२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लगानी गर्न हच्किन थाले उद्योगी व्यवसायी

प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणासँगै भैरहवा–परासी औद्योगिक करिडोरमा विद्युत्‌का लागि लगानी गर्न आएका निजी लगानीकर्ता र भैरहवा विशेष आर्थिक क्षेत्रमा लगानी गर्न खोजेकाहरु पछि हट्न थाले 
माधव ढुंगाना

भैरहवा — कोभिड–१९ को असरले लामो समयसम्म सुस्ताएका यहाँका उद्योगी व्यवसायी प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको सरकारी घोषणासँगै हतोत्साहित बन्न पुगेका छन् । विस्तारै तंग्रिन थालेको समयमा पछिल्लो राजनीतिक घटनाक्रमले उनीहरूलाई निराश बनाएको हो ।

लगानी गर्न हच्किन थाले उद्योगी व्यवसायी

प्रतिनिधिसभा विघटन र यसबाट उत्पन्न हुने राजनीतिक अन्योलले मुलुकमा फेरि पनि राजनीतिक स्थायित्व अभाव भई लगानीको वातावरण खुम्चिँदै जाने र उद्योग व्यवसाय सहज रूपमा सञ्चालन गर्ने वातावरण नहुने चिन्ता यहाँका व्यवसायी र निजी लगानीकर्तामा छ । ‘प्रतिनिधिसभाको विघटन र मध्यावधि निर्वाचनको घोषणासँगै यहाँको निजी क्षेत्र हतोत्साहित हुन थालेको छ,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्थानीय उद्योगी राजेश अग्रवालले भने, ‘दुईतिहाइ बहुमतमा रहेको स्थायी सरकारसमेत पूरा अवधि टिकेर राजनीतिक स्थायित्व दिन सकेन भने अब कुन खालको सरकारले राजनीतिक स्थायित्व दिन सक्ला र ?’

अहिलेकै सरकारले पनि विकास निर्माणका कार्यमा अपेक्षित नतिजा दिन नसकेको र यसमाथि मध्यावधि निर्वाचन घोषणा गरिनुले अब विकास निर्माणमा गर्नुपर्ने लगानी चुनावमा खर्चिनुपर्ने उनले बताए । ‘राजनीतिक संकटको समाधानका लागि अन्य विकल्प खोजिनुपर्थ्यो,’ उनले भने, ‘अब कुनै पनि मन्त्रीले नयाँ कार्ययोजना ल्याउन नभ्याउने भए । राज्यको सबै ध्यान अब विकास निर्माणको साटो चुनावमा केन्द्रित हुने भयो ।’ राजनीतिक अन्योल हुनासाथ स्वदेशी र विदेशी लगानी आउन नसक्ने उनको भनाइ छ ।

कोभिडका कारण धेरै उद्योगी व्यवसायीले बैंकको ब्याजसमेत तिर्न नसकेर पुनर्कर्जा लिन परेको अवस्थामा उत्पन्न अहिलेको राजनीतिक घटनाक्रमले निजी क्षेत्र धराशायी अवस्थामा पुग्ने बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजूले बताए । ‘कोभिडले गर्दा धेरै उद्योग व्यवसाय बन्द भए । श्रमिक तथा मजदुर पाइएका छैनन् । बजारमा माग कम भएकाले क्षमताअनुरूप उद्योग सञ्चालन भएका छैनन्×,’ उनले भने, ‘प्रधानमन्त्रीले संसद् विघटन गरी निर्वाचनको मिति तोके पनि राष्ट्रपतिले कमसेकम अन्य राजनीतिक दल, कानुन व्यवसायी र स्वदेशी उद्यगी व्यवसायीसँग परामर्श नै नगरी सदर गरिदिनु मुलुकका लागि ज्यादै विडम्बना हो ।’

गणतन्त्र ल्याउन आफ्ना उद्योग व्यवसायलाई महिनौं दिनसम्म बन्द गरेर राजनीतिक दललाई साथ दिँदै ठूलो भूमिका निजी क्षेत्रले निर्वाह गरेको उनले उल्लेख गरे । विभिन्न भूमिगत पार्टी तथा समूहलाई चन्दा दिएर आतंकित बनेको निजी क्षेत्रले गणतन्त्रको आगमनसँगै खुसी मानेको र त्यो खुसी धेरै समय टिक्न नसकेको उनले बताए । ‘मुलुकको समुन्नतिका लागि गएको निर्वाचनमा दुईतिहाइ बहुमत पाएर सत्तामा पुगेको राजनीतिक पार्टीको आपसी विवादको मूल्य सर्वसाधारण जनताले चुकाउनुपर्ने भयो,’ कसजूले भने, ‘राजनीतिक क्रान्ति सकिएर आर्थिक क्रान्तिको सुरुवात भएको उद्घोष गर्ने प्रधानमन्त्री ओलीले बाँडेको सपना सपनामै. सीमित हुन पुग्यो ।’

छिटोछिटो सरकार परिवर्तन भइरहँदा राजनीतिक स्थायित्व नहुने र उद्योग व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण नहुने, विकास निर्माणमा खर्चिनुपर्ने पैसा निर्वाचनमा लगाइनाले विकास निर्माणका कार्य अवरुद्ध हुने, मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने, रोजगारी प्रभावित हुने व्यवसायीले बताए । दुईतिहाइ बहुमत प्राप्त राजनीतिक दलको आपसी खिचातानी र किचलोका कारण निजी क्षेत्रलाई ठूलो भार पर्न गएको स्थानीय व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले बताए । पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक कर्मचारीतन्त्रको हातमा गएको र उनीहरूले व्यवसायीको मर्म बुझ्न नसके निजी क्षेत्र धराशायी हुने अवस्थामा पुग्ने उनको भनाइ छ ।

‘अब के हुन्छ, के गर्ने भन्दै व्यवसायीले सोध्न थालेका छन् । लगानी गर्न खोजेका लगानीकर्ताले यही राजनीतिक अन्योल देखेर हात झिक्न थालिसकेका छन्,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमले निजी क्षेत्र हतोत्साहित र दुःखी बनेको छ ।’ श्रेष्ठका अनुसार भैरहवा–परासी औद्योगिक करिडोरमा विद्युत्का लागि लगानी गर्न आएको निजी लगानीकर्ता र भैरहवा विशेष आर्थिक क्षेत्रमा लगानी गर्न खोजेका लगानीकर्ता पछि हट्न थालिसकेका छन् । थप चार लाखलाई रोजगारी दिने सरकारी योजनामा निजी क्षेत्रको सहभागिता हुने भन्ने विश्वास गुमेको छ । विभिन्न राजनीतिक दलले गर्ने विरोध कार्यक्रम, प्रदर्शन र निर्वाचन भएमा पहिला जस्तै राजनीतिक दल तथा तिनका उम्मेदवारलाई दिनुपर्ने चन्दा आतंकले पनि निजी क्षेत्र झस्किन थालेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले उद्योग, व्यापार, पर्यटनलगायत क्षेत्रमा असर पारेको राष्ट्रिय उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण भण्डारीले बताए । ‘स्वयं सत्ताधारी दलसहित विपक्षी दल सबै आन्दोलनमा उत्रिँदै सडकमा आउन थालेका छन्,’ उनले भने, ‘पहिलाजस्तै ढुंगामुढा, आगजनी, चक्काजाम, बन्द हडतालजस्ता घटना दोहोरिने हुन् कि भनेर आम व्यवसायी त्रस्त हुन थालेका छन् ।’

निर्वाचनका बेला राजनीतिक दल तथा उम्मेदवारलाई सबै उद्योगी व्यवसायीले चन्दा दिनुपर्ने बाध्यात्मक परिपाटी बनिसकेको र पाँच वर्ष नबित्दै फेरि राजनीतिक चन्दा आतंक हुने त्रास व्यवसायीमा हुन थालेको उनको भनाइ छ ।

प्रकाशित : पुस १२, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?