३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बन्द हुँदै साना उद्योग

केही वर्ष चले पनि अब उद्योग चल्छन् या चल्दैनन् भन्ने आशंकामा उद्योगी
हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिका–४ काँडास्थित अल्लो उद्योगमा तयारी पोसाक छन् । पोसाकका लागि कपडा पनि तयारी छ । उद्योगले ग्राहक कुरेर बसेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१४ जामाबागरका अल्लो उद्योगी पनि ग्राहकको पर्खाइमा छन् । लामो समयदेखि तयारी पोसाक तथा अरू सामग्री उद्योगमा झुन्डिएका छन् ।

बन्द हुँदै साना उद्योग

तयारी कपडा र्‍याकमा थन्किएका छन् । उद्योगीको उत्साह घट्दै गएको छ । स्थानीय स्तरमै पाइने अल्लो प्रशोधन गरेर आम्दानी गर्न स्थापना गरिएका उद्योग केही वर्ष चले पनि अब भने उद्योग चल्छन् या चल्दैनन् भन्ने आशंकामा साना उद्योगी छन् । थोरै लगानीबाट सञ्चालन भएका उद्योगबाट उत्पादित वस्तुले बजार नपाउँदा बन्द हुने अवस्थामा पुगेका हुन् ।

जिल्लामा रहेका तीन वटै स्थानीय तहमा अल्लो उद्योग स्थापना गरिएका छन् । पुथाउत्तरगंगा–१४ को जामाबगर, भूमे गाउँपालिकाको ४ र ५ नम्बर वडा, सिस्ने गाउँपालिका–२ को छिपखोलामा अल्लो उद्योग स्थापना गरिएका छन् । पछिल्लो पटक छिपखोलाको उद्योग सदरमुकाम रुकुमकोटमा समेत विस्तार गरिएको छ । तर सबै उद्योग उत्पादित सामग्रीले बजार नपाएपछि संकटमा छन् । यी उद्योगले अल्लोबाट बन्ने सम्पूर्ण सामग्री तयार पार्छन् । अल्लोको कपडादेखि लिएर कोट, जुत्ता, झोला, टोपी, पर्स एवं बर्की उद्योगमा तयार हुन्छन् ।

यी सबै सामग्री हाल उद्योगमा थन्किएका छन् । कच्चा पदार्थ संकलन गरेर सामग्री तयार बनाउँदासम्मको खर्च जुटाउन नै समस्या हुने भएपछि उद्योग सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको भूमेकी सितारा बुढामगरले बताइन् । सुरुसुरुमा उत्पादनको बिक्री भएपछि हौसिएका आफूहरू पछिल्लो समय उत्पादित कपडा तथा अन्य सामग्री बिक्री नभएपछि उद्योग खोल्न नै छाडिसकेको बुढाले जानकारी दिइन् ।

उत्पादित वस्तु बिक्रीका लागि टाढा लैजान पनि नसकिएको उनीहरूको भनाइ छ । जामाबगरको सिर्जनशील अल्लो उद्योगकी सञ्चालक गौसरी पुनले उत्पादित सामग्री त्यहाँ बिक्री नभएको र टाढासम्म लैजान सक्ने अवस्था नभएको बताइन् । ‘उद्योगबाट बिक्री हुन छाडे, टाढा लगे पनि बिक्री हुने ग्यारेन्टी नभएपछि हामी अलमलमा छौं,’ उनले भनिन् । टाढा लैजाँदा लागत बढेर अपेक्षित आम्दानी हुने नगरेको उनको भनाइ छ । सुरुसुरुमा उद्योग स्थापनाका लागि विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका थिए । यसको बजारीकरणमा भने कसैले चासो दिएका छैनन् ।

बजारीकरणमा स्थानीय सरकारले पनि सहयोग गर्न नसकेको उद्यमीहरू बताउँछन् । उद्योग सञ्चालनमा खास सरोकारवालाको चासो नगएपछि अल्लो सञ्चालित उद्योगहरू जोखिममा रहेको छिपखोला अल्लो उद्योगकी सञ्चालक तीर्था पुनको भनाइ छ । ‘अरू हामीले गरिरहेकै छौं, बजारीकरणका लागि मात्रै सहयोग भए धेरै गर्न सकिने अवस्था छ,’ उनले भनिन् ।

स्थानीय सरकारले उद्योग स्थापनमा सहयोग गरे पनि बजारीकरणमा भने वास्ता नगरेको उनको अनुभव छ । स्थानीय सरकारका तर्फबाट अल्लो उद्योगका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरिएको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताइन् । उक्त बजेट अल्लोका उत्पादन बजारीकरणका परिचालन गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : पुस २६, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?