गोरखा आयुर्वेदका सबै उत्पादनको माग बढी

हरिराम उप्रेती

गोरखा — कोभिड–१९ सन्त्रासले प्रायः उद्योग कलकारखाना चैत दोस्रो साताबाट बन्द भए पनि गोरखा आयुर्वेद कम्पनीले भने निरन्तर उद्योग चलाइरह्यो । यसअघि उत्पादित आयुर्वेदिक औषधिका अतिरिक्त कम्पनीले लकडाउनकै समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउने थप औषधि उत्पादन गर्‍यो ।

कोभिड–१९ लाई लक्ष्य गरी कम्पनीले उत्पादन थालेको ‘इमुनोकेयर’ लोकप्रिय छ । क्वारेन्टाइन र आइसोलेसन बसेकाहरूले इमुनोकेयर खरिद गरेर सेवन गरे । इमुनोकेयरमा गुर्जो, किटु, भुइँ अमला, तुलसीलगायत जडीबुटी सम्मिश्रण गरिन्छ । वैशाख अन्तिम साताबाट उत्पादन थालेको इमुनोकेयर मागअनुसार काठमाडौं, पोखरालगायत सहरमा समेत बिक्रीका लागि पठाइएको कम्पनीले जनाएको छ ।

कोभिड–१९ पछि कम्पनीका सबै आयुर्वेदिक औषधिको माग अधिकतम बढेको उत्पादन अर्जुन अर्यालले जानकारी दिए । ‘शक्तिप्राश च्यवनप्राश’ कम्पनीको लोकप्रिय उत्पादन हो । ४९ थरीका जडीबुटी सम्मिश्रण गरेर बनाइने च्यवनप्राशको माग बढी रहेको उनले बताए । ‘गुर्जोको सम्मिश्रण भएका औषधिको माग बढी छ,’ अर्यालले भने, ‘हाम्रा प्रायः उत्पादनमा गुर्जो मिसाउँछौं, यसलाई अमृत समान मानिन्छ ।’ ‘कोरोनापछि २० प्रतिशतले यहाँका उत्पादनको माग बढेको छ,’ उनले भने । विशेषगरी रोग प्रतिरोधात्मक क्षमता बढाउने उत्पादनको माग बढेको उनले जानकारी दिए । साढे तीन दशकअघि स्थापनाको समयमा कम्पनीले गुडुची (गुर्जो) चियाबाट उत्पादन सुरु गरेको हो । ‘स्थापनाकालमा कम्पनीको पहिचान नै गुडुची चियाले दिलायो, २०४० देखि २०४५ सालसम्म गुर्जो चिया उत्पादन मात्र भयो,’ उनले भने ‘अहिले फेरि यसको माग बढेको छ ।’ हर्बल टी, गुर्जो चियाको सेवनले ब्लड सर्कुलर, ग्यास्ट्रिकको समस्या कम गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उनको भनाइ छ । कम्पनीमा अहिले गुर्जो सम्मिश्रण भएको उत्पादनको माग बढेको उत्पादन अधिकृत अर्याल बताउँछन् । मागका आधारमा इमुनोकेयर, अश्वगन्धा, शिलाजित, कफसिरफ, हर्बल चिया उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

यस वर्ष २० करोड रुपैयाँको कारोबार गर्ने कम्पनीको लक्ष्य छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ करोडको कारोबार भइसकेको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा उक्त कम्पनीले १५ करोडको कारोबार गरेको थियो । कम्पनीबाट १०० भन्दा बढी आयुर्वेदिक औषधि उत्पादन हुन्छन् । गोरखा च्यवनप्राश, तुलसी चिया, गुड्ची चिया, स्लिम चिया, डायबी–टी, आरम तेल, शिलाजित क्याप्सुल, शक्तिटोन क्याप्सुल, निम फ्रेस, वेदिक–जी साबुन, वेदिक–जी आयुर्वेदिक फेसवासलगायत उक्त कम्पनीले उत्पादन गरेको सामान लोकप्रिय छ ।

प्रकाशित : पुस १०, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?