ठेकेदारसँगको विवादले वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

प्रशान्त माली

काठमाडौँ — सिंहदरबार वैद्यखाना र ठेकेदार कम्पनी कृष्णा ट्रेडर्सबीचको विवादका कारण च्यवनप्राश उत्पादनमा ढिलाइ भएको पाइएको छ । बजारमा च्यवनप्राशको माग हाल उच्च छ ।

ठेकेदारसँगको विवादले वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

ठेकेदारले वैद्यखानाले दिएको कार्यादेशअनुसार समयमा कच्चा पदार्थ उपलब्ध गराए पनि पूरै भुक्तानी नदिएको, आयकर कट्टीको विवरण हालसम्म पनि उपलब्ध नगराएको, सम्झौताअनुसार बुझाउन बाँकी कच्चा पदार्थ ल्याउन थप कार्यादेश प्राप्त नभएकाले समयमा जडीबुटी पुर्‍याउन नसकेको दाबी गरिरहेको छ ।

वैद्यखानाका कर्मचारीले भने ठेकेदारसँग भएको सम्झौता नै कार्यादेश भएकाले सम्झौताअनुसार उपलब्ध गराउन बाँकी जडीबुटी ल्याउन पटकपटक थप कार्यादेश दिइरहनु नपर्ने, कार्यालयमा उपस्थित हुन पत्रमार्फत तीन महिनादेखि पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले समस्या निम्तिएको आरोप लगाएका छन् ।

आठ हजार केजी अमला बुझाउनुपर्नेमा कार्यादेशअनुसार ५ हजार ५ सय ६० केजी बुझाइसकेको कृष्णा ट्रेड्स सञ्चालक जयकृष्ण मिश्राले दाबी गरे । ‘बाँकी २ हजार ४ सय ४० केजी कार्यादेशबिना ल्याउँदा कर्मचारीले अहिले आवश्यक नपरेको र कुहिएर खेर जाने भन्दै कार्यालय गेटबाट फर्काए,’ उनले भने, ‘त्यसयता कार्यादेशबिना कच्चा पदार्थ नझारेका हौं ।’ पहिलो लटमा झारेका सामानको कमिसन कर्मचारीलाई नदिएकाले अनावश्यक बखेडा निकालिएको उनको आरोप छ ।

वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने ठेकेदारको आरोप झुटो रहेको दाबी गरे । ‘कार्यालयका कर्मचारीले ठेकेदारसँग कमिसन मागेको प्रमाणसहित आए तत्काल कारबाही गर्छौं,’ उनले भने, ‘असोजदेखि ताकेता गर्दा पनि विभिन्न बहाना बनाएर ठेकेदार सम्पर्कमा आएको छैन ।’

कच्चा पदार्थ समयमा झार्न नसक्नुको कारणबारे छानबिन थालिएको सिंहदरबार वैद्यखाना विकास समिति अध्यक्ष बाबुराजा अमात्यले बताए । ‘कमिसनका कारण सामान रोकिएको देखिए त्यसमा संलग्न कर्मचारीलाई कारबाहीको दायरमा ल्याइनेछ,’ उनले भने, ‘च्यवनप्राश केही दिनमै बजारमा पुर्‍याउने योजना छ ।’ गत माघमा वैद्यखाना र ट्रेडर्सबीच भएको सम्झौताअनुसार ठेकेदारले अमला भ्याटसहित प्रतिकिलो ३७.५० रुपैयाँका दरले ८ हजार केजी, हड्चुर प्रतिकिलो १ सय ६१ का दरले ७ सय केजी, सर्बिटोल १ सय १२ का दरले एक हजार किलो, मह ३ सय ५६ रुपैयाँका दरले ३ सय ७० किलो, ३ सय ३७ रुपैयाँका दरले २० किलो शालप्रर्णी, यार्चागुम्बु, काश्मीरी केशरजस्ता २६ थरीका जडीबुटी २० लाख बराबरको ११ हजार २ सय १८ किलो बुझाउनुपर्छ । ठेकेदारले पहिलो लटमा ७ हजार ४ सय १८ किलो कच्चा पदार्थ बुझाइसकेको छ । ठेकेदारले ७ सय किलो हड्चुर, एक सय किलो सर्बिटोल र अमला नबुझाएको वैद्यखानाका स्टोर किपर अर्जुन साहले जानकारी दिए ।

वैद्यखानाका उत्पादनमध्ये सबभन्दा प्रख्यात शिलाजित पनि हो । पाचनशक्ति बढाउन, उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, मस्तिष्क चुस्तदुरुस्त, रोग प्रतिरोधात्मक क्षमता बढाउनलगायत उपयोगका लागि शिलाजित सेवन गर्ने गरिएको छ । बजारमा यसको माग उच्च भए पनि उत्पादन भने ठप्प छ । च्यवनप्राश समयमा उत्पादन नगर्नुको कारणबारे वैद्यखानाका प्रबन्ध निर्देशकलाई सोधपुछ गरिसकिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता जागेश्वर गौतमले बताए ।

प्रकाशित : पुस १०, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?