१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिन्धुपाल्चोकबाट कोरोनाकालमै सात टन कफी निर्यात

जापान, अस्ट्रेलियादेखि कोरियासम्म हवाई र जलमार्गबाट अर्गानिक कफी पठाइँदै
अनिश तिवारी

सिन्धुपाल्चोक — कोभिड–१९ को संक्रमणबीच सम्पूर्ण व्यापार ठप्पप्रायः छ । जिल्लाबाट चीन जोड्ने उत्तरी तातोपानी नाका एकतर्फी मात्र खोलिएको छ । तर कोरोना कालमै पनि सिन्धु कफी सहकारी संघबाट वार्षिक सात टन अर्गानिक कफी विदेश निर्यात रोकिएको छैन ।

सिन्धुपाल्चोकबाट कोरोनाकालमै सात टन कफी निर्यात

कृषि क्षेत्रमा विकसित मानिएका देश जापान, अस्ट्रेलियादेखि कोरियासम्म अर्गानिक कफी कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्का (मन्दु) ले जानकारी दिइन् ।

‘कोभिड र कफीमा रोग लाग्ने समस्याले केही उत्पादनमा कमी ल्यायो । कृषक केही निरुत्साहित भए । तर तीन देशमा सिन्धुको कफी लोकप्रिय भएकाले निर्यात रोकिएको छैन,’ खड्का भन्छिन्, ‘यसले सम्पूर्ण कृषकको मात्रै नभई देशको नाम राखेको छ ।’ जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा भइरहेको कफी तीन देशमा निर्यातयोग्य ‘कफी ग्रिन बिट’ प्रतिकिलो ९ डलरमा बिक्री हुने र पर्याप्त माग हुने गरेको उनले सुनाइन् ।

२०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफी खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक सुरु गरिएको हो । जिल्ला कफी सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफी निरन्तर निर्यात गरिँदै आएको छ ।

खड्काका अनुसार कोरियामा ‘ब्युटिफुल कफी कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफी अस्ट्रेलिया’ र जापानमा ‘कफी अफ नेपाल’ जस्ता संस्थाले संस्थागत व्यापारका रूपमा कफी लैजाने गरेका छन् । ‘यसबराबर आउने मुनाफा प्रत्येक आम कफी किसानलाई प्रतिकिलो १० रुपैयाँ बराबर बाँडिन्छ । उहाँहरूको प्रत्येक कफीसम्बन्धी समस्यालाई हरसम्भव हेर्ने गर्छौं,’ उनले भनिन् ।

राजधानी काठमाडौंदेखि अन्य स्थानीय बजारका लागि भने गत शुक्रबारबाट ‘सिन्धु अर्गानिक कफी’ नामक ब्रान्डको लोगो राखेर बिक्रीका लागि लगिएको छ ।

जिल्लाभरको कफी उत्पादन, प्रशोधन र बजारीकरणको जिम्मा लिएको कफी सहकारी संघले नेपालमा ‘सिन्धु अर्गानिक कफी’ ब्रान्डिङ गरे पनि विदेशी भूमिमा सहकारी संघकै नाममा निर्यात गरिँदै छ । जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषक सहकारीसँग सम्पर्कमा रहिरन्छन् ।

जिल्लाभर गरी वार्षिक उत्पादन हुने ३० टनभन्दा बढी कफीबाट मात्रै वार्षिक करिब २ करोड आम्दानी हुने गरेको छ । बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरदेखि अन्य पाँच गाउँपालिकभर झन्डै २ हजार १ सय ५० कृषक परिवार व्यावसायिक कफी खेतीमा छन् । असार महिनामा लगाइने कफीका बोटबाट पूरा उत्पादन लिन तीन वर्षको समय लाग्छ ।

प्रकाशित : पुस १८, २०७७ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?