१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जयसपुरमा आईसीपी निर्माणको काम तीव्र

दुई मुलुकका अधिकारी सम्मिलित बैठकले दुई वर्षभित्रै काम सक्ने प्रतिबद्धता जनाएपछि निर्माणले तीव्रता पाएको हो

नेपालगन्ज — नेपालगन्जको जयसपुरमा निर्माणाधीन एकीकृत सुरक्षा जाँच (आईसीपी) निर्माणको कामले तीव्रता पाएको छ । पछिल्लो समय दुई मुलुकका अधिकारीको जुम बैठकमा दुई वर्षभित्रै काम गरिसक्ने प्रतिबद्धता जनाएपछि निर्माणको कामले तीव्रता पाएको हो ।

आईसीपीको भवन निर्माणका लागि जग खन्ने र माटो पटानको काम धमाधम भइरहेको छ । सवारी साधन आउजाउ सहजताका लागि ६ लेनको सडक विस्तारको काम अगाडि बढेको हो । उक्त आयोजना ढेड दशकअघि नै सुरु गरिएको थियो । तर भारतीय पक्षले चासो नदिँदा निर्माणको काम अलपत्र पर्दै आएको थियो ।

आईसीपी निर्माणका लागि पछिल्लो समय मन्त्रालयले निकै चासोका साथ हेरिरहेको सहरी तथा भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए । मन्त्रालयको निर्देशनअनुसार निर्माणका लागि भारतबाट आउने सामग्री र सवारी साधनको भन्सार छुट गराएको उनको भनाइ छ । ‘मन्त्रालयबाट दैनिकजसो निर्माणको काम के भयो भनेर चासो व्यक्त भइरहेको छ । यसले पनि निर्माणको कामले गति पाएको हो,’ उनले भने, ‘हामीले समन्वय मात्रै गर्ने हो । ठेक्का भारतीय पक्षबाटै भयो । काम पनि उतैबाट भइरहेको छ ।’

कोरोनाको महामारीमा भौतिक उपस्थिति हुन नसकेपछि नेपालका सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्यमन्त्री पियूष गोयलले जुममार्फत औपचारिक रूपमा काम सुरु भएको घोषणा गरेका थिए । समयमै काम पूरा भए बाँकेले दुई वर्षभित्रै आईसीपी पाउनेछ । उक्त आयोजनाका लागि भारतले १ अर्ब ४७ करोड लगानी गर्नेछ । नेपालले ८७ बिघा र भारतले पनि त्यति नै जग्गा नेपाल भारत सीमामा अधिग्रहण गरी छुट्याएका छन् ।

आईसीपीमा प्रवेशका लागि ६० मिटर चौडाइको २ हजार २ सय मिटर सडक विस्तारको काम अन्तिम चरणमा छ । उक्त पहुँच राजमार्ग ६४ मिटर चौडा छ । दुई वर्षमा निर्माण गरी उक्त आयोजनालाई भारतले नेपाललाई हस्तान्तरण गर्नेछ । नेपालगन्ज नाकामा आईसीपी निर्माणका लागि भारतीय पक्षले नेपाल–भारत सीमा जयसपुर क्षेत्रमा काँडे तारबार गरेको थियो । त्यसबाहेक नेपालका तर्फबाट आईपीसी निर्माण स्थल सुरक्षाका लागि प्रहरी निरीक्षकको कमान्डमा ६० जना सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । आईपीसीसम्म पुग्न रेलवे सेवा विस्तार गरिने लक्ष्य छ ।

भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिक मानिने नेपालको नेपालगन्जमा सुक्खा बन्दरगाह आवश्यक रहेको भन्दै जयसपुरलाई रोजिएको हो । बन्दरगाह सञ्चालन भए भारतबाट विभिन्न सामग्री नेपालमा सहजै आयात हुने र नेपालका जडीबुटीलगायत उत्पादन भारतमा निकासी गर्न पनि सरल हुने जनाइएको छ । हाल आईसीपी नहुँदा नेपालगन्ज भन्सारदेखि नेपालगन्जसम्म १० स्थानमा हुने सुरक्षा जाँचले सर्वसाधारण र व्यवसायी हैरान हुने गरेका छन् ।

प्रकाशित : पुस २७, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?