२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

च्याउ खेतीलाई सहयोगी बनेनन् बिमा र बैंक

रमेशकुमार पौडेल

चितवन — २० वर्षअघि एउटा संस्थाले बाबुराम केसीलाई च्याउ खेतीसम्बन्धी तालिम दियो । चितवन निकुञ्जभित्र पर्ने पदमपुर बस्ती स्थानान्तरण गरेर त्यहाँका बासिन्दालाई नयाँ ठाउँमा ल्याएर राखेपछि आर्जनका नयाँ उपाय खोजी हुन थाल्यो । सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषले उनीहरूलाई च्याउ खेतीमा लगाउने योजना ल्यायो । तालिम सकिएपछि केसीले च्याउका १० प्याकेट बीउ पाए ।

च्याउ खेतीलाई सहयोगी बनेनन् बिमा र बैंक

केसी बस्ने पदमपुर अहिले कालिका नगरपालिका–३ मा पर्छ । च्याउ खेतीले उनलाई राम्रै आम्दानी दिन थाल्यो । अहिले उनले १०–१५ हजार प्याकेट बीउ खपत गर्छन् । वर्षमा ६० लाख रुपैयाँ बराबरको च्याउ बिक्री गर्ने उनी नेपाल च्याउ उत्पादक किसान संघ चितवनका अध्यक्ष पनि हुन् । उनले च्याउको बीउ पनि उत्पादन गरेर बेच्ने सोच बनाए । यसका लागि ऋण लिन बैंकमा गए । कृषि सहुलियत कर्जाको माग गर्दै बैंकमा निवेदन दिए । ‘२० वर्षको अनुभव थियो । कारोबार वर्षमा लाखौं हुन थालेको थुप्रै वर्ष भएको थियो । च्याउको बीउ उत्पादन बढाऊँ भन्ने सोचेर ५० लाख रुपैयाँ सहुलियत कर्जा माग गरेको थिएँ तर पाइएन,’ कृषि ज्ञान केन्द्र भरतपुरको सभाहलमा हालै आयोजित कार्यक्रममा केसीले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष गुनासो गरे ।

च्याउ खेतीमा सम्भावनासँगै चुनौती पनि धेरै छन् । रोग लाग्ने र बिग्रने हुँदा किसान नोक्सानी बेहोर्न बाध्य छन् । कृषि बिमाको नियम च्याउ खेती गर्नेहरूका लागि सहज नभएको पनि केसीले बताए । च्याउ हुर्कंदै गर्दा रोगकिराले दुःख दिन्छ । तयार भएको च्याउ टिपेर तत्काल बेच्न नसके बिग्रेर नोक्सान हुन्छ । यो नोक्सानीबाट राहत दिन बिमाले नसकेको उनको भनाइ छ ।

च्याउ उमार्न प्लास्टिकमा राखेको परालको एउटा पोकाबाट वर्षमा एक किलोसम्म च्याउ उत्पादन हुन्छ । तर रोगकिरा र अन्य समस्याले आधा किलोदेखि ६ सय ग्रामसम्म मात्रै च्याउ उत्पादन हुने गरेको अर्का उत्पादक कृष्ण पौडेल बताउँछन् । पदमपुरमा सात वर्षअघि च्याउ खेती सुरु गरेका भरतपुरका पौडेल संघका केन्द्रीय सदस्य पनि हुन् । राष्ट्रिय वाणिज्य र अन्य निजी बैंकका शाखा प्रबन्धकसमेत भएका पौडेल अवकाशपछि यता लागेका हुन् ।

वर्षमा ५० टन च्याउ उत्पादन गर्ने पौडेलले ६० लाख रुपैयाँ जति यसबाट आम्दानी लिन्छन् । च्याउ किसान र वित्तीय संस्था तथा बिमाबीच राम्रो तालमेल नमिलेको उनी पनि स्विकार्छन् । ‘सहुलियतको ऋणको कोटा हुन्छ । त्यो सीमित पनि छ । जोखिम व्यवस्थापनका लागि बैंकको नियम कडा नै हुन्छ । किसानले सबै विवरण र कागजपत्र जुटाउन नसक्दा पनि समस्या आउँछ,’ पौडेलले भने । बिमा र बैंकले च्याउ किसानका लागि अनुकूल कार्यक्रम नल्याएको उनको भनाइ छ । यसलाई सामान्य बनाए किसान र वित्तीय निकाय दुवैको हित हुने उनले बताए ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरकी निर्मला काफ्लेले पनि च्याउ खेती सुरु गरेको १० वर्ष भयो । वर्षमा उनले ५ लाख रुपैयाँ कमाउँथिन् । लकडाउनले बिक्री घट्दा उनले बीउ कम राखिन् । अहिले उत्पादन आधा मात्रै छ । पहिलाकै अवस्थामा फर्कन बैंकबाट ऋण झिक्ने सोच बनाए पनि सानो रकमका लागि ठूलो झन्झट बेहोर्नुपर्छ भन्ने सुनेका कारण उनमा के गर्ने भन्ने अन्योल छ । चितवनमा व्यावसायिक च्याउ खेतीमा संलग्न ६० जना किसान रहेको भरतपुरस्थित कृषि ज्ञान केन्द्रकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीको भनाइ छ ।

नेपालमा वर्षमा साढे १० हजार टन च्याउ उत्पादन हुन्छ । चितवनमा मात्र ३ सय ६५ टन च्याउ उत्पादन हुने उनले बताइन् । चितवनले वर्षमा ६ करोड रुपैयाँ बराबरको च्याउ बिक्री गर्छ । चैतको अन्तिमदेखि भदौसम्म च्याउ उत्पादन बढ्छ । त्यसपछि क्रमशः कम हुँदै जान्छ । ‘उत्पादन बढेका बेला मूल्य हुँदैन । किलोको कम्तीमा ५० देखि बढीमा २ सय ५० रुपैयाँसम्ममा च्याउ बिक्री हुने गरेको छ । भण्डारण गर्ने सुविधा नहुँदा उत्पादन धेरै भएका बेला खेर पनि जान्छ,’ चितवन च्याउ उत्पादक किसान संघका अध्यक्ष केसीले सुनाए ।

प्रकाशित : पुस २५, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?