तिलोत्तमा चक्रपथलाई बजेट अभाव

सन्जु पौडेल

काठमाडौँ — रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन तिलोत्तमा चक्रपथलाई बजेट अभाव भएको छ । संघीय सरकारले डीपीआर पूरा गरे पनि परियोजना अगाडि बढाउन बजेट अभाव भएको हो । अहिले नगरपालिकाबाट विनियोजन गरिएको बजेटको काम सकिएको छ । बाँकी कामका लागि नगरले संघीय सरकारको मुख ताक्नुपरेको छ ।

परियोजनाको डीपीआरअनुसार ५२ किलोमिटर लम्बाइ रहेको सडक निर्माणमा १ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । चक्रपथ निर्माण थालनी भएसँगै अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ बाट सुरु भएको परियोजना पूरा गर्न आफ्नै आर्थिक स्रोतले नपुग्ने भएकाले संघीय सरकार र प्रदेश सरकारबाट सहयोग लिई परियोजना पूरा गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारअन्तर्गत सडक विभागले ७ करोड रुपैयाँ छुट्याएको सडकका लागि प्रदेश सरकारअन्तर्गत सहरी विकास कार्यालयले २०७५/७६ का २ करोड र २०७६/७७ मा ३ करोड विनियोजन गरेको थियो । जम्मा १२ करोड लगानी भएको चक्रपथमा हालसम्म माटो फिलिङ र साइड क्लियरेन्सको काम भइरहेको नगरपालिकाका इन्जिनियर प्रदीप वनले बताए । ‘कोरोनाका कारण अघिल्लो वर्षकै बजेटले काम भइरहेको छ,’ उनले भने, ‘बजेटरी पाटो मुख्य रहने चक्रपथ निर्माण पूरा गर्न यस वर्ष संघीय तथा प्रदेश सरकारबाट सहयोग रकमको पर्खाइ भइरहेको छ ।’ दुवै सरकारले आफ्नो बजेटअनुसारको कामका लागि अनुगमन गर्ने र हिसाब गर्ने काम भइरहेको भन्दै उनले तत्काल बजेट छुट्याई काम गर्न नसकिए परियोजनाको निर्माण सम्पन्न गर्न धेरै वर्ष लाग्ने बताए ।

तिलोत्तमा नगरपालिका–१, २ र ८ मा केही काम भएको छ भने वडा १० र ११ सम्म केही काम भइरहेको छ । चक्रपथमा नौ मिटरको सडक रहनेछ । जसको सात मिटरमा सवारी साधन गुड्नेछन् भने १ मिटरमा नाली र अन्य बाँकी क्षेत्रमा फुटपाथ र ग्रिनरी एरिया रहने वनको भनाइ छ । अहिलेसम्म गणेशनगरदेखि कान्छीबजार जोड्ने सडकको तीन किलोमिटरमा माटो फिलिङ गरिएको छ । त्यस्तै योगीकुटीदेखि प्रगतिनगरसम्मको सडकमा साइड क्लियरेन्स र फिलिङको काम भइरहेको छ । चक्रपथ निर्माण भए स्थानीय जमिन र व्यावसायिक प्रगतिको समेत बाटो खुल्ने तिलोत्तमा नगरपालिका–८ का स्थानीय सुनिल जैसवालले बताए । ‘सडक बनेमा हामीलाई हिँड्न र सवारी गुडाउन पनि सहज हुन्छ,’ उनले भने, ‘आफ्नो घर आँगनअघिको विकासले खुसी दिन्छ ।’ नगरपालिका स्थापना भएदेखि छिट्टै प्रगति गरेको भन्दै उनले तिलोत्तमाको स्थानीय हुनुमा गर्व लागेको बताए ।

यो परियोजना सम्पन्न हुँदा नगरपालिकाको मुहार नै फेरिने नगर प्रमुख वासुदेव घिमिरेको भनाइ छ । ‘जुन रूपले पछिल्लो पटक प्रदेश बलियो बनिरहँदा प्रदेश सरकारले धेरै बजेट सहयोग गरी यसको नेतृत्व लिने अपेक्षा थियो,’ उनले भने, ‘नगण्य सम्बोधन हुँदा काम सहज तरिकाले अघि बढ्न सकेन ।’ रिङरोड भनेर सम्बोधन गरिएको सडक, संघीय सरकार अथवा अन्तरपालिकाका आयोजना प्रदेशले हेर्ने भएकाले साना आयोजनामा नअलमलिई बहुवर्षीय आयोजना बनाई यस्ता परियोजनालाई सहयोग गर्न जरुरी देखिने उनको भनाइ छ । सरकारी सहायताले मात्रै तिलोत्तमाको चक्रपथ छिट्टै सम्पन्न हुने घिमिरेले बताए ।

प्रकाशित : पुस २५, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?