कालीगण्डकी प्रसारण लाइनको अन्तिम परीक्षण हुँदै

ट्रान्सफर्मर, स्विचगियर, ब्रेकरिङ, दाना–कुस्मा ४२ किमि खण्डका १ सय १४ टावरमा इन्सुलिङ र अर्थिङ निरीक्षण जारी
घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुस्मा खुर्कोट सबस्टेसन जोड्ने २२० केभीए प्रसारण लाइनको अन्तिम परीक्षण भइरहेको छ । दाना र कुश्मा सबस्टेसनमा राखिएका उपकरणको छुट्टाछुट्टै परीक्षण सकिइसकेको छ ।

कालीगण्डकी प्रसारण लाइनको अन्तिम परीक्षण हुँदै

यतिबेला ट्रान्सफर्मर, स्विचगियर, ब्रेकरिङ, दाना–कुश्मा ४२ किमि खण्डका १ सय १४ टावरमा इन्सुलिङ र अर्थिङको परीक्षण भइरहेको छ । यसमा ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

‘प्रसारण लाइनका सबै संरचनामा प्रयोग हुने उपकरणका पनि सबै पार्टपुर्जाको परीक्षण गर्नुपर्ने भएकाले बढीमा १ महिनाभित्र कालीगण्डकीमा उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्छौं,’ कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाइन आयोजना प्रमुख चन्दन घोषले भने, ‘आयोजनाको फाइनल रिपोर्ट भने मुख्य परामर्शदाताले दिनुपर्ने भएकाले भारतीय परामर्शदाताले १५ दिनभित्र निरीक्षण गर्ने कार्यसूची छ ।’ प्रसारण लाइन निर्माणसँगै कालीगण्डकी करिडोरमा निर्माण सकिएर अलपत्र परेका निजी क्षेत्रले बनाएका जलविद्युत् आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

अन्नपूर्ण–४ नारच्याङको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र मुस्ताङको थासाङमा निर्मित १३.६ मेगावाटको थापाखोलाको समेत ६०.६ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिनेछ । ‘२२० केभीए कालीगण्डकी प्रसारण लाइन जति छिटो चार्ज हुन्छ, हाम्रो व्यावसायिक उत्पादन पनि छिटो हुन्छ,’ मिस्त्रीखोला आयोजनाका प्रमुख निर्देशक सुव्रत धितालले भने, ‘थप कुनै समस्या नभए २ महिनाभित्र व्यावसायिक उत्पादन हुन्छ ।’ विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न भारतीय कम्पनी टाटा र चिनियाँ कम्पनी चिन्टको संयुक्त टाटाचिन्ट जेभी ठेकेदार कम्पनीलाई २ अर्ब ९० करोड रुपैयाँमा ठेक्का दिएको थियो ।

आयोजना र ठेकेदारबीच सन् २००१८ नोभेम्बरमा निर्माण सक्ने गरी ३० मे २०१६ मा सम्झौता भएको थियो । एक वर्ष म्याद थप्दा पनि आयोजनाले काम पूरा गर्न सकेको छैन । समयमै आयोजना सम्पन्न नहुँदा लागत बढेको मात्र छैन, त्यस क्षेत्रमा निर्मित विद्युत् आयोजनाको बिजुली पनि खेर गइरहेको छ ।

मुस्ताङ, म्याग्दी समेट्न कालीगण्डकी करिडोर, म्याग्दीखोला जलाधार क्षेत्र समेट्न म्याग्दीखोला करिडोर, पर्वतको मोदीखोला जलाधारका आयोजना र बागलुङका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित बिजुली खुर्कोट सबस्टेसनमा जोडेपछि खर्कुोट–बर्दघाट खण्डको प्रसारण लाइनबाट बिजुली लैजाने प्राधिकरणको योजना छ ।

प्रकाशित : पुस २४, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?