कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गुल्मी मकैको बीउ हब

विभिन्न जातका बीउ परीक्षण गरी छिटो पाक्ने र धेरै फल्ने जातका बीउ उत्पादन गरी जिल्लाभित्र र बाहिर पठाइएको छ
वीरेन्द्र केसी

गुल्मी — गुल्मीका पाँच स्थानीय तहका १९ वडामा उत्पादित मकैको बीउ जिल्लाबाहिर पनि ठूलो मात्रामा बिक्री भएको छ । पछिल्ला केही वर्षयता उन्नत जातको बीउ उत्पादनमा जिल्ला हब बनेको छ । विभिन्न जातका बीउ परीक्षण गरी छिटो पाक्ने र धेरै फल्ने जातका बीउ उत्पादन गरी जिल्लाभित्र र बाहिर पठाइएको छ ।

गुल्मी मकैको बीउ हब

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रममार्फत रेसुंगा नगरपालिका, इस्मा, मदाने, मालिका र धुर्कोट गाउँपालिकाका सहकारी र किसान समूहले बीउ उत्पादन गर्दै आएका हुन् ।

‘अब हिउँदे मकै उत्पादन गर्न बसन्ते जातको बीउ भित्र्याएका छौं,’ परियोजना प्रमुख नारायण काफ्लेले भने, ‘आउँदो फागुनमा तीन सय हेक्टर क्षेत्रफलमा खेती गर्ने तयारी छ । अब हिउँदे मकैको बीउ र खाने मकै पनि व्यापक उत्पादन हुन्छ ।’ पाँच स्थानीय तहका १९ वडाका ५ सय १३ सहकारी तथा समूहले बीउ उत्पादन गर्दै आएको उनले बताए ।

तीन वर्षदेखि उत्पादित बीउ जिल्लाबाहिर पनि निर्यात हुँदै आएको छ । गुल्मीका अधिकांश गाउँमा मकै उत्पादनका लागि माटो उपयुक्त छ । पहिला किसानले रैथाने बीउ रोप्थे । जसबाट मकै उत्पादन थोरै हुन्थ्यो । बीउ उत्पादनसँगै खाने मकै पनि धेरै फल्ने गरेको छ । ‘कृषक जाँगरिला भएपछि बीउ उत्पादन राम्रो छ,’ काफ्लेले भने, ‘गुल्मी मकैको बीउ उत्पादनमा हब बन्दै छ । अबको केही वर्षभित्रमा देशभर ठूलो मात्रामा बीउ निर्यात गर्ने लक्ष्यका साथ क्षेत्रफल बढाएर धेरै बीउ उत्पादन गर्ने योजना छ ।’

बीउ बिक्रीबाट कृषकले आम्दानी बढाएका छन् । जोनले कृषकलाई मकैसँगै बीउ उत्पादनमा पनि जोड दिएको छ । जोनले सघाएपछि कृषकमा बेग्लै उत्साह थपिएको छ । मकैको बीउको मूल्य निर्धारणपछि किसानबीच बीउ उत्पादन गर्ने होडबाजी नै चलेको छ । कृषि प्राविधिक नारायणी गाहाले मनकामना–३ र देउती बीउको मूल्य प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको बताइन् ।

मनकामना–६ र रामपुर कम्पोजिट ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । अरुण–२ प्रतिकिलो ७५ रुपैयाँमा बीउ बिक्री भएको उनको भनाइ छ । गुल्मीमा सात टन मकैको बीउ खपत हुन्छ । यसपालि ३२ दशमलव ८ टन उत्पादन भएको छ । अघिल्लो वर्ष ४३ टन उत्पादन भएको थियो । यस वर्ष मौसम अनुकूल नभएकाले घटेको उनले बताइन् । ‘गाउँमा किसान आफ्नो बारीमा धेरै बीउ उत्पादन गरेर बिक्री गर्न उत्साहित छन्,’ उनले भनिन्, ‘कसले धेरै उत्पादन गर्ने भनेर किसानबीच होडबाजी नै चल्छ । बीउसहित खाने मकै उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।’

आगामी वर्ष २ सय ५५ हेक्टर क्षेत्रफलमा ४ सय २९ टन बीउ उत्पादन गर्ने लक्ष्य जोनले लिएको छ । अरुण–२ जातको मकै तराईका जिल्लामा निर्यात भएको छ । यहाँको बीउ छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, प्यूठानलगायत पहाडी जिल्लामा निर्यात भएको छ ।

इस्मा गाउँपालिका–६ अमरपुरस्थित दीपज्योति बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष कृष्णप्रसाद घिमिरेले यसपालि १० टन अरुण–२ जातको बीउ बिक्री गरे । यसबाट ६ लाख ५० हजार रुपैयाँ समूहभित्र आम्दानी भएको छ । समूहमा ५० भन्दा बढी कृषक सहभागी छन् । बीउ उत्पादन गर्न बारी छनोट गरेरै रेखदेख गरिन्छ । रोग किराबाट बचाइन्छ । राम्रो घुँघालाई छनोट गरेर बीउ बनाइने उनले बताए ।

मकै रोप्दादेखि पाक्दासम्म कृषि प्राविधिक गाउँमै आएर आवश्यक सरसल्लाह दिएपछि बीउ उत्पादन गर्न सहज भएको घिमिरेले बताए । बजारबाट किनेर ल्याएको बीउ छर्दा पोके हुने, राम्रो नफल्ने गर्दा उत्पादन सधैं आधा घट्थ्यो, अहिले आफैं उत्पादन गरेको बीउ रोप्दा मकै दोब्बर फल्ने गरेको उनले सुनाए । ‘बीउको मूल्य परेपछि हामी उत्साहित छौं,’ घिमिरेले भने, ‘पहिला सबै मकै खानामा प्रयोग गर्ने र छर्ने बेलामा बजारमा गएर बीउ किनेर खेती गर्थ्यौं ।’

प्रकाशित : पुस १६, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?