स्थानीयले पाए मेची–महाकाली रेलवेको मुआब्जा

शिव पुरी

रौतहट — मेची–महाकाली रेलमार्गको बर्दिबास–निजगढ खण्डअन्तर्गत रौतहटको चन्द्रपुर र गुजरा नगरपालिका क्षेत्रका किसानको अधिग्रहण गरिएको जग्गाको मुआब्जा रकम वितरण सुरु भएको छ ।

स्थानीयले पाए मेची–महाकाली रेलवेको मुआब्जा

रेलवे विभागले चन्द्रपुर ८, ९ र गुजरा–५ का किसानको मुआब्जा रकम दिन थालेको हो । मुआब्जाकै कारण रेलवेको काम प्रभावित हुँदै आएको थियो । यही कारण किसानले बालीसमेत लगाएका थिए । अहिले धमाधम रकम बुझ्न थालेका छन् । करिब नौ महिनादेखि मुआब्जाकै लागि किसानले रेलवेलाई दबाब दिँदै आएका थिए । चन्द्रपुर ८, ९ र गुजरा–५ का किसानको अधिग्रहण भएको ३ सय २३ कित्ता जग्गाको मुआब्जाको रकम भुक्तानी सुरु भएको हो ।

१ सय ७२ कित्ताको मुआब्जा किसानले पाइसकेका छन् । मुआब्जापछि ठेकेदारले बालीमै रोलर लगाएर काम सुरु गरेको छ । ६० प्रतिशत किसानले मुआब्जा लिइसकेको रेलवे विभागका डीई देवेन्द्र साहले बताए । ‘निवेदन दिएकामध्ये अब १३ वटा फाइल मात्र बाँकी छन् । अरू लगभग सबैले रकम बुझेका छन्,’ उनले भने ।

रेलवेले अधिग्रहण गरेको जग्गाको बल्ल मुआब्जा रकम पाउन थालेको चन्द्रपुर–९ मोतीपुरका किसान सुर्दशन गौतमले सुनाए । यस क्षेत्रका केही किसानले भने जग्गाको मूल्य कम भएको भन्दै मुआब्जा लिन मानेका छैनन् । उनीहरूबारे छलफल जारी राखेको रेलवेले जनाएको छ । वडा ८ र ९ वडाका किसानको ७० बिघाभन्दा बढी जग्गा रेलवेले अधिग्रहण गरेको छ ।

प्रकाशित : पुस १२, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?