कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दलहरूलाई संयमित भएर निर्णय लिन निजी क्षेत्रको अपिल

काठमाडौँ — मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निजी क्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र विगतमा पनि यसका लागि बारम्बार सुझाव दिँदै आएको वास्तविकता जगजाहेर रहेको भन्दै संयमपूर्वक निर्णय लिन उद्योगी व्यवसायीले राजनीतिक दललाई आग्रह गरेका हुन् ।

दलहरूलाई संयमित भएर निर्णय लिन निजी क्षेत्रको अपिल

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त रूपमा जारी गरेको अपिलमा मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुन भनिएको छ । राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँनयाँ उद्योग व्यवसाय फस्टाउने, रोजगारी सिर्जना हुने, नयाँ लगानी आकर्षित हुने र समग्रमा अर्थतन्त्रले गति लिन सक्ने यथार्थलाई कसैले पनि भुल्न नहुने अपिलमा उल्लेख छ । कोभिड–१९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित रहेको अपिलमा भनिएको छ ।

‘विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्योलता सिर्जना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ,’ अपिलमा भनिएको छ, ‘भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जीविकोपार्जनमा समेत गम्भीर असर पर्नेमा चिन्ता छ ।’

प्रकाशित : पुस ९, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?