सिँचाइ नहुँदा सयौं रोपनी बाँझै

माधव अर्याल

पाल्पा — बगनासकाली गाउँपालिका–६ र ७ का प्रायः स्थानमा धान फल्ने खेत आठ वर्षदेखि बाँझै छन् । सडक निर्माण क्रममा परम्परागत सिँचाइ कुलो भत्किँदा खेत बाँझै भएका हुन् । निर्माण व्यवसायीले जथाभाबी सडक खन्दा सिँचाइ कुलो भताभुंग भएका छन्

सिँचाइ नहुँदा सयौं रोपनी बाँझै

यहाँका कम्तीमा सय परिवारले तीन खेती लगाउने जग्गामा अहिले मुस्किलले मकै मात्र लगाएका छन् । आठ वर्षदेखि धान खेती लगाउन नपाएको स्थानीय प्रेम पन्थीले गुनासो गरे ।

प्रतिपरिवारले मन्द्रान फाँटमा २ देखि २० मुरी धान फलाउँथे । उब्जनी हुने खेत बाँझो हुँदा बाहिरबाट ल्याएको चामलको भर पर्नु परेको छ । ‘सरकारी जागिर हुनेले त किनेर खालान्,’ उनले भने, ‘हामीजस्ता आम्दानी नहुनेले के गर्ने ? के खाने भन्ने भएको छ ।’ कालीगण्डकी लोकमार्ग आयोजनाअन्तर्गत राम्दी–रानीमहल सडक खण्डमा मन्द्रानको जस्तै समस्या धेरै स्थानमा छ । यस भेगमा धान खेती हुने फाँट धेरै पर्छ ।

यसमध्ये बगनासकाली गाउँपालिकाको खानीगाउँ दैलातुङ, यम्घाको टारी, मन्द्रान, मझेटा, दर्पुकलगायत दर्जन गाउँका किसानको सिँचाइ कुलो भत्किएको छ । मन्द्रान गाउँमा खानेपानी मुहानसमेत भत्किएको छ । केही समय कालीगण्डकी नदीको पानी बोकेर समेत खानुपरेको स्थानीय सुमन न्यौपानेले गुनासो गरे । ‘गाउँको समस्याबारे आयोजना कार्यालयमा पुगेर धेरैपटक गुनासो गरियो,’ उनले भने, ‘अहिलेसम्म समस्याको समाधान भएको छैन ।’

उनका अनुसार आठ वर्षदेखि नै सिँचाइ कुलो, खानेपानी लथालिंग बनेको छ । कालीगण्डकी करिडोर ट्र्याक खोल्ने र स्तरोन्नतिका क्रममा सिँचाइ कुलो भत्किएको हो । कालीगण्डकी तटका अधिकांश किसानले आठ वर्षदेखि जमिन बाँझै राखेका छन् । ‘हाम्रो खेतमा तीन बाली लगाइन्थ्यो,’ बगनासकाली–६, मन्द्रानका लीलामणि अधिकारीले भने, ‘यहाँ उत्पादन भएको धान, मकै, गहुँले आम्दानी भएर मधेसमा खेत किन्ने गरिन्थ्यो ।’ अहिले उनले मुस्किलले मकै खेती लगाएका छन् ।

मलिलो माटो भएकाले कालीगण्डकी तटका जमिनमा उत्पादन राम्रो हुने उनको भनाइ छ । अन्य गाउँका कतिपय किसानले पानीको जोहो गरेका छन् । मन्द्रान गाउँका किसानका अधिकांश खेत बाँझै छन् । ‘धान फल्ने खेत बाँझै राख्नुपरेको छ,’ उनले भने, ‘न सडकले काम दियो, न घरको जग्गामा खेती गरेर खान पाइयो ।’

१८ मुरी धान फल्ने खेतमा सिरु उम्रिएको उनले बताए । जेनतेन मकै खेती हुने र अन्य खेती पानीकै कारण स्याहार्न नपाइने उनको भनाइ छ । ‘यस्तै अवस्था हुने हो भने मन्द्रानका १६ घर विस्थापित नै हुने अवस्था आउनेछ,’ उनले भने, ‘सिँचाइ कुलो लाग्ने यहाँ अन्य गाउँका समेत ४० भन्दा बढी परिवारको खेतबारी छ ।’

प्रकाशित : पुस २२, २०७७ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?