उपरदाङगढी घुम्न जाने बढे

रमेशकुमार पौडेल

चितवन — शक्तिखोर हुँदै पृथ्वी राजमार्गको फिस्लिङ पुग्ने पहाडी बाटो बन्न सुरु भएपछि चितवनको पुरानो सदरमुकाम र ऐतिहासिक किल्ला उपरदाङगढी घुम्न जाने बढेका छन् । २०१८ सालपछि नै चितवनको सदरमुकाम भरतपुर कायम भएको हो ।

त्यसअघि पहाडी क्षेत्र उपरदाङगढी र यो आडैको सेरबासमा सदरमुकाम थियो । उपरदाङगढीमा बनेको किल्ला झन्डै सवा दुई सय वर्ष पुरानो हो ।

निर्माणाधीन सडकदेखि दाहिने केही भित्र छ, किल्ला । सडक आडैबाट सिँढी चढेर किल्लातर्फ जानुपर्छ । गढी नजिक चितवन उद्योग वाणिज्य संघले राखेको शिलापत्रमा उल्लेख भएअनुसार राजा पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले यो किल्ला निर्माण गरेका हुन् । शत्रुभञ्जन, बहादुर शाहका छोरा हुन् । सन् १८०० सयमा किल्ला निर्माण भएको हो । बाइसे चौबिसे राज्यकालमा अंग्रेजसँगको युद्ध हुने सम्भावनालाई ख्याल राखेर किल्ला निर्माण भएको बताइन्छ ।

तीन फिट चौडा र ६ फिट अग्लो किल्लामा नौ वटा पोस्ट छन् । पर्खाल वरपर गहिरो नहर जस्तो संरचनाले घेरेको छ । किल्लाभित्रै मन्दिर र कोतघर छन् । पुरानो कोतघर भत्केर खण्डहर भएका कारण अहिले त्यसैको आडमा जस्ताले छाएको साधारण टहरो बनाइएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–७ मा उपरदाङगढी पर्छ । त्यहाँ ५० को दशकबाटै पर्यटन विस्तार गर्ने योजना बनेको हो ।

चितवनमा पर्यटकको चहलपहल निकुञ्ज आसपासको क्षेत्रमा मात्रै हुने गर्छ । तर बाटो बनेर मोटरसाइकलहरू सजिलै जान सक्ने भएका कारण उपरदाङगढीमा पनि चहलपहल बाक्लिन थालेको छ । यो ऐतिहासिक किल्लाबाट अस्ताउँदो र उदाउँदो सूर्यको मनोरम दृश्य पनि देखिन्छ । ‘शुक्रबार वा बिदाका दिन यहाँ थामिनसक्नु भीड हुन्छ । असोजसम्म सुनसान जस्तै थियो । कात्तिकदेखि चहलपहल बढ्दो छ,’ रूपेन्द्र कर्मचार्यले भने ।

रत्ननगरका रूपेन्द्रले उपरदाङगढीमा पर्यटक राख्न कटेज चलाएका छन् । रत्ननगरबाट करिब डेढ घण्टामा गढी पुग्न सकिन्छ । बाटोले गर्दा गढीमा मान्छेहरू जान थालेको उनले बताए । अहिले प्रायः भरतपुर र पूर्वी चितवन आसपासका जानेबस्ने गर्न थालेको उनको भनाइ छ । ‘हामीले होमस्टे सुरु गर्दा मान्छेहरू फाट्टफुट्ट आउँथे । बाटो थिएन । बिजुली थिएन । बिजुली त अहिले पनि छैन । तर बाटो जसोतसो बन्यो, मान्छेहरू रमाउँदै आउँछन्,’ गढीका गणेश थापा मगरले भने । उनले ६१ सालतिर गढीमा होमस्टे सुरु गरेका थिए । गढीको होमस्टे र कटेजहरूमा गरेर एक रातमा सवा सय पर्यटक बस्न सक्छन् ।

रत्ननगरबाट उत्तर जुटपानी, शक्तिखोर हुँदै पहाड चढेर उपरदाङगढी पुगिन्छ । मौसम खुलेका बेलामा गढीबाट नारायणगढ बजार, रत्ननगर छ्याङ्ङ देखिन्छ । उत्तरमा हिमाल टल्केका हुन्छन् ।

प्रकाशित : पुस १९, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?