाई विज्ञापनरहित प्रसारण गर्न अनुगमन गर्न र नेपाली विज्ञापनको नियमन गर्न विज्ञापन बोर्ड स्थापना गर्ने उल्लेख छ । ऐनमा उल्लेख भएअनुसार सरकारले कात्तिक ७ अघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव दिल्ली शर्माको अध्यक्षमा विज्ञापन बोर्ड गठन गरिसकेको छ ।

बोर्डमा प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त नहुन्जेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिन सकिने प्रावधान विज्ञापन नियमावली २०७७ मा उल्लेख छ । ‘नेपालमा प्रसारण हुने विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने र विदेशी विज्ञापनलाई नेपाली सञ्चार माध्यममा प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानुनी व्यवस्था छ,’ विज्ञापन बोर्डले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘उक्त कानुनी व्यवस्थाविपरीत यदाकता प्रसारण भइरहेको भन्ने गुनासो सुनिएकाले कानुनी व्यवस्थाविपरीत प्रसारण नगर्न नगराउन सम्बद्ध सबैमा ध्यानाकर्षण गराइसकेको छ ।’

सरकारले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भए नभएको विषयमा अनुगमन गर्न सूचना तथा प्रसारण विभागअन्तर्गत अनुगमन समिति गठन गरेको छ । विभागका तीन जना कर्मचारी खटाएर विदेशी च्यानलको अनुगमन गरिए पनि प्रभावकारी नभएको केबल व्यवसायीहरू बताउँछन् । विज्ञापनरहित नीति लागू भएसँगै नेपालमा प्रसारण भइरहेका कतिपय टेलिभिजन च्यानलको प्रसारण बन्द भएको छ । कतिपयले भने बेलाबेला विज्ञापन बजाउने गरेको गुनासो उपभोक्ताको छ ।

ऐनमा विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी नेपाली सञ्चार माध्यममा प्रसारण गर्न नपाइने व्यवस्था भए पनि अझै पनि केही विज्ञापन डबिङ गरी बज्ने गरेको गुनासो आएपछि बोर्डले सूचना निकालेरै सचेत गराएको हो । सरकारले नेपाली विज्ञापन बजारको आकार बढ्ने र नेपाली कलाकारका लागि रोजगारी सिर्जना हुने भन्दै विदेशी टेलिभिजनमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने गरी कानुन ल्याएको थियो ।


प्रकाशित : पुस २७, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?