१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उखुको बीउ पनि दिँदैन भारत

नयाँदिल्ली — आफूले रगत–पसिना बगाएर उब्जाएको उखुको पैसा नपाएर नेपाली किसान लामो समयदेखि आकुलव्याकुल छन् । सरकारलाई पैसा दिलाउन दबाब दिन उनीहरूले करिब एक महिना काठमाडौंको जाडोमा सडकमै बसेर आन्दोलन गरे ।

उखुको बीउ पनि दिँदैन भारत

त्यसबीचमा आन्दोलनमा सक्रिय एक किसानको हृदयघातका कारण मृत्युसमेत भयो । चौतर्फी दबाबपछि सरकारले उनीहरूसँग एक महिनाभित्र चिनी मिलहरूबाट रकम असुल गराइदिने सम्झौता गर्‍यो । त्यसपछि पैसा पाइने आशमा किसान यति बेला आआफ्नो गाउँ फर्किएका छन् ।

किसानले आफ्नो उत्पादनका लागि यस किसिमको सास्ती भोग्नुपरेको यो पहिलो पटक होइन । हरेक वर्ष यही व्यथा दोहोरिँदै आएको छ । दबाबपछि केही मिलले भुक्तानी गर्छन् त केहीले अटेर गर्दै आएका छन् । जसले गर्दा उखु किसान र चिनी मिलबीचको अविश्वासको खाडल बर्सेनि फराकिलो बन्दै गएको छ । मध्य तराईको प्रमुख नगदे बाली उखु खेती गर्ने किसान र चिनी मिलबीचको यो अविश्वासका पछाडिका प्रमुख कारण चिनी मिल सञ्चालकले समयमै भुक्तानीका अलावा उखुको उन्नत बीउ अभाव र त्यसका कारण चिनी मिलहरूको रिकभरी दर कम हुनु पनि रहेको देखिन्छ ।

बाराको जितपुरस्थित राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमका अनुसार पनि नेपालमा चिनी मिलहरूको रिकभरी दर ९ प्रतिशत पनि छैन । सँगै उत्पादकत्वका हिसाबले पनि नेपाल अन्य मुलुकभन्दा निकै पछि छ । नेपालको उखुको उत्पादकत्व दर प्रतिहेक्टर करिब ४६ टन छ, जब कि भारतमा त्यो ७१ प्रतिशतभन्दा बढी छ । नेपालमा किसानले करिब दुई दशकअघि सिफारिस गरिएका करिब डेढ दर्जन जातका उखु लगाउँछन् ।

पुराना बीउ भएकाले बालीमा किरा र रोगको प्रकोप खेप्नुपरेको छ । त्यसै पनि अन्य मुलुकको तुलनामा नेपालको उत्पादकत्व दर निकै कम छ । नेपाल चिनी मिल संघका अध्यक्ष शशिकान्त अग्रवाल पनि उखु मिल र किसानबीच अविश्वास बढ्नुमा उखुको रिकभरी दर न्यून हुनु प्रमुख कारण रहेको बताउँछन् । ‘हो, केही नियत खराब भएका पनि छन् । तर पुरानो बीउ भएका कारण एक त उत्पादकत्व कम छ, त्यसमाथि उखुको रिकभरी नै कम भएका कारण पनि समस्या चर्किएको हो,’ उनले भने ।

कृषि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुई दशकअघिसम्म भारतमा नयाँ जातको सफल परीक्षण हुनासाथ नेपाल जितपुर अनुसन्धान केन्द्रमा उखुको नयाँ जातको बीउ (जमप्लाज्म) स्वतः पठाइन्थ्यो । त्यसले गर्दा नेपाली किसानले पनि भारतमै लगाइने उन्नत बीउ पाउँथे । तर भारतले पछि पठाउन बन्द गर्‍यो । जसले गर्दा नेपााली किसानले पुरानै जातमा भर पर्ने बाध्यता छ । यसबीचमा कार्यालयका वैज्ञानिकहरूले भारतबाट उन्नत जातको नयाँको बीउ ल्याउन प्रयास नगरेका होइनन् । तर भारतको असहयोग र नेपाल सरकारले नै चासो नदेखाउँदा उनीहरूको प्रयास सफल भएन ।

भारतबाट उन्नत जातको बीउ ल्याउन नेपाल सरकार आफैंले पनि विगत धेरै वर्षदेखि पहल गर्दै आएको छ । जसअन्तर्गत सरकारी स्तरबाटै भारतसमक्ष अनुरोध गरिएको तर भारतले त्यसलाई बेवास्ता गर्दै आएको सरकारी अधिकारीहरूको भनाइ छ । पाँच वर्षदेखि भारतलाई उन्नत जातको जमप्लाज्म उपलब्ध गराउन औपचारिक रूपमै अनुरोध गरिँदै आएको कृषि मन्त्रालयका एक अधिकारी बताउँछन् । यस विषयमा कृषिसम्बन्धी प्रत्येकजसो द्विपक्षीय बैठकमा छलफल पनि हुँदै आएको छ ।

ती बैठकमा भारतीय पक्षले नेपालको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताउने गरेको छ । तर अन्तिम सहमति गर्न भने टार्दै आएको ती अधिकारीको भनाइ छ । ‘अनुरोध गर्दागर्दा हैरान भइसक्यौं, प्रस्ट रूपमा सकिँदैन भनिदिए हुने,’ ती अधिकारीले भने । करिब एक महिनाअघि सम्पन्न सहसचिवस्तरीय भर्चुअल बैठकमा पनि नेपाली पक्षले यो विषय उठाएको थियो । भारतीय अधिकारीले पहिले जस्तै आफूहरू सकारात्मक रहेको जवाफ दिएर टारेका थिए ।

त्यसैगरी अघिल्लो महिना काठमाडौंमा भएको नेपाल–भारत विदेश सचिवस्तरीय बैठकमा समेत यो विषयलाई विविधअन्तर्गत राखिएको थियो तर छलफल भने भएन । २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनदेखि अनुसन्धान, प्रविधि हस्तान्तरण गर्नेलगायत उद्देश्य राखेर नयाँ समझदारी नै गरिएको थियो । उक्त भ्रमणलगत्तै २०७६ भदौमा काठमाडौंमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यसमूहको बैठकमा पनि नेपालले उखुको विषयलाई विशेष जोडका साथ उठाएको थियो । त्यसयता दुई देशबीचका उच्चअधिकारीहरूको बैठक हुँदै आएको छ । नेपालले हरेकजसो बैठकमा उखुको नयाँ बीउको विषयलाई उठाउँदै आएको छ । भारतले भने आलटाल गर्दै आएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

भारतले बेवास्ता गर्नुका पछाडि कृषि मन्त्रालयको कमजोरी पनि रहेको परराष्ट्रका अधिकारीहरूको भनाइ छ । मन्त्रालयले बैठक सकिएपछि भारतीय पक्षसँग भएको छलफलका सम्बन्ध फलोअप नगर्ने र फेरि एकै पटक बैठकमा मात्र कुरा उठाउने गरेका कारण यस विषयमा भारतले बेवास्ता गरेको उनीहरूको तर्क छ । हालै मात्र मन्त्रालयका सचिवको कार्यभार सम्हालेका योगेन्द्रकुमार कार्की भने आफूले यो विषयलाई विस्तृत अध्ययन गर्न बाँकी रहेको भन्दै पन्छिए । ‘यो विषयलाई विस्तृत अध्ययन गरेपछि मात्र भन्न सक्छु । तर सुनेअनुसार उनीहरूले सकारात्मक छौं भन्दै आएका छन् । आशा गरौं, चाँडै यसमा सहमति हुनेछ,’ कार्कीले भने ।

प्रकाशित : पुस २६, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?