बल्ल अन्डरपास र सुरुङमार्गहरूको अध्ययन सुरसार

सिद्धबाबाको ठेक्का एक महिनाभित्र गरिँदै
अध्ययन सुरू भएकामा पनि कोरोनाले ढिलाइ
विमल खतिवडा

काठमाडौँ — विकास निर्माणसँग सम्बन्धित विषय आउनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली ‘सुरुङमार्गको युगमा देश प्रवेश गरिसक्यो’ भन्न छुटाउँदैनन् । तर देशका विभिन्न स्थानमा सुरुङमार्ग र अन्डरपास बनाउन भनेर अध्ययनका लागि बजेट विनियोजन भएको लामो समय बित्दा पनि धेरैजसोको काम अघि बढेको छैन । केहीले मात्र अध्ययन सुरु गरेका छन् ।

बल्ल अन्डरपास र सुरुङमार्गहरूको अध्ययन सुरसार

देशका १० स्थानमा सुरुङ र अन्डरपास निर्माणका लागि प्रारम्भिक अध्ययन गर्नुपर्नेछ । सरकारले सुरुङ र अन्डरपासको प्रारम्भिक अध्ययनका लागि आर्थिक वर्ष २०७७/७८ मा ५३ करोड बजेट छुट्याएको छ । अध्ययन भइरहेका आयोजनामा पनि कोभिड–१९ को असर परेको बताइएको छ । गत आर्थिक वर्षका केही सुरुङमार्गलाई चालु आर्थिक वर्षमा समेत अध्ययनका लागि दोहोर्‍याएर बजेट छुट्याइएको सडक विभागले जनाएको छ । विभागका अनुसार कोरोनाले गर्दा समयमै अध्ययनको काम अघि बढाउन समस्या भएको छ । तर चालु आवमै अध्ययनको काम सक्ने विभागको दाबी छ । यता सिद्धबाबामा १ हजार १ सय मिटर लामो सुरुङ निर्माणका लागि ठेक्कामा जान अन्तिम तयारी भएको विभागका महानिर्देशक केशवकुमार शर्माको भनाइ छ ।

चालु आर्थिक वर्षमा अन्यत्र अध्ययनको काम भए पनि सिद्धबाबा सुरुङमार्गको भने ठेक्का गर्ने तयारी भएको छ । उक्त सुरुङका लागि ३३ करोड बजेट विनियोजन गरिएको छ । स्विस सरकारको सहयोगमा सुरुङमार्गको डिजाइन गरिएको हो । यसको निर्माणमा पौने ७ अर्ब रुपैयाँ लाग्ने स्विस टोलीले नै इस्टिमेट निकालेको छ । यसमा ठेकेदारले नै फाइनल डिजाइन गर्ने गरी ठेक्का गरिने बताइएको छ ।

‘बिड डकुमेन्ट स्वीकृत हुने तयारीमा छ, डकुमेन्ट अहिले सार्वजनिक खरिद अनुगमनको कार्यालयमा गएको छ,’ उनले भने, ‘त्यहाँबाट स्वीकृत भएपछि ठेक्का निकाल्नेछौं ।’ यसैगरी लामाबगर सुरुङमार्ग अध्ययनका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ । अहिले प्रारम्भिक अध्ययनको काम भइरहेको सडक विभागको दाबी छ । ‘यसको पनि चालु आर्थिक वर्षमै ठेक्का गर्ने गरी अध्ययनको काम भइरहेको छ,’ शर्माले भने ।

सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले पनि सिद्धबाबामा सुरुङ निर्माणका लागि टेन्डर गर्ने अन्तिम तयारी गरिएको बताए । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयले

मन्त्रिपरिषद्मा टेन्डर पुस्तिका पठाउनुपर्ने हो । तर अहिलेसम्म पठाएको छैन,’ थापाले भने, ‘पठाएर स्वीकृत हुनासाथ काम अघि बढ्नेछ ।’ यो सुरुङ नेपाल सरकार आफैंले बनाउन लागेको हो ।

टोखा–छहरे–गुर्जुभन्ज्याङ सुरुङमार्गको प्रारम्भिक अध्ययन पनि एक महिना लगाएर चिनियाँ टोलीले गरिसकेको छ । त्यसको रिपोर्ट भने प्राप्त भइसकेको छैन । सरकारले यसको अध्ययनका लागि भनेर चालु आर्थिक वर्षमा १५ करोड १० लाख रुपैयाँ छुट्याएको छ । कोरोनापछि यसको थप अपडेट नभएको महानिर्देशक शर्माले बताए । ‘पछि फेरि हामीले उनीहरूलाई चाहिने थप डकुमेन्ट सबै उपलब्ध गराएका छौं,’ उनले भने, ‘उनीहरूले पहिल्यै फिल्डमा गएर अध्ययन गरिसकेका छन्, त्यही भएर अहिले उतै बसेर अध्ययनको काम भइरहेको छ ।’ नेपाल आएर अध्ययन प्रतिवेदन भने प्रस्तुत गरेका छैनन् ।

‘यसको काम सकिएपछि डिटेल इन्जिनियरिङ डिजाइनको काम अघि बढ्नेछ,’ शर्माले भने, ‘सम्भाव्यता अध्ययनको रिपोर्ट दुई महिनाभित्र पायौं भने डिटेल अध्ययनमा जान सजिलो हुने थियो ।’ यता गोदावरीकुण्ड–काभ्रे मानेचौर सुरुङमार्ग अध्ययनका लागि पनि ५० लाख बजेट छुट्याइएको छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान विकास केन्द्रका अनुसार तर उक्त स्थानमा भने सडक नै छैन । ट्राफिक जाम, पहिरोको समस्या, सडक लामो भएपछि दूरी घटाउन र सहजताका लागि सुरुङ निर्माण गरिन्छ । तर उक्त स्थानमा सडक नै नभए पनि अध्ययनका लागि बजेट छुट्याइएको छ ।

अरनिको राजमार्गअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा सुरुङमार्ग र नयाँ बानेश्वरमा अन्डरपासका लागि भनेर पनि १/१ करोड बजेट छुट्याइएको छ । जापानी सहयोग नियोग (जाइका) मार्फत कोटेश्वर–जडीबुटी सुरुङको सम्भाव्यता अध्ययन अन्तिम चरणमा रहेको विभागले जनायो । कोटेश्वरको अध्ययन सकिएपछि बीपी लोकमार्ग–खुर्कोट चियाबारी सुरुङमार्गको अध्ययन पनि जाइकाले नै गर्ने महानिर्देशक शर्माले जानकारी दिए । यसका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यो बेलासम्म सबै सुरुङको अध्ययन आधा सकिनुपर्ने हो ।

ट्राफिक जाम बढी हुने उपत्यकाका बानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, थापाथलीमा अन्डरपास वा ओभरपास के बनाउने भन्नेबारे समेत अध्ययन गर्ने तयारी भइरहेको विभागले जनायो । ‘उक्त स्थानको प्रारम्भिक अध्ययनका लागि चिनियाँ कम्पनीसँग समझादरी (एमओयू) गरिसकेका छौं,’ उनले भने, ‘यसको पूर्वसम्भाव्यता प्रतिवेदन पाएपछि के बनाउँदा सम्भव हुन्छ, त्यहीअनुसार थप अध्ययन अघि बढाउनेछौं ।’ जुनजुन ठाउँमा अध्ययन गर्न भनेर बजेट छुट्याइएको छ, ती ठाउँमा स्थानीय तहबाट प्रारम्भिक अध्ययन गराउने काम भइरहेको उनको दाबी छ ।

अध्ययनका लागि भन्दै गणेशमानसिंह मार्गको थानकोट–चित्लाङ सुरुङमार्गको अध्ययनका लागि २० लाख छुट्याइएको छ । बीपी नगर–खुटिया–दिपायल खण्ड सुरुङमार्गको अध्ययनका लागि ५० लाख र धरान लेउती सुरुङमार्गलाई ४० लाख रुपैयाँ छुट्याइएको छ । गत वर्ष पाँच वटाको पूर्व सम्भाव्यता अध्ययनको काम भएको थियो । गत वर्ष अध्ययनका लागि ५९ करोड रुपैयाँ छुट्याइएको थियो । थोरै बजेट हुँदा अध्ययन गर्नै नपुग्ने सडक विभागको भनाइ छ ।

प्रकाशित : पुस १२, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?