तातोपानी नाका खोल्न माग गर्दै स्थानीय र मजदुर आन्दोलित

राजमार्गमा कन्टेनर आउजाउ हुन नदिने र कडा आन्दोलनमा जाने चेतावनी
अनिश तिवारी

सिन्धुपाल्चोक — तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गर्दै स्थानीय मजदुर, व्यवसायी र कन्टेनर चालक आन्दोलित भएका छन् । शनिबार पनि नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेड, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र भोटेकोसी क्षेत्रका स्थानीयले तातोपानीदेखि लिपिङक्षेत्रसम्म नाराबाजी गरे ।

तातोपानी नाका खोल्न माग गर्दै स्थानीय र मजदुर आन्दोलित

अघिपछि सुरक्षाकर्मीको कडा हस्तक्षेप र सोधपुछबीच नाका खोल्न र पहुँचवाला कम्पनीका कन्टेनर मात्रै सामग्री लिन लागि पठाइएको र सरकारले गैरजिम्मेवारीपन देखाएपछि चीनले हेलचेक्र्याइँ गरेको उनीहरूको आरोप छ । ‘वर्षौंदेखि नाकामा खटिरहेका चालक, कन्टेनर सबै चुपचाप बस्नुपर्ने तर सिल्क र चिनियाँ ट्रान्सपोर्टले मात्रै सामग्री ओर्साने, आठचक्के कन्टेनर थन्किनुपर्ने, १८ पांग्राको सडकले थेग्नै नसक्ने कन्टेनरबाट सामग्री ओसारिएको छ, के यो राम्रो हो ?’ ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले प्रश्न गरे । कोभिडबीच सतर्कता अपनाएर नाकालाई सहज र सर्वसाधारणका लागि नखोलिएसम्म राजमार्गमा कन्टेनर आउजाउ हुन नदिने र कडा आन्दोलनमा उत्रिने उनले बताए । आइतबार थप आन्दोलनको स्वरूपबारे छलफल गरेको र सोमबार फेरि प्रदर्शन गर्ने तयारी भइरहेको उनको भनाइ छ । कोरोनाका कारण भोटेकोसी गाउँपालिका–२ तातोपानी क्षेत्रबाट चीन जोड्ने उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिक रूपमा अव्यवस्थित बन्यो । २० वर्षअघिदेखि चल्दै आएका १ हजार ४ सय मालवाहक कन्टेनर, २ हजार ८ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । भूकम्पको चार वर्षपछि मालवाहकका रूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिरोको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोरोना संक्रमणले खुम्चाइदियो ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार ताल फुट्ने र कोभिडको कारण देखाएर सरकारको गैरजिम्मेवारीकै कारण चीन पक्षले एकतर्फी आयातका रूपमा मात्रै नाका खुलाएको हो । यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानी नाकाबाट कारोबार नगर्न भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक नाका बन्द थियो ।

कोभिड कालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामग्री राजधानी पुर्‍याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’ सहित नाका सञ्चालनमा ल्याइएको थियो । तातोपानी नाका पुनः पहिलेझैं चल्ने आशमा बसिरहेका झोलेपोकेदेखि ठूला व्यापारी, कन्टेनर, होटल व्यवसायी नाका खण्डहरझैं हुँदा निराश छन् । पहिले दिनहुँ ५० कन्टेनर भित्रिनेमा अहिले मुस्किलले पाँच वटा मात्रै सामग्री लिएर कन्टेनर आउने गरेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

प्रकाशित : पुस १३, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?