कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेमिट्यान्स बढ्यो, विदेशी लगानी घट्यो

रोजगारीका लागि बिदेसिएका नेपालीले गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रूपैयाँ रेमिट्यान्स पठाए
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल भित्रिने रेमिट्यान्समा कोभिड–१९ को असर नदेखिए पनि प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रभावित भएको छ । सोमबार सार्वजनिक राष्ट्र बैंकको चालु आर्थिक वर्षको चार महिनाको प्रतिवेदनअनुसार गत कात्तिकसम्म रेमिट्यान्स करिब ११ प्रतिशत बढेको छ । यसअनुसार गत साउनमा रेमिट्यान्स २३, भदौमा ८ र असोजमा १२.६ प्रतिशत बढेको थियो ।

रेमिट्यान्स बढ्यो, विदेशी लगानी घट्यो

रोजगारीका लागि बिदेसिएका नेपालीले गत कात्तिकसम्म ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । गत आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स २.८ प्रतिशत घटेर ३ खर्ब ३ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । ‘सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.४ प्रतिशत बढेर २ अर्ब ८५ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशत घटेको थियो ।’

गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब र कात्तिकमा ७८.९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोज र कात्तिकमा करिब समान दरले बढेको छ । यसले पनि रेमिट्यान्समा कोभिड–१९ को असर नपरेको पुष्टि हुन्छ । नेपालमा लकडाउन सुरु भएको महिना (गत चैतमा) ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो, जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो ।

तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले बताउँदै आएको छ । लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ । यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखिएको जानकारहरू बताउँछन् ।

विदेशी लगानी घट्यो

नेपाल भित्रिने रेमिट्यान्समा कोरोनाको प्रभाव नदेखिए पनि एफडीआई प्रभावित भएको छ । चालु आर्थिक वर्षका चार महिनामध्ये तीन महिनामा विदेशी लगानी घटेपछि यसलाई कोरोनाको प्रभाव परेको रूपमा विश्लेषण गरिएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी करिब २४ प्रतिशत घटेको हो । २०७६ कात्तिकसम्म यस्तो लगानी ४ अर्ब ९२ करोड रुपैयाँ थियो । गत साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशत बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । तर असोजमा यस्तो लगानी २६.८ प्रतिशत घटेको थियो । कात्तिकमा पनि सोही प्रवृत्ति दोहोरियो । कोरोनाका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेको समयमा नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकले बताएको छ । कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएकाले नेपालमा पनि त्यसको असर देखिएको बताइएको छ ।

वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत कात्तिकमा ४.०५ प्रतिशत छ । गत आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धिदर १.७१ प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको असोजमा यस्तो मूल्य वृद्धिदर ५.७६ प्रतिशत थियो । २०७६ कात्तिकको तुलनामा गत कात्तिकमा तरकारी उपसमूहको मूल्य वृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि १३.७० प्रतिशत छ । तरकारी तथा दालजन्य वस्तुको मूल्य बढे पनि अन्य धेरै वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदर कम देखिएको बताइएको छ ।

चालु आर्थिक वर्षको चार महिनामा अर्थतन्त्र (शोधनान्तर) १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको कात्तिकमा २४ करोड ८ लाखले बचतमा रहेकामा चालु आवको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : पुस ७, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?