कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेयर कारोबारबाट सवा ३ अर्ब कर संकलन

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेप्से परिसूचक ७ सय २१ अंकले बढिसकेको छ ।
यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पाँच महिनामा सेयर कारोबारबाट करिब सवा ३ अर्ब रुपैयाँ कर संकलन भएको छ । यो सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर (सीजीटी) र अग्रिम कर कट्टी (टीडीएस) मार्फत संकलन भएको हो । गत आर्थिक वर्षको पाँच महिनामा कुल २४ करोड ५१ लाख रुपैयाँ संकलन भएको थियो ।

सेयर कारोबारबाट सवा ३ अर्ब कर संकलन

गत आर्थिक वर्षको तुलनामा कारोबार रकम उल्लेख्य बढेको, ठूलो परिणाममा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, कारोबार संख्या बढेकोलगायत कारण पुँजीगत लाभकर संकलन उच्च दरले बढेको नेप्सेले जनाएको छ । गत साउनदेखि मंसिरसम्म करिब पौने ३ अर्ब रुपैयाँ पुँजीगत लाभकर (सीजीटी) संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा संकलन भएको लाभकर करिब साढे १३ गुणा (करिब साढे १२ सय प्रतिशत) बढी हो । गत आर्थिको वर्षको पहिलो पाँच महिनामा सेयर बजारबाट २० करोड ३२ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको थियो ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर) मा पुँजीगत लाभकर र अग्रिम कर कट्टी (टीडीएस) गरी कुल ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ कर संकलन भएको छ । यसमध्ये करिब २ अर्ब ७३ करोड ६७ लाख रुपैयाँ पुँजीगत लाभकरबाट र ३६ करोड ७७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । गत आर्थिक वर्षको पाँच महिनामा २० करोड ३२ लाख रुपैयाँ पुँजीगत लाभकरबाट र ४ करोड १९ लाख रुपैयाँ टीडीएसबाट गरी कुल २४ करोड ५१ लाख रुपैयाँ संकलन भएको थियो । हालको व्यवस्थाअनुसार सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत र संस्स्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ ।

यसबाहेक धितोपत्र ब्रोकर, नेप्से, संस्थागत लगानीकर्ताले संस्थागत आम्दानी कर पनि तिर्नुपर्छ । यो सबै जोड्दा यो वर्ष सेयर बजारबाट संकलन हुने कर धेरै बढ्ने स्रोतको दाबी छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेप्से परिसूचक ७ सय २१ सय अंक बढिसकेको छ । गत असार मसान्तमा करिब १ हजार ३ सय ५८ अंकमा रहेको नेप्से गत मंसिरमा २ हजार ७९ अंकमा उक्लेको छ । यो अवधिमा दैनिक औसत कारोबार पनि बढेको छ । कारोबार रकमले यसअघिको रेकर्ड तोडेर एकैदिन ९ अर्ब २२ करोड रुपैयाँ बनाएको छ । दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु भएको करिब डेढ वर्ष भइसक्दा पनि उल्लेख्य रूपमा कारोबार रकम बढ्न सकेको थिएन । तर कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि करिब तीन महिना बन्द भएर खुलेको बजारमा उल्लेख्य रूपमा कारोबार बढेको छ ।

नेप्सेका अनुसार गत मंसिर १४ सम्म करिब १ लाख ८९ हजार जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो संख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्ला महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य बढेको देखिन्छ ।

सरकारले लकडाउन सुरु गरेपछिका नौ महिनामध्ये करिब तीन महिना बजार बन्द नै रह्यो । कोभिडको जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको नेप्सेले जनाएको छ ।

पुँजी बजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता साढे तीन लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ ।

प्रकाशित : पुस १०, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?